विधान संशोधन हुने
साझा बिसौनी संवाददाता
सुर्खेत, १६ वैशाख ।
सुर्खेत उद्योग वाणिज्य संघको विधान संशोधन हुने भएको छ । संघका पदाधिकारी र आन्दोलनरत व्यवसायीहरूबीच विशेष साधारणसभामार्फत् विधान संशोधन गर्ने सहमति जुटेको हो ।
विशेष साधारणसभा गर्ने सहमति भएसँगै यही वैशाख २५ गतेका लागि तोकिएको संघको निर्वाचन पनि सरेको छ । आगामी कार्तिक १७ गतेभित्र विशेष साधारणसभा गर्ने र त्यहीबाट विधान संशोधन गरेर मात्रै निर्वाचन गर्ने सहमति भएको छ । दुवै पक्षको सहकार्यमा संघको विधान एक कार्यकाल भइसकेका सदस्य वा पदाधिकारीले अध्यक्ष पदमा उम्मेदवारी दिन पाउने र कार्यसमितिका अन्य पदाधिकारी तथा साधारण सदस्य भएकाले समेत उम्मेदवारी दिन पाउने प्रस्ताव पेश गरी संशोधन गर्ने सहमति भएको छ ।
यस्तै, विशेष साधारणसभामार्फत् नै आगामी निर्वाचनको मिति घोषणा गरी सर्वपक्षीय निर्वाचनमा सहभागी गराउने र संघमा देखिएका वर्तमान समस्याको समाधान गर्दै शान्तिपूर्ण रूपमा काम अगाडि बढाउने दुवै पक्षबीच सहमति भएको छ । आइतवार कर्णाली प्रदेश सरकारका मुख्यसचिव रामप्रसाद थपलियाको कार्यकक्षमा भएको छलफलबाट सहमति जुटेको हो ।
सहमति जुटेसँगै असन्तुष्ट व्यवसायीहरूले घोषणा गरेको आन्दोलन स्थगित गरिएको छ । सम्पूर्ण व्यवसायीहरूको छाता संगठन सुर्खेत उद्योग वाणिज्य संघ निष्पक्ष हुन नसकेको भन्दै विभिन्न माग राखेर आन्दोलनमा रहेका असन्तुष्ट व्यवसायीहरूले आन्दोलन स्थगित गरेका छन् । वैशाख ६ गतेदेखि सुरु भएको आन्दोलन संघ र व्यवसायीबीचमा आइतवार सहमति भएपछि स्थगित भएको हो ।
अधिवेशन नजिकिँदै गर्दा एकलौटी ढङ्गले काम गरी पदीय दुरूपयोग गरेको भन्दै वर्तमान कार्यसमितिको विरोधमा अन्य व्यवसायीहरू सडकमा उत्रिएका थिए । ‘हामीले संघलाई साझा बनाउन विभिन्न माग राखेका थियौं, उहाँहरूले मान्नुभएन र सडक आन्दोलनमा पुग्नुप¥यो’ असन्तुष्ट व्यवसायीको नेतृत्व गरेका कलाधर उपाध्यायले भने, ‘आइतवारको छलफलमा संघले हाम्रा माग सम्वोधन गर्ने भनेपछि सहमति भएको हो, यससँगै आन्दोलन पनि स्थगित भएको छ ।’
प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीलाई समस्या समाधानका लागि पटक–पटक आग्रह गर्दा पनि नसकेकाले आइतवार प्रदेश सरकारका मुख्यसचिवको कार्यकक्षमा छलफल गरेको व्यवसायी उपाध्यायले बताए । आइतवारको छलफलमा संघमा देखिएका समस्या समाधानका लागि दुई समूहबीचमा तीन बुँदे सहमति भएको छ ।
साझा बिसौनी ।