खरी र बोरीखोलाको पानी असारभित्र उपत्यकाका धारामा

borikholaसाझा बिसौनी संवाददाता
सुर्खेत, २१ जेठ ।
सुर्खेत उपत्यकामा चरम खानेपानीको सङ्कट भइरहेको बेला नयाँ खानेपानी आयोजनाको निर्माण कार्य सुरु भएको छ । खरीखोला र बोरीखोलाको पानी उपत्यकामा ल्याउनका लागि सुरु भएको उक्त आयोजनाको निर्माण कार्य अहिले धमाधम चलिरहेको छ । यही गतिमा काम भए आउँदै गरेको असार मसान्तसम्ममा यो आयोजनाको पानी उपत्यकावासीको धारामा आउनेछ ।
सुर्खेत उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आइरहेको झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले यहाँको खानेपानी सङ्कट समाधानका लागि यो आयोजना सुरु गरेको हो । ‘आयोजनाको काम धमाधम भइरहेको छ, यही गतिमा काम भए असार मसान्तभित्र खरी र बोरीखोलाको पानी उपत्यकामा रहेका धारामा आउनेछ’ संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने, ‘असारपछि उपत्यकामा खानेपानीको समस्या हुनेछैन, नयाँ आयोजनाको पानी थप भएपछि उपत्यकाको माग पूरा गर्न हामी सक्षम हुनेछौं ।’ अहिले उपत्यकावासीले खानेपानीका लागि ७२ घण्टासम्मको पालो कुर्दै आएका छन् । तर यो आयोजनाको पानी थप भएपछि खडेरीमा समेत उपत्यकाको खानेपानीको समस्या समाधान हुने दाबी गरिएको छ ।
नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा खरीखोला–बोरीखोला खानेपानी आयोजनाको काम सञ्चालन भइरहेको छ । यो आयोजनाका लागि नेपाल सरकारले १२ करोड तीन लाख रूपैयाँ अनुदान उपलब्ध गराएको छ भने उपभोक्ताले पाँच करोड १५ लाख रूपैयाँ लगानी गरेका छन् । संस्थाका अनुसार कूल १७ करोड १८ लाख रूपैयाँमा यो आयोजनाको लागत अनुमान गरिएको छ । यो आयोजना सम्पन्न भएमा प्रति सेकेण्ड ३५ लिटरका दरले उपत्यकामा थप पानीको आपूर्ति हुनेछ । आयोजना अन्तर्गत अहिले खरीखोला र बोरीखोलाको मुहानमा इन्टेक निर्माणको काम जारी छ । यस्तै खानेपानीको पाइप बिछ्याउने र पानी पोखरी निर्माणको काम समेत धमाधम भइरहेको छ । काम धमाधम भइरहेकाले असार मसान्तसम्म उपत्यकामा रहेका धारामा यो आयोजनाको पानी खसाल्ने लक्ष्य रहेको संस्थाले जनाएको छ । यो आयोजनाको काम सम्पन्न भएमा उपत्यकामा रहेका ३९ हजार नौ सय ३६ घरधुरी र करिब एक लाख ९६ हजार जनसंख्या लाभान्वित हुनेछन् ।
संस्थाका अध्यक्ष देवकोटाका अनुसार आयोजना सम्पन्न भएपछि सन् २०२२ सम्म सुर्खेत उपत्यकामा खानेपानीको कुनै समस्या हुनेछैन । देवकोटाले भने, ‘अहिले पानीका लागि उपत्यकावासीले ७२ घण्टासम्म पालो कुर्नुपर्ने बाध्यता छ, यो आयोजना सम्पन्न भएपछि खानेपानीको सङ्कट टर्नेछ । सन् २०२२ सम्म उपत्यकामा खानेपानीको माग पूरा गर्न हामी सक्षम हुनेछौं ।’ अहिले उपत्यकामा करिब १३ हजार धारा रहेका छन् । यी सबै धारामा सहज पानीको आपूर्ति हुने भन्दै अध्यक्ष देवकोटाले आफूहरूले थप वैकल्पिक स्रोतको समेत खोजी गरिरहेको जानकारी दिए । आयोजना निर्माणको जिम्मा पाएको दिवा–प्रेरा निर्माण कम्पनीका इञ्जिनियर उत्तम उप्रेतीले यो आयोजनाको मुहानबाट उपत्यकामा रहेका धारामा पानी खसाल्नका लागि १० किलोमिटरसम्म पाइप बिछ्याउनुपर्ने जानकारी दिए । काम भइरहेकाले तोकिएकै समयमा धारामा पानी खसाल्नका लागि आफूहरूले तीव्र गतिमा काम गरिरहेको उनको भनाइ छ । गत फागुनबाट निर्माण सुरु भएको यो आयोजनाको काम असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

अहिले आयोजनाको काम धमाधम भइरहेको छ, यही गतिमा काम भए असार मसान्तभित्र खरी र बोरीखोलाको पानी उपत्यकामा रहेका धारामा आउनेछ । यस्तै आयोजना सम्पन्न भएपछि सन् २०२२ सम्म उपत्यकामा खानेपानीको कुनै समस्या नहुने दाबी गरिएको छ ।

हाल उपत्यकामा झुप्राखोला, खोर्केखोला र ईत्रामखोलाको पानी आपूर्ति भइरहेको छ । तर बढ्दो जनसंख्याका कारण यी स्रोतबाट आपूर्ति भएको पानीले माग धान्न नसकेपछि नयाँ आयोजनाको सुरुवात गरिएको हो । निर्माणाधीन आयोजनाले पनि केही वर्षपछि माग थेग्न नसक्ने भन्दै संस्थाले दीर्घकालीन स्रोतको खोजी आवश्यक रहेको बताएको
छ । यसका लागि भेरी नदीको पानी उपत्यकामा ल्याउने गरी सम्भावनाको खोजी भइरहेको बताइएको छ । भेरीको पानी ल्याएमा मात्र उपत्यकामा खानेपानीको सङ्कट समाधानका लागि दीर्घकालीन उपाय हुने अध्यक्ष देवकोटा
बताउँछन् । यसैबीच झुप्रा खानेपानी संस्थाले एक साताभित्र उपत्यकामा पानी वितरणको तालिका परिवर्तन हुने जनाएको छ ।
संस्थाका अध्यक्ष देवकोटाले पानीको स्रोत बढेकाले अब उपत्यकामा ७२ घण्टाबाट घटाएर ३६ घण्टामा धारामा पानी छोडिने जानकारी दिए । निर्माणाधीन आयोजनाको अनुगमनका क्रममा शुक्रवार खरीखोला र बोरीखोलाको मुहानमा अध्यक्ष देवकोटाले यस्तो जानकारी दिएका हुन् । अहिले उपत्यकावासीले खानेपानीका लागि ७२ घण्टासम्म पालो कुर्दै आएका छन् ।

प्रकाशित मितिः   २२ जेष्ठ २०७३, शनिबार ०४:१९