विकास माग्न काठमाडौं

सुर्खेत, २१ जेठ । (साबिस)
प्रदेश नं. ६ को विकास माग्न व्यवसायीहरूको एक टोली काठमाडौं गएको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको टोली विकास माग्न शुक्रवार राजधानी प्रस्थान गरेको हो ।
सङ्गठनका अध्यक्ष सूर्य थापाको नेतृत्वमा २१ सदस्यीय प्रतिनिधि मण्डल यो प्रदेशको समग्र विकासका एजेण्डा समेटेर प्रधानमन्त्रीलाई भेट्न राजधानी गएको हो । टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर भेरी र कर्णाली करिडोरको स्तरोन्नति गर्नुपर्ने, विद्युत प्रसारण लाइन विस्तार गर्नुपर्न, सुर्खेतको काँक्रेविहार, मुगुको रारा र मानसरोवर पर्यटकीय क्षेत्रको विस्तृत अध्ययन गरी कर्णाली पर्यटन विकास बोर्ड गठन गर्नुपर्ने माग राख्ने बताइएको छ ।
यस्तै सुर्खेतको काँक्रेविहारलाई दोस्रो लुम्बिनीको रूपमा विकास गर्नुपर्ने, दैलेखमा रहेको पेट्रोलियम भण्डारणको सम्भाव्यता अध्ययन गरी उत्खनन् तत्काल सुरु गर्नुपर्ने, सुर्खेतलाई यो प्रदेशको राजधानी घोषणा गरिनुपर्ने र सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको विमास्थल निर्माण हुनुपर्ने लगायतका १० बुँदे माग लिएर टोली काठमाडौं गएको हो ।

प्रकाशित मितिः   २२ जेष्ठ २०७३, शनिबार ०४:१६