सहयोगका लागि विपन्न विद्यार्थीको खोजी

सुर्खेत, ७ वैशाख ।
सुर्खेतमा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । यतिबेला विद्यालयहरूले धमाधम विद्यार्थी भर्ना गरिरहेका छन् । सामुदायिक तथा नीजि विद्यालयमा विद्यार्थी भर्ना अभियानले तीव्रता पाएको छ ।
विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय सेवाभित्र ल्याउनका लागि चरणवद्ध रूपमा भर्ना अभियान सञ्चालन गर्न लागिएको छ । पहिलो चरणमा विद्यालयहरूले भर्ना मिति खुलाएर विद्यार्थी भर्ना लिइरहेका छन् । यसरी भर्ना गरिसकेपछि छुटेका विद्यार्थीहरूको खोजी गरी भर्ना गरिने शिक्षा विकास तथा समन्व्य इकाई सुर्खेतले जनाएको छ । पहिलो चरणमा वैशाख १५ गतेसम्म विद्यालयहरूले भर्ना लिन सक्नेछन् ।
विद्यालयहरूले अहिले आफ्नो सेवा क्षेत्रभित्र विद्यार्थी भर्नाका लागि अभियान सञ्चालन गरिरहेका छन् । स्थानीय सरकारको समन्वयमा घरदैलो गर्नेसम्मका कार्य भइरहेका छन् । ‘कोही पनि विद्यालय जान पाउने अभियानबाट वञ्चित हुन नपरोस् भनेर अभियान सञ्चालन भइरहेको छ’ शिक्षा विकास तथा समन्वय इकाईका सूचना अधिकारी भोजप्रसाद लम्सालले भने । उनले अभियान अन्तर्गत अनिवार्य शिक्षाका लागि विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधारलगायत कार्यक्रम गरिने जनाए ।
विपन्नको संख्या पहिचान हुँदै
विद्यार्थी भर्नासँगसँगै विपन्न अवस्थाका बालबालिकाहरूको खोजी पनि सुरु गरिएको छ । कमजोर आर्थिक अवस्थाका बालबालिकाहरूको अध्ययनमा सहयोग गर्नका लागि उनीहरूको खोजी पनि गरिएको जनाइएको छ । ‘भर्ना अभियान अन्तर्गत कमजोर आर्थिक अवस्था भएकै कारण पढ्न नसकेकालाई निस्चित कक्षा वा तहको जिम्मा वा अभिभावकत्व गराई दिने कार्यक्रम पनि छ’ सूचना अधिकारी लम्सालले भने । यसका लागि विपन्न बालबालिकाहरूको संख्या पहिचानका लागि पनि काम भइरहेको उनले जानकारी दिए । ‘हामीले विद्यालयहरूमा नाजुक अवस्थामा रहेका बालबालिकाहरूको संख्या खोजिरहेका छौ’ उनले भने, ‘उनीहरूको अवस्था हेरेर सहयोग गर्ने छौं ।’ अति आवश्यक देखिएकालाइ सहयोगका लागि पहल गरिरहेको उनले जनाए । ‘शिक्षामा एक सय रूपैयाँ लगानी गर्न समेत नसक्ने वर्ग पनि रहेछ, हाम्रो समाजमा’ लम्साल भन्छन्, ‘नगरिनहुने अवस्थाकालाई सहयोग आवश्यक पनि रहेछ ।’
अभिभावकत्व ग्रहणका लागि अपिल
यसैबीच शिक्षा विकास तथा समन्वय इकाईले कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरूको पढाईका लागि अभिभावकत्व ग्रहण गर्न अपिल गरेको छ । कतिपय बालबालिकाहरूका लागि विपननत पढाईमा बाधा बनेको भन्दै कार्यालयले उनीहरूको पढने अधिकारलाई सुनिश्चित गर्नका लागि सबैले सहयोग गर्नुपर्ने जनाएको छ ।

सांसद रावतले पूरा गरिदिए गोविन्दको पढ्ने रहर

पञ्चपुरी नगरपालिका ५ सुर्खेतका सात वर्षीय गोविन्द बिसीका बुबा छैनन् । आमा शोभा बिसीले दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी छिन् । साँझ र बिहानको छाक टार्नै मुस्किल पर्ने उनले छोरालाई विद्यालय पठाउनन सकिनन् । आफूसँगैका अरु साथी विद्यालय गइरहँदा गोविन्द भने आमाले मजदुरी गर्ने ठाउँमा खेलिरहेका हुन्थे । तर अब भने उनी विद्यालय जान पाउने भएका छन् ।


सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नवराज रावलले पढाइका लागि लाग्ने सबै खर्च आफूले व्यहोर्न गरी गोविन्दलाई विद्यालय भर्ना गराएपछि उनी विद्यालय जान पाउने भएका हुन् । सांसद रावतले शुक्रवार युवाज्योति आधारभूत विद्यालय पञ्चपुरीमा गोविन्दलाई कक्षा १ मा भर्ना गराएका छन् ।
गोविन्दलाई विद्यालय भर्ना गराउँदै सांसद रावतले उनको अभिभावकत्व ग्रहण गरेका छन् ।
छोराले विद्यालय गएर पढ्न पाउने भएपछि गोविन्दकी आमा शोभा पनि खुशी भएकी छिन् । छोराले पढ्ने रहर गरे पनि आफूले विद्यालय भर्ना गराउन नसकेको उनले बताइन् । खर्च धान्न नसकिने भएरै पहिले छोरालाई विद्यालय भर्ना गर्न नसकिएको बताइन् । ‘साँझ र बिहानको छाक टार्नै धौ–धौ छ’ उनले भनिन्, ‘छोराका लागि लाग्ने छुट्टै खर्च कहाँबाट ल्याउनु ?’ विद्यालय भर्ना निःशुल्क भए पनि पोशाक, अन्य शैक्षिक सामग्रीसहित खाजा खर्च व्यहोर्न नसक्ने भएकाले विद्यालय जाने उमेरमा पनि छोराले खेलेरै समय बिताउने गरेको उनको भनाइ थियो ।
‘अब भने मेरो छोरा पनि विद्यालय जान पाउने भयो’ उनले भनिन्, ‘एउटी आमालाई यो भन्दा खुुशी के होला ?’ उनले आफ्नो छोराको
पढाइ खर्चको जिम्मा लिएवापत सांसद रावतले धन्यवाद ज्ञापनसमेत गरिन् । ‘उहाँले जिम्मा नलिएको भए उसले (छोरा)ले कहिल्यै पढ्न पाउँथ्यो कि पाउँदैनथ्यो’ खुशी हुँदै शोभाले भनिन्, ‘अब भने ऊ पनि पढेर अरुजस्तै ठूलो मान्छे बन्नसक्ने भयो ।’
विद्यालय जान पाउने भएपछि हर्षित भएका गोविन्दले अब साथीहरूसँग विद्यालय गएर पढ्ने बताए । सांसद रावतले सरकारले सञ्चालन गरेको विद्यालय भर्ना अभियानलाई सघाउ पु¥याउने गरी गोविन्दको अभिभावकत्व ग्रहण गरेको बताए । उनले कमजोर आर्थिक अवस्थाकै कारण कुनै पनि बालबालिका पढ्नबाट वञ्चित हुनु बिडम्वना भएको भन्दै आफ्नोतर्फबाट त्यस्ता बालबालिकाहरूलाई सक्दो सहयोग गर्ने बताए । उनलाई कक्षा १ देखि १० सम्म विद्यालय पोशाकदेखि, अन्य शैक्षिक सामग्री र खाजा खर्च लगायत अन्य खर्चसमेत सांसद रावतले व्यहोर्नेछन् ।
भर्ना गरे लगत्तै सांसद रावतले गोविन्दको पढाइका लागि आवश्यक रकम बैंक खाता खोलेरै जम्मा गरिदिने बताए । आर्थिक अवस्था कमजोर भएकै कारण कसैले शिक्षा पाउनबाट वञ्चित हुन नपरोस् भनेर बिसीको अभिभावकत्व आफूले लिएको उनले बताए ।
यसैगरी जिल्लाकै चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले पनि विपन्न समुदायका एक बालिकाको अभिभावकत्व लिँदै विद्यालय भर्ना गरेका छन् । चौकुने–८ का हर्कबहादुर भाट र तुल्सा भाटकी ६ वर्षकी छोरी रञ्जना भाटलाई उनले विद्यालयमा भर्ना गरेका हुन् । अध्यक्ष शाहीले बालिकालाई गुटुमा रहेको जीवनज्योति माध्यमिक विद्यालयमा कक्षा एकमा भर्ना गरिदिएका हुन् । शाहीले उच्च शिक्षा अध्ययनसम्म बालिकाको पढाइका लागि आवश्यक सबै खर्च आफूले व्यहोर्ने जनाएका छन् ।

प्रकाशित मितिः   ८ बैशाख २०७५, शनिबार १६:४६