भेरीको पानी ल्याउन डीपीआर तयार

सुर्खेत, १४ वैशाख ।
सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधान गर्नका लागि गृहकार्य थालिएको छ । बढ्दो शहरीकरणसँगै खानेपानी समस्या समाधान गर्न भेरी नदीको पानी लिफ्टिङ्ग गरी उपत्यकामा ल्याउने गृहकार्य थालिएको हो । लिफ्टिङ्गमार्फत् भेरी नदीको पानी उपत्यकामा ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को मस्यौदा तयार पारिएको छ ।
शुक्रवार वीरेन्द्रनगरमा ‘सुख्खा क्षेत्र अन्तर्गत भेरी पम्पिङ्ग सुर्खेत उपत्यका खानेपानी आयोजना’को मस्यौदा प्रतिवेदनमाथि गरिएको छलफल तथा परामर्श बैठकमा आयोजनाको डीपीआर मस्यौदा तयार भएको बताइएको छ । सुर्खेत उपत्यका खानेपानी संस्थाले उक्त आयोजना निर्माणका लागि दुई चरणमा सर्भे भइसकेको जनाएको छ । उपत्यकाको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि भेरी नदीको पानी ल्याउन लागिएको हो । हाल झुप्रा, खरीखोला र बोरीखोलाबाट खानेपानी वितरण गरिरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले आगामी १५ वर्षभित्र उपत्यकाको समस्या समाधानका लागि डीपीआर तयार पारेको हो ।
डीपीआर प्रतिवेदन अनुसार भेरी पुल नजिकै पूर्वतर्फको (दाहसंस्कार स्थल) बाट इन्टेक निर्माण गरी पानी पम्पिङ्ग गरिने परामर्श दाताको टिमलिडर हरिराम कोइरालाले बताए । उनका अनुसार वीरेन्द्रनगरस्थित अमृतडाँडामा रिजर्भ टंकी निर्माण गरी उपत्यकामा पानी वितरण गरिनेछ । जसका लागि निर्माणधीन चारलाइन सडकको दुवै छेउमा र हटलाइन सडकमा एक साइडमा मात्रै पाइपलाइन विच्छ्याइनेछ । हटलाइन सडकदेखि उपत्यकाको माथिल्लो बस्तीका लागि हालकै खरीखोला र बोरीखोलाको पानी वितरण गरिने डीपीआर तयार गरिएको छ । परामर्श दाता कोइरालाका अनुसार करिब एक अर्ब ६२ करोड लागत लाग्ने अनुमान छ । पानीलाई अमृतडाँडासम्म ल्याउनका लागि ६ वटा एक हजार लिटरक्युब क्षमताका रिजरवायर ट्यांकी निर्माण गर्नुपर्ने उनले बताए ।
छलफल कार्यक्रममा सहभागीहरूले उपत्यकाको दीर्घकालीन खानेपानी समस्याका लागि समाधानका लागि योजना निर्माण गर्न आग्रह गरेका छन् । सुर्खेत उपत्यकाबासीले अबको तीन वर्षमा पर्याप्त खानेपानी पाउने संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए ।

प्रकाशित मितिः   १५ बैशाख २०७५, शनिबार १४:४२