बुद्धको मूर्ति ६ वर्षदेखि प्रहरी नियन्त्रणमा

सुर्खेत, १७ वैशाख ।
बौद्धमार्गीहरूको लाटीकोइलीस्थित भगवान् बुद्धको मूर्ति स्थापना गर्न झाँकीसहितको ¥याली काँक्रेविहारतर्फ अगाडि बढेको थियो । बुद्ध जयन्तीको अवसरमा मूर्ति राख्न लागेको जानकारी पाए लगतै स्थानीय प्रहरी प्रशासनले बुद्धको मूर्ति स्थापना गर्न नपाइने उर्दी जारी ग¥यो । ¥यालीमा सहभागी बुद्धमार्गी र प्रहरीबीच झडप भएपछि विवाद सिर्जना भयो । उक्त विवाद अदालतसम्म पुग्यो ।


यो घटना आजभन्दा ६ वर्ष अघिको हो । जिल्ला अदालत सुर्खेतले २०६९ सालमा गरेको फैसला अनुसार बुद्धको मूर्ति जिल्ला प्रहरीको नियन्त्रणमा राखिएको छ । अदालतको फैसलापछि बुद्धको मूर्ति काँक्रेविहार वन क्षेत्रमा प्रतिस्थापित हुन सकेको छैन । बुद्धमार्गीहरूले काँक्रेविहार संरक्षित क्षेत्रमा बुद्धको मूर्ति राख्न पाउनुपर्ने माग राख्दै आएका छन् भने, हिन्दु धर्मावलम्बीहरूले मूर्ति राख्न नपाइने अडान कायमै राखेका छन् । जसले गर्दा हालसम्म मूर्ति जिल्ला प्रहरी कार्यालय सुर्खेतको परिसरमा राखिएको छ । उक्त मूर्ति राखिएको प्रहरी परिसरमा पुगेर सोमवार सुर्खेतका बुद्धमार्गीहरूले बुद्धको मूर्तिको पूजा गरेका छन् ।
विगत ६ वर्षदेखि प्रहरी प्रशासनको नियन्त्रणमा मूर्ति राखेर सरकारले बुद्धको बुद्धत्वलाई चिन्न नसकेको गुनासो गरेका छन् । २५६२ औं बुद्ध जयन्तीको अवसरमा जिल्ला प्रहरी परिसरमा ¥यालीसहित पुगेका उनीहरूले भगवान बुद्धको मूर्तिलाई प्रहरी हाताभित्र अपराधी झै राखिनु बौद्धमार्गीहरूको भावना विपरित भएको बताएका हुन् । बुद्धजयन्तीको अवसरमा उक्त मूर्तिलाई काँक्रेविहार वनमा राख्ने योजना अनुसार भारतको देहरादुनबाट ल्याइएको बौद्धधर्मका जानकार जीवनकुमार शाक्यले बताए । उनले केन्द्र सरकारले मूर्ति व्यवस्थापनमा बेवास्ता गरे पनि प्रदेश सरकारले त्यसमा ध्यान दिन आग्रह गरे ।
नेपाल अहिंसावादी विश्वशान्ति बौद्धधर्म संघ चक्रका सचिव एवम् बौद्धधर्मगुरु प्रेम दोर्जे लामाले बुद्ध जन्मेको देशका रूपमा विश्व सामु परिचित भए पनि नेपाल सरकारले बुद्धलाई चिन्न नसकेको बताए । उनले मूर्तिलाई काँक्रेविहार राख्नका लागि केन्द्र सरकारसँग गुहार्दा कुनै सुनुवाइ नभएको भन्दै प्रदेश सरकारले मन्दिर व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । सरकारले आगामी बुद्धजयन्तीसम्म मूर्ति व्यवस्थापन गर्न नसके चितवनको देवघाट वा धादिङ्गमा लगेर राखिने उनले बताए । बुद्धजयन्तीलाई विश्व शान्ति दिवसका रूपमा मनाए पनि सात लाख रूपैयाँ लागतमा सुर्खेत ल्याइएको मूर्तिलाई अपमानजनक व्यवहार सरकारबाट गरिएको उनले आरोप लगाए ।
काँक्रेविहारमा मूर्ति राख्दा हिन्दु र बौद्धधर्मावलम्बीहरूबीच विद्रोह बढ्ने भएकाले पनि उक्त मूर्ति व्यवस्थापनमा चुनौती देखिएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला वन कार्यालय सुर्खेतका वन अधिकृत हेमराज विष्टले सामाजिक समस्याका कारण काँक्रेविहारमा बुद्धको मूर्ति राख्न नसकिएको बताए । उनले संरक्षित क्षेत्रमा बुद्धको मूर्ति राख्दा अन्य धर्मावलम्बीहरूले पनि बाह्य हस्तक्षेप हुने समस्या भएकाले पनि चुनौती देखिएको बताए ।
‘संविधानले नेपाल धर्मनिरपेक्ष भनेको छ, जसले गर्दा धार्मिक क्रियाकलापमा रोक लगाउन पाइदैन’ उनले भने, ‘तर भोलिका दिनमा अन्य धर्मावलम्बीहरूले वनभित्र भौतिक संरचना निर्माण गर्न खोज्दा काँक्रेविहारको अस्तित्व धरापमा पर्छ, काँक्रेविहारलाई संरक्षित बनाउन चुनौती हुने भएकाले मूर्ति राख्न नदिइएको हो ।’ मूर्ति राख्ने बारेमा बौद्धधर्मावलम्बी र हिन्दुहरू एकमत नहुनु पनि समस्या भएको उनले
बताए । हाल काँक्रेविहारको पुनर्निर्माण थालिएको छ । २१ फिटमा पिरामिड शैलीमा उक्त मन्दिर निर्माण भइरहेको छ । पुरातत्व विभागद्वारा काँक्रेविहार मन्दिरको पुनर्निर्माण सुरु भएको हो ।

प्रकाशित मितिः   १८ बैशाख २०७५, मंगलवार १५:०९