नाउँ हराएको समाज

क्रान्ति शर्मा
यो यही समाज हो, जहाँ म बस्छु, तिमी बस्छौ, उहाँ बस्नुहुन्छ, उनी बस्छिन्, ऊ बस्छ, हामी बस्छौं ।अझै थपिदिउन सर्वनाममा ‘हरू’ ः हामीहरू, तिमीहरू, तिनीहरू, उहाँहरू । जो जहाँ जसरी बसे पनि समाज बन्नु न छ ।
म अब एक अर्थले समाजलाई प्रष्ट्याउँछु । तिमी एक अर्थले, तपाई एक अर्थले, ऊ एक अर्थले, उनी एक अर्थले… जे भए पनि शब्दमा बन्नु समाज न छ । समाज बन्न खासमा के–के योग्यता पुग्नुपर्छ ?
समाजमा बस्न क्षमता कस्तो हुनुपर्छ ?
समाजमा आफ्नो लेवल कसरी बनाउनुपर्छ?
समाज अर्कै के हुनसक्छ ?
बस यी प्रश्नको परीक्षा लिइयोस् न अनि छानियोस् समाजमा बस्न लायक मानिसहरू अनि अथ्र्याइयोस् न समाजको अर्थ यो हो भनि ।
–––
दुई÷चार वटा घरहरू एक ठाउँमा बनाइए, अर्को थपियो, अर्को थपियो, अर्को थपियो…। चुपचाप घरहरू, मान्छेहरू थपिरहे तर कसले सोधेन कसैलाइ, ‘समाज म वस्नु ठिक हँु कि नाइ ?’
छिमेकी–छिमेकी बीचमा चिनजान बढ्छ, एक–आपसमा कुरा गर्छन्, समय विस्तारै बित्दै जान्छ । ती कुराहरू अब बढ्दै जान्छन्, छिमेकी बढ्दै जान्छन् ।
अनि सुरु हुन्छन् कुरा काट्ने सन्दर्भहरू ।
किन ? एउटै कारण छ नि । छिमेकी बन्नुभन्दा पहिले माथि उल्लेखित प्रश्नहरू, जवाफ, नतिजा निकाल्ने कुनै नियम नै बनाइएन । परीक्षा नै लिइएन । समाज हुनका निम्ती सायद सबै तह, स्तरका मान्छे हुन जरुरी छ ।
कोही चोरहरू हुन्छन्
कोही गुण्डा
कोही बबाली
कोही चरित्रहीन
कोही नैतिकवान्
कोही धनी
कोही गरीब
कोही थाहै नभएको
कोही असल
कोही खराब
कोही महिला, कोही पुरुष…।
मान्छेहरूको विविधता नै समाजको परिचय हो, मान्छे विना न समाज रहन्छ, न त समाजविना मान्छे ।
मानौं १०÷१५ वटा घरमात्रै एक ठाउँमा बनाएर मान्छे कोही नबसे भने पक्कै त्यो समाज त होइन होला ?
या त घर नै नबनाएर एक हुल जमात उभिइरहे भने त्यो पनि त समाज होइन होला ? हिजो मात्र छिेमकी कि छोरा बलात्कृत भइ, दोषी पनि अलि परको छिमेकीको छोरा रहेछ ।
अस्ती बोक्सी भन्दै खुब रमझमसँग एक युवतीको घरमा पर्व मनाए तिनै छिमेकीहरूले । विदेशबाट घर फर्किएका श्रीमान् बाटोमै लुटिएर लासको कोक्रो बनी आँगनमा लम्पसार सुतिरहेछन्, श्रीमतीको छेऊमा । त्यही पर छिमेकीको घरमा । रातारात ग्याङ फाइट गरी एउटी आमाको छोरो रक्ताम्मे भइ घर पुगेको छ ।
एउटा छोरा ड्रग्स, ड्रग्स भन्दै बन्द ढोकाबाट चिच्याइरहेको छ ।
एउटी छिमेकीकी छोरी गाइगोठमा रक्ताम्मे शरीर ओछ्याएर केक्कुवहरूकी प्यास बनिरहेकी छे ।
कहिले धर्मका नाममा त कहिले जातका नाममा एकोहोरो लडिरहेछन् मानवहरू ।
खै त्यो युवती, त्यो हिंसाले चेपिएकी नारी त्यो लास बनेको श्रीमान्को शरीर, कुलतले मरिरहेको छोरो…यी सबै बस्ने भनेकै समाजमा त होला ।
अब म परेँ दोधारमा । समाजलाई प्रष्ट्याउ कसरी, विरोध ग¥यौं कसरी, व्याख्या गरिदिउ कसरी ?
