गोरीकला हत्या काण्डका अभियुक्त जेल चलान

सुर्खेत, ११ वैशाख ।
पञ्चपुरी नगरपालिका–३ चौरकी गोरीकला रोकायको हत्या अभियोगमा पक्राउ परेका तीन जनालाई जेल चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतको आदेश अनुसार अभियुक्त तीन जनालाई मंगलवार पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतवार थप प्रमाणहरू अदालतमा पेश गरेसँगै मुद्दामाथि मंगलवार प्रारम्भिक सुनुवाइ भएको थियो । थुनछेक आदेशका लागि भएको सुनुवाइका क्रममा अदालतले उनीहरूमाथि थुनी कारबाही गर्न आदेश दिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार वीरेन्द्रबहादुर मल्लले बताए । गोरीकला हत्या अभियोगमा दैलेख घर भइ अस्थायी ट्राफिक पोष्ट बावियाचौरमा कार्यरत ट्राफिक प्रहरी जवान हरि कोइराला, पञ्चपुरी–८ माँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोला पक्राउ परेका थिए । मल्लका अनुसार उनीहरूलाई मंगलवार नै जिल्ला कारागार सुर्खेतमा राखिएको छ ।
अदालतमा लक्ष्मी र खुमप्रसादको तर्फबाट अधिवक्ता धर्मानन्द नाथ र कोइरालाको तर्फबाट अधिवक्ता भुषण मानन्धरले मुद्दा लडेका थिए । स्रेस्तेदार मल्लका अनुसार सरकारी वकिल रत्नप्रकाश गिरीले गोरीकलाको मुद्दामा बहस गरेका थिए । जिल्ला प्रहरी
प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार गोरीकला हत्या अभियोगमा पक्राउ परेका तीन जनामाथि जबरजस्ती करणी र कतव्र्य ज्यान मुद्दा चलाइएको छ । एसईई परीक्षा दिने क्रममा पञ्चपुरी–५ बावियाचौंरस्थित डेरामा बस्दै आएकी गोरीकला गत चैत १३ गते मृत भेटिएकी थिइन् ।

प्रकाशित मितिः   १२ बैशाख २०७५, बुधबार १४:४२