ओझेलमा जर्बुटा भ्यू टावर

सविता जिसी
वरिपरि डाँडाकाँडा, सुन्दर र शान्त गाउँ । टिनले छाएका मध्यमस्तरका घरहरू निकै आकर्षक देखिन्छन् । कुनै घर एकतले छन् भने कुनै–कुनै घरहरू दुई तालसम्म उठाइएका छन् । बस्नका लागि यो गाउँ आफैमा शीतल छहारी जस्तै छ, त्यसैमाथि रानिमत्ताको लेकबाट चलेको चिसो बतास मिठो स्पर्श गर्न आइपुग्छ । वातावरण नै यति रमणीय छ कि एकपटक पुगेपछि बसिरहुँ लाग्छ ।

यही सुन्दर गाउँको नाम हो, जर्बुटा । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १२ मा रहेको एउटा गाउँ हो, यो । तर यो गाउँ मात्रै पनि होइन । प्रकृतिले निर्माण गरिएको सुन्दर भ्यू टावर पनि हो, जहाँबाट नियाल्न सकिन्छ आँखै अगाडिको प्राकृतिक सुन्दरतादेखि सुदूर क्षितिजको मनोरम दृष्यसम्म ।
प्राकृतिक भ्यू टावर
पर्यटन विकासका लागि भन्दै लाखौं खर्चिएर थुप्रै स्थानमा भ्यू टावरहरू बनाइन्छ । तर जर्बुटा त्यस्तो ठाउँ हो जहाँ मानवनिर्मित भ्यू टावरको आवश्यकता नै छैन । प्रकृतिले नै निःशुल्क रूपमा यो ठाउँलाई भ्यू टावरकै रूपमा विकास गरिदिएको छ । अन्य ठाउँमा लाखौं खर्चेर भ्यू टावर बनाइन्छ, तर जर्बुटामा प्रकृतिले निःशुल्क प्रदान गरेका प्राकृतिक संरचनालाई पनि व्यस्थित ढङ्गले प्रयोग गर्न नसक्नु भने विडम्बना हो ।
कर्णाली प्रदेशको राजधानी घोषणा सँगै अस्तव्यस्त बनेको वीरेन्द्रनगरबाट केही पर गएर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि जर्बुटा उपयुक्त विकल्प बन्न सक्दछ । प्रकृतिले नै निर्माण गरिएको जर्बुटा भ्यू टावरबाट वीरेन्द्रनगर उपत्यकासँगै वरपरको मनोरम दृष्य नियाल्दा जोकोहीलाई आनन्दानुभूति हुनेछ । चारैतिरका दृश्य अवलोकन गर्न सहज स्थान भएकोले वीरेन्द्रनगर नगरपालिकाका लागि जर्बुटा आकर्षक पर्यटकीय गन्तव्य बन्नसक्छ ।
भर्खर पुग्यो सडक
तपाईंलाई अचम्म लाग्नसक्छ, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको एउटा वडामा पहिलो पटक–सडक पुग्यो भन्दा, तर सत्य यही हो । वीरेन्द्रनगर–१२ जर्बुटा, जहाँ ‘वान–वे’ सडक निर्माण भएको केही दिन मात्रै भएको छ ।
जर्बुटासम्म पुग्नका लागि निर्माण गरिएको ‘वान–वे’ सडकको उद्घाटन केही दिनअघि मात्रै गरिएको हो । सुन्नेहरूलाई लाग्ला, सदरमुकामकै वडामा पहिलो पटक सडक ? सदरमुकामकै वडा भएर पनि भौगोलिक विकटताले वर्षौदेखि पिल्सिएको वडा नम्बर १२ मा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूकै अगुवाइमा सडक निर्माण कार्य सुरु भएको रहेछ । जर्बुटा पुग्न भर्खरै खोलिएको आधा र भर्खरै मर्मत गरिएको आधा सडक हुँदै जानुपर्छ । सडक नभएकै कारण सदरमुकामभित्रै भएर पनि जर्बुटा पछि परेको स्थानीयको गुनासो छ ।
