खाजाघरबाट मासिक एक लाख आम्दानी

वीरेन्द्रनगर–६ स्थित बुलबुले एफएम नजिकै छ ‘पौडेल खाजाघर’ । प्लाइउडको बार र टिनको छाना भएको उक्त खाजा घरमा पुग्दा सञ्चालक रूपक पौडेल कहिले चिया उमालिरहेका हुन्छन्, कहिले चाउमिन पकाइरहेका त कहिले टेबल सफा गर्दै गरेका भेटिन्छन् ।


उनको हँसिलो अनुहारमा जहिले खुशीको आभाष प्रज्वलित भइरहेको हुन्छ । ग्राहकहरूसँग विनम्र भएर बोल्छन् । हरेक काममा आफै खटिन्छन्, चिया पकाउनेदेखि टेबल सफा गर्नेसम्म । उनको खाजा घरमा जाने जो कोहीले आफ्नो कामप्रतिको उनको लगाव सहजै महसुस गर्न सक्दछ । उनको यही लगावले झट्ट हेर्दा सानो देखिने खाजाघरले उनको जीवनमा ठूलो परिवर्तन ल्याइदिएको छ ।
गुर्भाकोट नगरपालिका–१० भेडाबारीका रूपक पौडेल २०४३ साल कात्तिक २९ गते बुबा बमबहादुर पौडेल र आमा दिलकुमारी खत्रीको कोखबाट जन्मिएका हुन् । भेरी माध्यमिक विद्यालय घुमखहरेबाट २०६१ सालमा एलएलसी उत्तीर्ण गरेपछि स्वास्थ्यकर्मी बन्ने सपना बोकेर वीरेन्द्रनगर पसेका रूपक गरिबीकै कारण आफ्नो उक्त सपना पूरा गर्नबाट वञ्चित भए । स्वास्थ्यकर्मी बन्ने सपना पूरा हुन नसकेपछि होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् । आफू सानो छँदादेखि नै हजुरबुबाले गरेको होटेल व्यवसायबाट प्रभावित भएर होटल व्यवसाय नै सञ्चालन गर्दै आएका उनले आफ्नो व्यवसायिक जीवनयात्रा हाम्रा सहकर्मी सीता वलीसँग यसरी खोलेका छन्ः

