‘स्वदेशमै पसिना पोखे विदेशिनु पर्दैन’

सुर्खेत, १७ वैशाख ।
स्थानीयस्तरमा जीवन धान्ने कुनै उपाय छैन भन्दै पासपोर्ट बनाउँदै विदेशिने दौडमा हजारौं नेपाली युवाहरू छन् । कसैले विदेशमा राम्रो कमाउँछन् भने, कोही विदेशिदा घरपरिवार नै विचल्लीमा पर्ने गरेको छ । तर, पछिल्लो समय नेपालमै कृषि खेतीमार्फत् आफ्नो फरक पहिचान बनाएका छन् । उनीहरूले विदेशमा दुःख पाएपछि आफ्नै भूमिमा कृषिमार्फत् मनग्य आम्दानी गर्ने अवसर पाएका छन् । उनीहरू आर्थिक मात्रै कमाएनन्, स्थानीयस्तरमा काम छैन भन्दै बरालिनेहरूको लागि उदाहरणीय समेत बनेका छन् ।
यस्तै, दैलेखको डुङ्गेश्वर गाउँपालिकाका देवेन्द्रकुमार गोदारको विकल्प बन्यो, विदेश । भारतभन्दा अन्य खाडी मुलुकमा आम्दानी धेरै हुने भएपछि उनी विदेश पसे । गाउँमा दौतरीसँग भोतारिदैं दिन बिताउने उनले सोचे अनुसार आम्दानी नभए पनि १४ वर्ष विभिन्न खाडी मुलुकमा
बिताए । विदेशमा धेरै मेहेनत गरे पनि उनलाई सन्तुष्टी मिलेन । १४ वर्ष विदेश बसेका उनले ऋण र कमाई गरेर २५ लाख लगानीमा तरकारी खेती थाले । २१ रोपनीमा तरकारी खेती गरेका उनले वार्षिक रूपमा २५ लाख आम्दानी गर्न थालेका छन् । ‘विदेशमा चलाउने पाखुरा स्वदेशमै चलाएँ आम्दानी खोज्न कहींकतै जानुपर्दैन’ उनले भने, ‘विदेशको पैसा देखाउने मात्रै हो, लगानी लगाउन निकै चुनौती छ, घरपरिवार चलाउँदैमा सकिन्छ ।’
अहिले तरकारी खेती गरेर दैलेखको डुङ्गेश्वरमा ४३ जना युवालाई रोजगारी समेत दिएका छन् । हालसम्म उनले ३२ लाख भन्दा बढी लगानी गरिसकेका छन् । ‘केही गर्नसक्ने इच्छाशक्ति भए विदेश र खाडी नै जानुपर्छ भन्ने छैन’ उनी भन्छन्, ‘नेपाल जस्तो सम्भावना र अवसर भएको मुलुक कमै छन् । हामीले काम गरेर प्रतिफल खोज्ने बानीको विकास गरौं ।’ साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १५ जिल्लामध्ये उत्कृष्ट कृषक बनेका छन् । यसवर्षको राष्ट्रपति उत्कृष्ट कृषक क्षेत्रीय पुरस्कार पनि प्राप्त गरेका छन् ।
राहदानी त्यागेर च्याऊखेती
विदेश जाने सबैको सपना धेरै पैसा कमाउने नै हुन्छ । त्यस्तै सपना बोकेर बाँकेका लालबहादुर सुनार पनि खाडी हानिएका थिए । दैनिक १८ घण्टा काम गर्दा
पनि ६ वर्षसम्म केही सफलता हात नलागेपछि लालबहादुर रुँदै स्वदेशमै फर्किए । उनी भन्छन्, ‘पैसा कमाउन गाह्रो छैन भनेर विदेश गइयो, तर विदेशीले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारले फेरि फर्कन मन लागेन ।’ राजधानी पुगेपछि उनले विदेशको दुःख सम्झेर फेरि मन नर्फियोस् भनेर राहदानी समेत च्यातेर विदेश जाने सपनालाई सदाका लागि अन्त्य गरे । तर अहिले उनी मध्यपश्चिमका एक सफल च्याऊ उद्यमी हुन् । सबैको सल्लाह र विदेशबाट ल्याएको १६ हजार रूपैयाँबाट उनले गाउँमै च्याऊ खेती गरे । २०६९ सालदेखि सुरु गरेको च्याऊ खेतीमा उनले हालसम्म एक करोड लगानी गरिसकेका छन् । लालबहादुरले वार्षिक रूपमा २५ टन च्याऊ उत्पादन गर्छन् ।
व्यवसायिक रूपमा च्याऊ खेती गर्दै आएका उनले पनि गत शुक्रवार क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतबाट राष्ट्रपति उत्कृष्ट कृषि पुरस्कार पाउन सफल भएका छन् । श्रमप्रतिको सम्मान राख्दै लगनशील भएर आफ्नै ठाउँमा लगानी गर्दा सानै लगानीबाट पनि मनग्य आम्दानी गर्नसक्ने लालबहादुरको अनुभव छ ।
यस्तै, अर्का व्यवसायी छन् सुर्खेतका प्रेम आचार्य । कपाल सेतै फुले पनि आचार्यमा युवा अवस्थाको जोश छ । उनले वीरेन्द्रनगर–१२ मा मौरीपालन व्यवसाय गरेका छन् । २०६५ सालदेखि एउटा मौरीको घारबाट सुरु गरेका आचार्यसँग हाल ७५ भन्दा बढी मौरीका घार छन् । उनले मह बिक्री गरेरै वार्षिक रूपमा पाँच लाख आम्दानी गर्ने गरेको बताए । आफ्नै परिवारका पाँच जना सदस्यहरू संलग्न मौरीपालन व्यवसाय घरखर्च चलाउने गतिलो माध्यम बनेको छ । उनी पनि यसवर्षको राष्ट्रपति क्षेत्रीय उत्कृष्ट पुरस्कारबाट सम्मानित भएका छन् । धैर्यता राख्दै श्रमलाई सम्मान गर्दा विदेश जानु नपर्ने उनको भनाइ छ । यस्तै, अर्का उत्कृष्ट किसान छन् सल्यान कालिमाटीका सुरेश गाहा मगर । पेसाले शिक्षक भए पनि उनको कमाउने गतिलो माध्यमका रूपमा बाख्रापालन स्थापित भएको छ । चार वर्ष अघिदेखि नौ वटा बाख्राबाट सुरु गरेका मगरसँग हाल एक सय भन्दा बढी बाख्रा रहेका छन् । उनले २९ लाख लगानी गरेकोमा बाख्रा बिक्रीबाट मात्रै ६ लाख भन्दा बढी आम्दानी गरेका छन् । साथै दुई जनाले रोजगारी समेत पाएका छन् ।
वि.सं. २०५२ सालदेखि स्याऊ खेती गरेका डोल्पाका रणजीत बाहोरा अहिले कर्णालीका एक उत्कृष्ट स्याऊ उत्पादक किसान हुन् । बाँझो जमिनलाई आम्दानीको स्रोतका रूपमा परिणत गराउन एक लाख लगानीबाट स्याऊ खेती सुरु गरेका थिए । हाल बोहोरासँग चार सय ५० बोट स्याऊ रहेको उनले बताए । वार्षिक तीन जनालाई रोजगारी दिएका बोहोराले ५० क्वीन्टल स्याऊ उत्पादन गर्ने गरेका छन् ।

प्रकाशित मितिः   १८ बैशाख २०७५, मंगलवार १५:०७