गढी जस्तै अर्को गन्तव्य
सुर्खेतको गढीबाट वीरेन्द्रनगर उपत्यकाको अवलोकन गर्न पाइए जस्तै जर्बुटाबाट पनि वीरेन्द्रनगर उपत्यकाको अवलोकन गर्न सकिन्छ । सुरु–सुरुमा गोठीकाँडाको बारेमा मानिसहरू बेखबर भए पनि छोटो समयमै गोठीकाँडा उपत्यका अवलोकन गर्ने एकमात्र स्थानका रूपमा परिचय बनाउन सफल भयो । अहिले बिदाको उपयोग गर्ने गतिलो गन्तव्य बनेको गोठिकाडाको पहिचान स्थापित भइसकेको छ । जर्बुटा पनि गढी र गोठीकाँडा जस्तै अर्को गन्तव्य हो ।
जर्बुटालाई पर्यटकीय गन्तव्य बनाउने योजना राखेर नै सडक खोल्ने काम गरिएको वडा अध्यक्ष लोकप्रसाद चालिसे बताउँछन् । पर्यटकीय हिसाबले सम्पन्न मानिएको जर्बुटामा गुरुयोजना बनाएर विकास गर्ने योजना उनले सुनाए । जर्बुटाको गाउँसँग केही धार्मिक विषयहरू पनि जोडिएका छन्, ती विषयले जर्बुटाको प्रचार–प्रसारमा सघाउने छन् ।
वडा अध्यक्ष लोकप्रसाद चालिसेले आफूहरूले वीरेन्द्रनगर उपत्यका अवलोकनका लागि जर्बुटालाई गन्तव्य बनाउने योजना रहेको बताए । पर्यटकीय गन्तव्य बनाउनका लागि वडा अध्यक्ष चालिसेले बनाएका र सुनाएका योजना पूरा हुन्छन् या हुँदैनन् त्यो भने भविष्यमा देखिने नै छ । एउटा के कुरा पक्का हो भने, यदि उनले बनाएको योजना अनुसार काम भए गढी जस्तै जर्बुटा पनि नयाँ गन्तव्य बन्ने छ ।
यस्तो छ, योजना
वडा अध्यक्ष चालिसे जर्बुटाको विकासका लागि सडक नै पहिलो पूर्वाधार भएको बताउँछन् । त्यसैले उनले बनाएको पहिलो योजना हो, वीरेन्द्रनगरबाट जर्बुटासम्म पुग्ने सडक निर्माण गर्ने । दोस्रो योजना,, नगर कार्यपालिकासँग आवश्यक सर–सल्लाह गर्ने र सम्भाव्यता अध्ययन गर्ने । उनले आफ्नो तेस्रो योजनाका रूपमा सुनाए, विज्ञहरूसँग छलफल गर्ने र गुरुयोजना निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गर्ने ।
दृढ भएर लागेकाले यी तीन चरण पार गर्न आफू सफल हुने वडा अध्यक्ष चालिसेको दाबी छ । उनी कतिसम्म दृढ भएर लागेका रहेछन् भने जर्बुटाको विकास गर्नका लागि आवश्यक लगानी भिœयाउनेबारे पनि योजना बुनिसकेका छन् । वडा कार्यालय जर्बुटा डाँडालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागि परेको छ । यो क्षेत्रलाई आगामी पाँच वर्षभित्र दोस्रो मनकामनाको रूपमा विकास गर्ने योजना वडा कार्यालयको छ । जसका लागि लगानीको खोजीमा वडा कार्यालय लागि परेको छ ।
