मुगु–हुम्ला सडक बनाउने डीएफआईडीको घोषणा

सुर्खेत, ११ वैशाख ।
बेलायती अन्तर्राष्ट्रिय विकास नियोग(डीएफआईडी)ले कर्णाली प्रदेशमा पर्ने मुगु–हुम्ला जोड्ने लिंक रोडको निर्माण जिम्मा लिने घोषणा गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलवार भएको कार्यक्रममा उक्त सडक निर्माण गर्ने घोषणा डीएफआईडीले गरेको हो ।
ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत तेस्रो चरणमा मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माण गर्ने उद्घोष डीएफआईडीले गरेको छ । ६५ किलोमिटर लामो यो सडकले मुगुको रारा–छायाँनाथ नगरपालिकाबाट हुम्लाको चंखेली गाउँपालिकाको देउली गाउँलाई जोडिने डीएफआईडी एशिया विभागका निर्देशक रिचर्ड मुन्टगोमेरीले जानकारी दिए ।
बेलायत सरकारको दुई अर्ब २४ करोड लागतमा निर्माण हुन लागेको यो सडकले भौतिक पूर्वाधारमा कमजोर रहेको कर्णाली प्रदेशको विकासमा टेवा पुग्ने अपेक्षा कर्णाली प्रदेशकका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे । उनले हिमालका दुई जिल्ला जोड्ने लिंक रोड निर्माणपश्चात ग्रामीण भेगका नागरिकहरूलाई आवत–जावतमा सहजता हुने उल्लेख गरे । बाह्य लगानीविना प्रदेशको समग्र विकास हुन नसक्ने भन्दै सरकारले नीति निर्माण गरेर बाह्य लगानी भिœयाउन लगानीमैत्री र सुरक्षाको प्रबन्ध गरिदिने आश्वासन समेत मुख्यमन्त्री शाहीले दिए ।
बेलायत सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम सन् २०१३ बाट सञ्चालनरत छ । मुगु, हुम्ला, कालिकोट र बाजुरामा नयाँ सडक निर्माणको घोषणा र जुम्ला तथा दैलेखसहित १० जिल्लाहरूमा स्थानीय सडकहरूको मर्मत सम्भार भइरहेको डीएफआईडीले जानकारी दिएको छ ।
सडक निर्माण पश्चात ग्रामीण क्षेत्रका व्यापारिक मार्ग मुगु–हुम्लालाई आर्थिक क्षेत्रको रूपमा विकास गर्ने आधार तय गर्ने विश्वास कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको छ । यसैबीच डीएफआईडीका प्रतिनिधिहरूले मंगलवार कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरूसँग भेट गरेका छन् । भेटवार्ताका क्रममा डीएफआईडीका एशिया क्षेत्रीय निर्देशक रिचर्डले आफूहरू प्रदेश सरकारको नीति कार्यक्रम र प्राथमिकता अनुसार काम गर्न तयार रहेको बताएका छन् । उनले कर्णाली प्रदेशमा डीएफआईडीले गर्दै आएको सहयोगमा वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे । कर्णाली प्रदेशमा अरु दातृ निकायहरू पनि काम गर्न इच्छुक रहेको बताउँदै प्रदेश सरकारले चाहेमा आफू विकास साझेदारहरूको बैठकको आयोजना गर्न तयार रहेको बताए । मुख्यमन्त्री शाहीले डीएफआईडीले सीमान्तकृत समुदाय र क्षेत्रको विकासका लागि प्रशंसनीय काम गरिरहेको बताउँदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकासका लागि उच्च प्राथमिकता दिन आग्रह गरे । तुलनात्मक रूपमा नेपालका अन्य प्रदेशहरूभन्दा कर्णाली प्रदेश विकासका दृष्टिले पछि रहेको वताउँदै उनले भौतिक पूर्वाधारका क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको वताए ।

प्रकाशित मितिः   १२ बैशाख २०७५, बुधबार १४:४३