असन्तुष्ट पक्ष ताला लगाउँदै, संघ फोड्दै

सुर्खेत, १३ वैशाख ।
सुर्खेत उद्योग वाणिज्य संघको अधिवेशन नजिकिदैं गर्दा विवाद चुलिदैं गएको छ । संघको नयाँ नेतृत्व चयनका लागि यही वैशाख २५ निर्वाचन तोकिएको छ । तर, असन्तुष्ट व्यापारीहरूले आफ्ना माग पूरा नगरेको भन्दै संघको कार्यालयमा तालाबन्दी गर्दै आएका छन् । असन्तुष्ट व्यापारीहरूले लगाएको ताला संघका पदाधिकारीहरूले फोड्ने र असन्तुष्ट पक्षले ताला लगाउने क्रम रोकिएको छैन । जसका कारण उद्योग वाणिज्य संघमा मुठभेडको अवस्था उत्पन्न भएको छ ।
असन्तुष्ट व्यापारीहरूले केही दिन अगाडि संघको कार्यालयमा लगाएको ताला बुधवार संघका पदाधिकारीहरूले फोडेका थिए । त्यसपछि असन्तुष्ट पक्षले बिहीवार पुनः संघमा तालाबन्दी गरेको थियो । त्यसको केही घण्टा बित्न नपाउँदै उक्त ताला आफूहरूले फोडेको संघका महासचिव गोपालकृष्ण गिरीले बताए । संघ वार्ताका पक्षमा भए पनि असन्तुष्ट पक्षले बेवास्ता गर्दै ताला लगाएकाले प्रहरी प्रशासनका सहयोगमा ताला फोड्नु परेको उनले दावी गरे ।
यता, असन्तुष्ट पक्षले भने आफूहरू वार्ताका माध्यमबाट निकास दिन चाहे पनि संघले दादागिरी गरेको जनाएको छ । असन्तुष्ट पक्षका व्यापारी केदार शर्माले अब आफूहरू कडा रूपमा प्रस्तुत हुने चेतावनी दिए ।
माग पूरा नभएसम्म आन्दोलन जारी रहने भन्दै उनले अब सशक्त रूपमा प्रतिकार गरिने बताए । आफूहरूलाई पेलेर निर्वाचन गर्न लागिएकाले आन्दोलनबाट हुने सम्पूर्ण क्षतिको पूर्ण जिम्मेवारी संघको वर्तमान नेतृत्वले लिनुपर्ने चेतावनी दिए ।
आम उद्योगी, व्यवसायीहरूको सहभागितामा उद्योग वाणिज्य संघको विधान संशोधन गरी निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने माग असन्तुष्ट व्यापारीको छ ।

प्रकाशित मितिः   १४ बैशाख २०७५, शुक्रबार १३:०३