वीरेन्द्रनगरमा रहेका अधिकांश बस्ती जर्बुटाबाट झरेकाले जर्बुटामा पितृ सम्झना स्थल निर्माण गरेर यहाँको पर्यटकीय क्षेत्र निर्माण कार्यलाई मूर्तरूप दिने योजना वडा अध्यक्ष लोकप्रसाद चालिसेले सुनाए । प्राकृतिक स्रोत र साधनले भरिएको जर्बुटालाई अब विकासको गुरुयोजना बनाउनु जरुरी छ । गुरुयोजनामा नेवारेदेखि जर्बुटासम्म केबलकार सञ्चालनबारे अध्ययन गर्ने तयारी गरिएको छ ।
अब गर्नुपर्ने काम
जर्बुटालाई भ्यू टावरको रूपमा विकास गर्न वडा अध्यक्षले भने जस्तै सबैभन्दा पहिलो आवश्यकता सडक सञ्जालको हो । सदरमुकाम वीरेन्द्रनगदेखि जर्बुटासम्म पुग्ने सडकलाई फराकिलो र स्तरोन्नति गर्नुपर्ने देखिन्छ । सदरमुकामबाट बाहिर गएर बस्नका लागि पनि उपयुक्त यो ठाउँमा होटल र होमस्टेको स्थापना गर्नु अर्को आवश्यकता हो । यो विषयमा जनप्रतिनिधिले चासो दिनुपर्ने हुन्छ ।
अहिले वीरेन्द्रनगर नगरपालिका ‘शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर’ भन्ने मूल नाराका साथ विकासको पथमा हिँड्ने प्रयास गरिरहेको छ । वीरेन्द्रनगर नगरपालिकाका १६ वटा वडा मध्य केही वडाहरू पर्यटन र केही वडाहरू कृषिका दृष्टिकोणले सम्पन्न छन् । नारामा उल्लेख गरिए अनुसार वीरेन्द्रनगरलाई पर्यटकीय शहर निर्माण गर्नु यहाँका जनप्रतिनिधिको प्रमुख काम हो । जुन कार्यमा जर्बुटा पनि महŒवपूर्ण हुन सक्दछ ।
जर्बुटालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन त्यहाँका जनप्रतिनिधिको चाहना हुनुपर्छ साथसाथै आम नागरिकको साथ । कर्णालीको राजधानी वीरेन्द्रनगरलाई अवलोकन गर्नका लागि अहिले निर्विकल्प रूपपमा गोठीकाँडालाई प्रयोग गर्दै आइएको छ । उपत्यका अवलोकनका लागि छोटो समयमा चर्चामा आएको गोठीकाँडा जस्तै अब जर्बुटालाई विकास गर्न सकियो भने दुई वटा स्थानबाट सुर्खेत उपत्यकाको अवलोकन गर्न सकिनेछ । अझ गोठीकाँडा भन्दा पनि छोटो समयमा जर्बुटा पुग्न सकिन्छ । त्यसैले गोठीकाँडा भन्दा पनि नजिकैबाट पुरै वीरेन्द्रनगर अवलोकन गर्न सकिने स्थान जर्बुटा वीरेन्द्रनगरको नेवारेबाट जम्मा साढे चार किलोमिटरको दूरीमा छ । अब वडा सँगसँगै वीरेन्द्रनगर नगरपालिकाले नै यो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनेबारे सक्दो सहयोग गर्नुपर्ने देखिन्छ ।
प्रदेश सदरमुकामकै एक किनारमा रहेको जर्बुटा पर्यटकहरूको पखाईमा छ । त्यसभन्दा पहिला पक्कि सडक, होमस्टे वा सुविधायुक्त होटेलसहितका पूर्वाधारको अपेक्षा पनि जर्बुटाले गरिरहेको छ । जर्बुटाको अपेक्षा पूरा गर्न सकेको खण्डमा यही लोभलाग्दो स्थानले समग्र कर्णाली प्रदेशको आर्थिक समृद्धिमा महŒवपूर्ण भूमिका निर्वाह गर्नेछ ।

प्रकाशित मितिः   १८ बैशाख २०७५, मंगलवार १५:०६