नौ लाख नगद दान संकलन

सुर्खेत, ८ वैशाख ।
देउती बज्यै मन्दिर पूर्वाधार विकास समितिको आयोजनामा सुरु भएको धनधान्याञ्चल विराट महायज्ञको दोस्रो दिनसम्म नगद नौ लाख संकलन भएको छ । यसैगरी ५० लाख बढी दान गर्ने प्रतिबद्धता आएको जनाइएको छ ।


शनिवारसम्म संकलन भएको दानमा यज्ञशाला निर्माणका लागि मुकुन्दश्याम गिरीले नगद ५१ हजार र १५ लाख दान बोलेका छन् । यसैगरी शिव मन्दिर निर्माणका लागि डाक्टरसिं गुरुङले नगद ७० हजार कबोल गर्नुका साथै १५ लाख रूपैयाँ बराबरको शिव मन्दिर निर्माण गर्ने कबोल गरेका छन् । दुर्गा मूर्ति निर्माणका लागि ओमकुमारी गौतमले १५ लाख दान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महायज्ञको दोस्रो दिन शनिवार मन्दिर परिसर भक्तजनहरूले खचाखच भरिएको थियो । रुद्री, चण्डी पाठ लगायत प्रमुख वाचक वासुदेव आचार्यले कथा वाचन गरेका छन् । पूर्वाधार विकास समितिका अनुसार ५० वटा भन्दा बढी श्रीयन्त्र बिक्री वितरण भएको छ । एउटा श्रीयन्त्र बराबर दुई हजार दुई सय मूल्य राखिएको यो श्रीयन्त्र विशेष पूजन भएकोले यसलाई घर तथा व्यापारिक पूजा कोठामा राख्नले लक्ष्मी प्राप्ती हुने विश्वास गरिएको छ । भक्तजनहरूको सुविधाको लागि प्रत्येक बिहान ११ बजे मंगलगढीचोक, धुलियाविटचोक र बांगेसिमलचोकबाट निःशुल्क गाडीले ल्याउने र साँझको आरती भइसकेपछि पुनः सम्बन्धित स्थानहरूमा नै निःशुल्क पु¥याउने व्यवस्था गरिएको छ ।
वैशाख १५ गतेसम्म हुने महायज्ञमा प्रत्येक दिन भगवती श्रृंगार पूजा, पाठपरायण, हवन शिवपूजा, नित्य हवन पाठपरायण, श्रीयन्त्र पूजन, दाताहरू सम्मान तथा भजन किर्तन, कथा प्रवचन लगायतका कार्यहरू गरिने पूर्वाधार विकास समितिले जनाएको छ ।

प्रकाशित मितिः   ९ बैशाख २०७५, आईतवार १४:४२