उत्कृष्ट किसान सम्मानित

सुर्खेत, १४ वैशाख ।
यसवर्षको राष्ट्रपति उत्कृष्ट क्षेत्रीय पुरस्कार मध्यपश्चिमका पाँच जना किसानलाई शुक्रवार प्रदान गरिएको छ । विभिन्न क्षेत्रमा आबद्ध व्यवसायिक उत्पादन गर्न सफल किसानहरूलाई पुरस्कार प्रदान गरिएको हो । व्यवसायिक कृषि पेसालाई सम्मानित पेसा बनाउन र कृषकको मनोभावना उच्च राख्न सहयोग पुगेको भन्दै दैलेख डुङ्गेश्वरका देवेन्द्रकुमार गोदारसहित पाँच जनालाई क्षेत्रीयस्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको हो । साविक मध्यपश्चिम विकास क्षेत्रमा उत्कृष्ट कृषि खेती गर्दै आएका डोल्पाका रणजीत बोहरा, बाँकेका लालबहादुर सुनार, दैलेखका देवेन्द्रकुमार, सुर्खेतका प्रेमकुमार आचार्य र सल्यानका सुरेशकुमार गाहा मगरले राष्ट्रपति कृषक पुरस्कार प्राप्त गरेका हुन् ।
साविकको मप विकास क्षेत्रका १५ जिल्लाबाट परेको आवेदनका आधारमा उत्कृष्ट कृषक चयन गरिएको हो । कृषि पेसालाई व्यवसाय र आम्दानीको प्रमुख स्रोत बनाएका कृषकलाई हरेक वर्ष राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिन्छ । सम्मानपछि उनीहरूले स्वदेशमा केही गर्नुपर्छ भन्ने इच्छाशक्ति भए विदेसिनुपर्ने समस्या नभएको बताएका छन् । उनीहरूलाई जनही नगद २५ हजार रूपैयाँ र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
कृषकहरूलाई सम्मानपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कृषिजन्य उत्पादनको बजार व्यवस्थापन प्रदेश सरकारले गर्ने
बताए । ‘दुनियाँले मरुभूमि र समुन्द्रमा समेत कृषिको विकास गरेका छन्’ मुख्यमन्त्री शाहीले भने ।
क्षेत्रीय पुरस्कारका लागि छनौट गर्न जिल्लाबाट मागिएका निवेदनमा महिला कृषक उद्यमीका निवेदन शून्य देखिए । कृषि खेतीलाई व्यवसायमुखी बनाउने सरकारले प्रदान गर्दै आएको उक्त पुरस्कारका लागि आवेदन नपरेपछि कृषक महिला उद्यमी पुरस्कारको अवसरबाट वञ्चित भए ।

प्रकाशित मितिः   १५ बैशाख २०७५, शनिबार १४:४१