उद्योगबाटै कर्णालीको समृद्धिः मन्त्री यादव

साझा बिसौनी संवाददाता
सुर्खेत, १२ वैशाख ।
संघीय सरकारका उद्योग तथा वाणिज्यमन्त्री मात्रिका यादवले उद्योगबाटै कर्णाली समृद्ध बन्नसक्ने बताएका छन् । बुधवार कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले ५२ प्रतिशत गरिबी रहेको कर्णालीमा औद्योगिक विकाससँगै समृद्ध बन्ने बताएका हुन् ।
‘भौगोलिक हिसाबले ठूलो र विपन्न कर्णाली प्रदेशमा औद्योगिक विकासले पनि पछि परेको छ’ उनले भने, ‘यहाँका सम्भावनाहरूलाई मात्रै उपयोग गर्ने हो भने देशकै समृद्धि कर्णालीबाट सुरु हुनेछ ।’
सुर्खेतको चौकुने सिमेन्ट उद्योग, दैलेखको पेट्रोल पदार्थको खानी, जाजरकोटको बहुमूल्य पत्थरलाई उत्खनन्, प्रशोधन र बजारीकरण गर्न सके कर्णाली समृद्ध बन्ने उनले बताए । सरकारका आगामी निती तथा कार्यक्रममा कर्णालीको औद्योगिक विकासका लागि यहाँको सम्भावनाको अध्ययन तथा उत्खनन्लाई प्राथमिकता दिने उनले बताए । सरकार, निजी क्षेत्र र जनताको प्रत्यक्ष सहभागितामा उद्योग क्षेत्रको विकास गरी नेपाललाई आत्मनिर्भर बनाउने नीति लिएको मन्त्री यादवले बताए ।
‘उत्पादन बढाउन लघु, साना, मझौला र ठूला उद्योगहरू गाउँ–गाउँमा स्थापना हुन्छन्’ उनले भने, ‘उत्पादन वृद्धि भएसँगै आयात कम हुन्छ, जसले विकास र समृद्धिको उद्योगले मदत गर्छ ।’
खुल्ला बजार नीतिका कारण नेपाल अन्य मुलुकको बजारका रूपमा रहनुपर्ने अवस्था रहेको छ । उद्योगमा निजीकरणले उद्योग बेच्ने काम भएको आरोप लगाउँदै उनले आर्थिक हिसाबले विपन्न मानिएको कर्णाली प्रकृतिक रूपमा सम्पन्न भएको बताए ।
अर्काे प्रसंगमा मन्त्री यादवले भ्रष्टाचार भएको ठाउँमा सुशासन कायम हुन नसक्ने भन्दै सरकार भ्रष्टाचार अन्त्यतर्फ केन्द्रित भएको भन्दै यातायात माथिको सिण्डिकेट खारेज गर्न लागिपरेको बताए । ‘विभिन्न क्षेत्रमा सिण्डेकट लगायत लुट्ने काम भएको छ’ उनले भने, ‘सरकार यातायातमात्रै होइन् हरेक क्षेत्रमा भएको सिण्डिकेटको विरोधमा छ । सिण्डिकेट
विरुद्ध जस्तासुकै चुनौतीको पनि सामना गर्न हामी तयार छौं ।’ उनले सरकारले सिण्डेकेट खारेजी गर्ने निर्णय कुनै पनि हालतमा फिर्ता नलिने बताए ।
नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच समानजनक रूपमा पार्टी एकीकरण हुने मन्त्री यादवले बताए । ‘पार्टी एकता जनआदेश हो, निर्वाचनले प्रष्ट पारिसक्यो’ उनले भने, ‘दुई धारबीचको संयोजन गर्ने काम सृदृढ र व्यवस्थित गरेर हुन्छ ।’

प्रकाशित मितिः   १३ बैशाख २०७५, बिहीबार १२:५८