स्थानीयको पहलमा सडक
सुर्खेत, १० वैशाख । (साबिस)
स्थानीयले आफ्नै लगानीमा डेढ किलोमिटर बाटो निर्माण गरेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ को तिजुगैरादेखि माथिल्लो राम्चेसम्म एक हजार ६ सय ७३ मिटर बाटो स्थानीय अगुवाहरूले निर्माण गरेका हुन् ।
आफ्नै पहलमा सडक निर्माण गरेर काम गर्नको लागि सरकारकै मुख ताक्नुपर्ने पर्दैन भन्ने गतिलो उदाहरण दिएको छ, वीरेन्द्रनगर–१४ का पिपलडाँडा टोल विकास समितिले । सरकारी निकायसँग सडक निर्माणका लागि पटक–पटक अनुरोध गर्दा पनि बेवास्ता गरिएपछि स्थानीय अगुवा आफै सडक निर्माणमा जुटेका थिए । सबैले साथ दिएपछि सडक निर्माण गर्न सहजा भएको जनाइएको छ ।
नेकपा एमाले १४ का वडा अध्यक्ष टंकप्रसाद चालिसे, नेपाल राष्ट्रिय आधरभूत विद्यालय राम्चेका प्रअ डिलबहादुर तारामीमगर, पिपलडाँडा टोल विकास समितिका अध्यक्ष शिवप्रसाद गौतम र स्थानीय युवा समाजसेवी झंकलाल पौडेलको अगुवाइमा सो बाटो निर्माण भएको हो । दुई लाख भन्दा बढीको लागतमा सडक निर्माण भएको जनाइएको छ । स्थानीय प्राविधिक रामचन्द्र गौतमको मूल्यांकन अनुसार करिब साढे दुई लाखको लगातमा सो मोटर बाटो निर्माण गरिएको हो । अब उक्त सडकमा सवारी साधन सञ्चालन गर्नसक्ने भएको बताइएको छ । सडक निर्माण भएसँगै स्थानीय नागरिक पनि खुशी भएका छन् ।
साझा बिसौनी ।