समाजसेवा मलाई साह्रै मनपर्ने । त्यसमा पनि स्वास्थ्यकर्मी मेरो उच्च सम्मानको पेसा हो । कसैलाई कतै दुःख प¥यो भने आज पनि म उत्तिकै सहयोग गर्छु, स्वास्थ्यका विषयमा । वि.सं. २०६१ सालमा एसएलसी पास गरेर कुशल स्वास्थ्यकर्मी बन्ने सपना बोकेर म वीरेन्द्रनगर पसेको हुँ । सीएमए पढ्ने सपना थियो । तर त्यतिबेला मसँग पैसा थिएन । सीएमए पढ्न चाहिने तीन हजार नहुँदा उक्त अवसर गुमाएँ ।
आर्थिक अभावका कारण मैले आफूले चाहेको पढन् पाइनँ । त्यसपछि अमरज्योति नमुना उच्च माध्यमिक विद्यालय नेवारेमा उच्च माध्यमिक तह पढें । बुबाआमाको जेठो सन्तान हुँ । बुबाआमाको सपना छोरो राम्रोसँग पढोस् भन्ने थियो । पेसा र व्यवसाय जे गरे पनि छोरो इमान्दार बनोस् भन्ने चाहाना बाबु–आमाको थियो । मलाई अमरज्योति नमुना उच्च माध्यमिक विद्यालयमा उच्च शिक्षा पढ्दै गर्दा कापी कलम किन्न समेत धौ–धौ हुन्थ्यो । उता घरमा भाइबहिनीलाई आमाले कसरी खुवाउनु भएको होला भन्ने चिन्ता लाग्थ्यो ।
कमजोर आर्थिक अवस्थाबाट आएको मलाई पैसाको साह्रै अभाव भयो । घरबाट बाबु–आमाले पैसा पठाउन सम्भवै थिएन । अनि म पैसाको खोजी गर्ने क्रममा विभिन्न गैरसरकारी संघ–संस्थाहरूमा काम गर्न थालें । मैलै मेरो लागि मात्रै नभएर परिवारको लागी समेत पैसाको खोजी गरिरहेको थिएँ । संस्थामा काम गर्दासमेत मलाई गरिबीले छोडेन । पैसाकै लागि म भारत पसें तर आफ्नो देशमा जस्तो त्यहाँ कहाँ हुन्थ्यो र ! जे गरे पनि नभएपछि मैले होटेल व्यवसाय सञ्चालन गर्ने सोच बनाएँ ।
पैसा कमाउनलाई पेसा अरु पनि थिए तर होटेल व्यवसाय नै मैले रोज्नुको कारण मेरो हजुरबुबाले गरेको होटेल व्यवसायबाट म प्रभावित थिएँ । होटेल व्यवसाय मेरो पुख्र्यौली पेसा भएकोले मलाई ऊर्जा मिलेको हो । कसरी व्यवसाय सञ्चालन गर्ने, ग्राहकहरूलाई कसरी सन्तुष्ट पार्ने भन्ने मैले हजुरबुबाबाटै सीकेको थिएँ । वि.सं. २०६८ सालबाट मैले होटेल व्यवसाय गर्न थालेको हुँ । त्यतिबेला दुई हजार पाँच सय रूपैयाँ लगानीबाट होटल सुरु गरें । जब वीरेन्द्रनगरस्थित इगरब्रिज बोर्डिङ्ग स्कुलमा क्यान्टिन चलाएँ । त्यसपछि मैले होटेल व्यवसायमा फड्को मारेको हुँ । करिब चार वर्ष मैले इगरब्रिजमा क्यान्टिन सञ्चालन गरें त्यसबाट पनि सन्तुष्ट नभएपछि २०७३ माघ १६ गतेदेखि मैले वीरेन्द्रनगर–६ मा ‘पौडेल खाजाघर’ सञ्चालन गरेको छु । करिब १० लाख लगानीमा मैले यो व्यवसाय सञ्चालन गरेको हुँ ।
मलाई मेरो पेसाप्रति कहिल्यै हिनताबोध भएन । यही व्यवसायले नै मेरो परिवारको जीवनस्तर बदलिएको छ । हाम्रो परिवार आठ जनाको छ । हामी तीन भाइ, बुबा र बुहारी मिलेर व्यवसाय सञ्चालन गरेका छौं । भाइहरू पढ्दै बिहान बेलुकी मलाई सघाउने गर्दछन् । आमाले घरमा कृषि गर्नुहुन्छ । श्रीमती शिक्षण पेसामा छिन् । हाम्रो समाज शिक्षक, डाक्टर, पाइलट, इन्जिनियर, वकिल, यस्ता पेसालाई उच्च सम्मान गर्छ । होटेल व्यवसाय त्यसमा पनि खाजा घर भनेपछि ‘साना’ व्यक्तिले गर्ने पेसाको रूपमा लिन्छ तर समाजप्रति मलाई कुनै गुनासो छैन । समाजले के भन्छ भन्दा पनि मेरो परिवारको समृद्धि कसरी हुन्छ म त्यसमा लागिरहेको छु ।
होटेल व्यवसायले मेरो जीवन परिवर्तन भएको छ । कुनैबेला मैलै पैसाकै कारण आफ्नो सपना गुमाउनु परेको थियो । तर यो व्यवसायले मेरो परिवारको सपना राम्रोसँग पूरा गरेको छ । यही पेसाबाट मैले अहिले मैले मासिक एक लाख भन्दा बढी आम्दानी गरिरहेको छु । मेरो पेसा, मेरो गौरवको विषय बनेको छ । होटल व्यवसाय मेरो गौरव हो भने ग्राहक भगवान् हुन् । अहिले म एकदमै खुशी छु । अब मेरो जीवन नै यही व्यवसायमा समर्पित गर्ने सोचमा छु । व्यवसायलाई स्तरोन्नति गर्नका लागि नयाँ विकल्पको खोजीमा छु । मेरो गौरवको पेसा होटेल व्यवसायका अलवा मलाई समाजसेवा, राजनीति र संगीत साह्रै मनपर्छ । फुर्सदको समयमा म अध्ययन गर्ने गर्छु । म यहाँसम्म आइ पुग्नुको श्रेय मेरो परिवारलाई नै जान्छ । त्यसमा पनि विशेष गरी मेरी जीवन संगीनीले मलाई हरेक कुरामा साथ र सहयोग गरिन् । आफू अभावमा बाँचेर मेरो सफलताको पछि पर्ने मेरो जीवनसंगीनीको सहयोगले नै आज म यो स्थानमा उभिनसक्ने भएको छु । (प्रस्तुतीः सीता वली)

प्रकाशित मितिः   १२ बैशाख २०७५, बुधबार १४:४१