स्थापना दिवस मनाइयो

साझा बिसौनी संवाददाता
सुर्खेत, १६ वैशाख ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २६ औं स्थापना दिवस मनाइएको छ । स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरी आइतवार दिवस मनाएको हो । आइतवार पत्रकार महासंघको हलमा भएको कार्यक्रममा सुर्खेतको पत्रकारिता अन्य जिल्लाहरूले अनुशरण गर्ने खालको हुनुपर्नेमा जोड दिइएको छ ।
वर्तमान अवस्थामा सुर्खेतको पत्रकारिता विषयक अन्तरक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रममा महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पाएका अवसरलाई आत्मसात् गरेर काम गर्न सुझाव दिए । केन्द्रीय सदस्य सेजुवालले प्रदेशको समृद्धिका लागि व्यवसायिक र मर्यादित पत्रकारिता गर्न आग्रह गरे । अरुको आलोचना गर्नुभन्दा आफू सच्चिएर काम गर्न पत्रकारहरूलाई सेजुवालको सझाव थियो ।
पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले अग्रजलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न आग्रह गरे । महासंघका पूर्व अध्यक्ष कमलेश डिसी, मोती पौडेल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) कर्णाली प्रदेशका अध्यक्ष रमेशकुमार गौतम, प्रेस चौतारी सुर्खेतका अध्यक्ष सूर्यप्रकाश कँडेल लगायतले अन्तरक्रियामा पत्रकारिताको अवस्था र सुधार गर्नुपर्ने विषयमा धारणा राखेका थिए ।

प्रकाशित मितिः   १७ बैशाख २०७५, सोमबार १५:२७