मिलनको डाक्टर बन्ने सपना
वीरेन्द्रनगर–८ खजुरा सुर्खेतका मिलनकुमार ढकाल सानैदेखि चञ्चल स्वभावका थिए । पढाइमा समेत तेज उनी वि.सं. २०५७ साल साउन १७ गते बुबा तुल्सीप्रसाद ढकाल र आमा निर्मलादेवी ढकालको कोखबाट जन्मिएका हुन् । केही वर्ष अगाडि बुबा गुमाएका मिलनको लालनपालन र पढाइमा उनकी आमा र दिदीहरुले कुनै कमी हुन दिएनन् । इगरब्रिज माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरी अमरज्योति नमुना माध्यमिक विद्यालय नेवारेमा विज्ञान विषयमा आई.एस.सी गर्दै गरेका मिलनले आफ्नो कलेज लाइफकाबारे साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी खुलेः
आफूले चाहेकै विषय रोजें
एसएलसी उत्तीर्ण गरिसकेपछि एउटा समय आउँदो रहेछ, जतिबेला धेरैको कुरा सुन्नुपर्ने अनि निर्णय आफ्नै लिनुपर्ने हुन्छ । मेरो सानैदेखिको ईच्छा विज्ञान पढेर डाक्टर बन्ने थियो तर जब मैले एसएलसी उत्तीर्ण गरें मलाई धेरैले इन्जिनियर वा ओभरसियर जस्ता विषय पढ्नलाई सल्लाह दिए । जसले जे भन्यो त्यही ठीक जस्तो पनि लाग्ने । सानो उमेर भएर पनि होला । तर मेरो सानैदेखिको ईच्छालाई कदर गर्ने मेरो परिवारको सल्लाह र मेरो ईच्छा विज्ञान नै भएकोले मैलै त्यही विषय पढें । अहिले मेरो ईच्छा पूरा भएको अनुभव भइरहेको छ ।
पहिलो दिन भिज्दै कलेज गएँ
पहिलो दिन मलाई कलेज कस्तो हुन्छ होला भन्ने जिज्ञासा मात्रै लागिरह्यो । कलेज जाने अघिल्लो रात निद्रा पनि राम्रोसँग लागेन । निजी विद्यालयबाट एसएलसी गरेको सरकारी विद्यालयमा पढ्दा कस्तो हुन्छ होला भन्ने मनमा खुलदुली लागिरह्यो । कलेजको पहिलो दिन दशैं आए जस्तो लाग्नेरहेछ, त्यो दिन पानी परेको थियो । कलेज जाने रहरलाई पानीले असर गरेन, भिजेरै गएँ । निजी विद्यालयमा कडा अनुशासनमा बसेको । शिक्षकले पटक–पटक निगरानी गरिरहने तर कलेजमा ‘फ्री’ हुँदो रहेछ । दुई÷तीन जना साथीहरू चिनेजानेको भेट भयो । रमाइलो अनुभव भयो । विद्यालयमा विद्यार्थीले मेहेनत नगरे पनि शिक्षकको निगरानी बदी हुन्छ, जसरी पनि पढ्नैपर्ने । तर कलेजमा पढाइमा आफै लगनशील भइएन भने गाह्रो हुँदोरहेछ । शिक्षक–विद्यार्थीको सम्बन्ध लेक्चर दिने र लिने बाहेक मैले त्यति निकट देखिनँ । म स्थानीय भएर पनि होला कलेजको पहिलो दिन नरमाइलो अनुभव भएन, मात्रै खुल्दुली लागिरह्यो ।
प्रेम गर्ने उमेर नै भएको छैन
म भर्खर १७ वर्षको भएँ । प्रेम के हो भन्ने कुरा थाहै छैन । मेरो त प्रेम गर्ने उमेर पनि भएको छैन । घरपरिवार तथा आफन्तहरूको भने माया लाग्छ । मेरो लागि प्रेम साईन्सका पाँच विषय नै हुन् । अधिकांश समय तिनै विषयसँग बिताउने गर्छु । अहिले नै प्रेम र डेटिङतिर ध्यान दियो भने पढाइ बिग्रन्छ । बचेको समय साथीहरूसँग घुम्न मनपर्छ । पढाइमा प्रेम बाधक हुन्छ त्यसैले पनि मैले त्यतातिर ध्यान दिएको छैन ।
ल्याबमा अल्छि लाग्छ
मेरो विषय नै यस्तो छ कि परीक्षण विनाको पढाइ अधुरो हुन्छ । साईन्स र ल्याब एउटै रथका दुई पांग्रा जस्तै हुन् । साइन्स पढ्ने विद्यार्थी ल्याबमा नगइ सुख्खै छैन तर शिक्षकले लामो समय लिँदा एकदमै अल्छी लाग्छ । कहिले काहीं त पढ्नै नपरे हुन्थ्यो जस्तो पनि लाग्छ । मलाई कलेजको ‘बोरिङ’ लाग्ने पक्ष नै यही हो । ल्याबमा अल्छी लाग्छ ।
कलेज लाइफमा बढी स्वतन्त्रता हुन्छ, त्यो भने मलाई एकदमै रमाइलो लाग्ने पक्ष हो । कलेज बाहेक घरमा पनि ६÷७ घण्टा पढ्ने गर्छु । कलेजमा बेन्च पार्टनर बाहेक बेस्टफे्रन्ड छैन । घुम्ने र रमाइलो गर्न एकदमै रहर लाग्छ । कलेज बंक त कहिल्यै गरेको छैन र गर्दिन होला । फिल्म पनि कलेज बिदाको सयमा मात्र हेर्ने गर्छु । पिकनिक जान मन पर्छ तर साथीहरूसँग गएको अनुभव छैन, परिवारसँग भने थुप्रै पटक गएको छु ।
संघर्ष गर्न सिकेको छु
विद्यालय समयमा बिहान अबेरसम्म सुत्न पाइन्थ्यो । शिक्षकको निर्देशन अनुसारको काम गर्न सजिलो पनि हुन्थ्यो तर कलेज लाइफमा सिर्जनशील नभइ कामै छैन । आफ्नो काम आफैले गर्नुपर्ने भएकोले संघर्ष गर्न सिकेको छु । राजनीतिमा मलाई त्यति ईच्छा जाग्दैन । साईन्स पढेर डाक्टर बन्ने सपना छ । समयले कता डो¥याउने हो अहिले नै भन्ने सकिंदैन । तर डाक्टर बन्नको लागि जस्तो सुकै संघर्ष गर्नु परे पनि गर्न तयार छु ।
प्रस्तुतीः सीता वली
प्रकाशित मितिः १५ बैशाख २०७५, शनिबार १४:४१
साझा बिसौनी संवाददाता ।