साढे दुई सयले पाए गाउँमै नागरिकता

साझा बिसौनी संवाददाता
दैलेख, १९ वैशाख ।
दैलेखको ठाँटीकाँध गाउँपालिकाका साढे दुई सय नागरिकले बुधवार एकमुष्ठ नागरिकता बनाएका छन् । जिल्ला प्रशासन कार्यालय दैलेखले गाउँपालिकामा घुम्ती शिविर गरेपछि स्थानीय दुई सय ६८ जनालाई नागरिकता पाएका हुन् । ठाँटीकाँध–३ कोे बाहाँकोट बजारमा भएको दुई दिने घुम्ती शिविरमा वडा नम्बर १, २, ३ र ४ का नागरिकहरूलाई नागरिकता वितरण गरिएको हो ।
घुम्ती शिविरको आयोजना गरेर प्रशासनले नागरिकता लिने उमेर पुगेका र छुटेकाले समेत नागरिकता पाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले शिविरबाट एक सय ३८ जना पुरुष र एक सय ३० जना महिलालाई नागरिकता वितरण गरिएको बताए । नागरिकको घरदैलोमै पुगेर सेवा प्रवाह गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय दैलेखले विकट ठाँटीकाँध पुगेर घुम्ती शिविरको आयोजना गरेको हो । संघीयता कार्यान्वयनको चरणमा जिल्लामा रहेका सबै सरकारी कार्यालयका सेवा सुविधा गाउँगाउँमा पुगेको भए पनि नागरिकता प्राप्त गर्न सदरमुकाम नै आउनुपर्ने बाध्यता छ ।
यसैबीच, महिला तथा बालबालिका कार्यालय दैलेखले पनि घुम्ती शिविरमार्फत् अपाङ्गगता भएका व्यक्तिलाई परिचय पत्र वितरण गरेको छ । कार्यालयले आयोजना गरेको शिविरमा ६८ जनाले अपाङ्गता परिचय पत्र प्राप्त गरेका छन् । ठाँटीकाँध–३ विशाला बाहाकोटमा आयोजना गरिएको शिविरमा १३ जनाले अपाङ्गता परिचय पत्र प्राप्त गरेको महिला तथा बालबालिका कार्यालय दैलेखका सहायक माहिला विकास अधिकृत गीता बुढाले जानकारी दिइन् । शिविरबाट १९ जना महिला र ३६ जना पुरुष गरी ५५ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको हो ।

प्रकाशित मितिः   २० बैशाख २०७५, बिहीबार १६:१६