अब घरबाटै महसुल तिर्न सकिने

जगतदल जनाला बिक
पञ्चपुरी, ७ वैशाख ।
बावियाचौर तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले घरबाटै महसुल भुक्तानी सेवा सुरु गरेको छ । पञ्चपुरी नगरपालिका ५ र ६ का बसिन्दाहरूले घरबाटै खानेपानीको महसुल भुक्तानी गर्न पाउने भएका छन् ।
समितिको आठौं वार्षिक साधारणसभाबाट उपभोक्तालाई सहज सेवा प्रबाह गर्ने उद्देश्यले मोबाइलबाटै एसएमएसमार्फत् महसुल भुक्तानी गर्न पाउने योजनालाई प्राथमिकमा पारेको हो । चालु आर्थिक वर्षमा उक्त सेवा सुरु हुने बताइएको छ । समितिले धारा धनी पूर्जा विवतरण गर्ने योजना पनि अगाडि सरेको छ । आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समितिका कोषध्यक्ष लोकबहादुर बुढाले स्वच्छ खानेपानी वितरणमा कुनै कसुर बाँकी नराख्ने बताए । उनले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आव २०७४÷०७५ मा दुई करोड ६६ लाख २८ हजार तीन सय रूपैयाँ आय–व्याय रहेको छ ।
हालसम्म एक हजार दुई सय ७५ धारा मध्ये ६ सय धारा सञ्चालनमा आएको र जेठ मसान्तसम्म सम्पूर्ण धारामा पानी आइसक्ने समितिले बताएको छ । राज्यको वेवास्ताका कारण पश्चिम क्षेत्रका बसिन्दाहरूले महँगो महसुल तिर्न बाध्य भएको गुनासो उपभोक्ताहरूले गरेका छन् । धारा जडान गर्दा धारौटी र महसुल बढाउन भन्दा पनि सर्वसुलभ र स्वच्छ खानेपानी वितरण हुनुपर्ने उनीहरूको माग छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य नवराज रावतले विकास निर्माणका कुरामा जनताको खवर्दारी आवश्यक रहेको बताए । तिनै तहका सरकारको काम भनेकै समृद्धि र विकासका लागि काम गर्नुपर्ने उनले बताए । आगामी असारमा केन्द्र सरकारले ल्याउने बजेटमा सुर्खेतका विकासे योजना प्राथमिकतामा पर्ने उनले बताए । विद्युत, खानेपानी, सडक, केन्द्रीय विद्युत प्रसारण लाइनमा जोड्ने योजना प्राथमिक पार्ने उनको भनाइ थियो ।
पश्चिम सुर्खेतमा पर्यटकीय सम्भावना थुप्रै भएको भन्दै उनले पर्यटन विकासका लागि पनि आफ्नो पहल रहने प्रतिबद्धता व्यक्त गरे । कृषि प्रवद्र्धन, पर्यटनको क्षेत्रको विकास गर्नसके समृद्धिको सपना पूरा हुने सांसद रावतको भनाइ छ । उनले बेरोजगारी समस्या समाधानतर्फ लाग्नुपर्ने बताए । केन्द्र सरकारको मुख ताक्नु भन्दा स्थानीय स्रोत साधनमा करको दायरा बढाइ आम्दानी बढाउनुपर्ने उनको भनाइ थियो ।
कर्णाली प्रदेशसभा सदस्य यज्ञ बिसीले संघीय संरचना अनुसार स्थानीय सरकारले
सिंहदरबारको अधिकार पाइसकेको भन्दै परदर्शीता अपनाउनुपर्ने बताए । पन्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले खानेपानी बिकास र बिस्तारका लागि सबै एकजुट हुनुपर्ने बताए । उनले यहाँका खानेपानी सम्भवनाहरू पहिचान गरी नगरको खानेपानी समस्य समाधानको लागि पहल गर्नुपर्ने बताए ।

प्रकाशित मितिः   ८ बैशाख २०७५, शनिबार १६:४५