सानो–सानोमा सात÷आठ कक्षामा हो सायद, समाज भनेको के हो ? एक वाक्यमा पष्ट्याउनुहोस् भन्दै प्रश्न आउँथ्यो ।
खै त्यतिबेला मैले के अर्थ लेखेहँला ? यदि त्यही प्रश्न आज कोही आएर सोध्यो भने, मेरो जवाफ त कपिभरी लेख्दा पनि सकिदैन । चित्त नै बुझ्दैन ।
आफै–आफै हाँस्न मन लाग्छ, खै यो समयको परिवर्तन हो या शब्दको अर्थको ।
–––
कहिलेकाहीं सोच्छु म एउटा यस्तो समाज नीति बनाउँ र बस्ती बसालु…फेरि थाँती राख्छु…‘पागल बस्ती’ उपन्यासको प्रभावमै माथि परेको पो हो कि ।
म पनि अच्चम कै छु, प्रेमको अर्थ किन मान्छेले बदलिरहन्छन्, समाजको अर्थ किन फरक–फरक हुन्छन्, मान्छेहरू समाजलाई बदल्छन् यो समाजले मान्छेलाई ।
उफ ! प्रश्न नै प्रश्न जवाफ दिने खै कुन ?
भैरव अर्यालको ‘आलु’ निबन्ध सम्झिन्छु र एक दिन हाँस्छु ! साँच्चै त्यतिबेला पनि बजार यो आलु यति नै भाऊमा किनबेच हुँदो हो कि नाइ ? अचेल त हर मान्छेका घरमा पाँच किलो, १० किलो, एक किलो, दुई किलो जति भए पनि हुन्छ नै ।
तिनीहरूले ‘आलु’ निबन्ध पढे होलाान् कि नाई !
भैरव अर्यालले कति गम्भिर भएर यो आलूको नाममा निबन्ध रचे होलान् ।
–––
एउटा घरको वरिपरिका घरहरूलाई छिमेकीका घर भनिन्छ, खासमा छिमेकी भनेकै के होला ? अर्थ ? आवश्यकता ? फेरि अघिकै प्रश्न उठ्छन् ।
यति अस्पष्ट म मान्छे पनि त यही समाज भन्ने ठाउँमा बस्छु । त्यति मात्रै कहाँ हुनु किरायको घरमा बस्छु । अब मलाई यस्तै किरायमा बस्ने मान्छेले छिमेकी भन्छन् या आफ्नै घर भएका मान्छेहरूले भन्छन्, यसैमा अन्यौलता छ । म छिमेकी बनेँ या बनिएँ ?
–––
मान्छेलाई हसाउन पनि सजिलो छ, तारिफ गर्दिए पुग्छ । रुवाउन पनि सजिलो छ, किमी कमजोरीमा घोचिदिए पुग्छ ।
हे समाज, मलाई तिम्रो स्वरूप देख्न मन छ । मलाई तिम्रो अर्थ जान्न मन छ । मान्छेहरूलाई भन्न मन छ । सबैलाई समाज बनाउन जाउँ भन्ने मन छ ।
खै यो होला त अब ! म कोसँग मागु समाजको अर्थ ?
त्यो बलात्कृत युवतिसँग
त्यो बेसाहारा रक्ताम्मे युवतीसँग
त्यो शरीरभरी निलडाम देखाएकी नारीसँग
त्यो लास परेको मान्छेसँग
त्यो विकृतिमा फसेको मान्छेसँग
त्यो बुढो आँखामा आँसु छल्काइरहेको
बृद्ध मानिसँग
कि बेसाहारा आमासँग ?
खोइ को–कोसँग सोधु म समाजको अर्थ ।
–––
भैगो अब म केही भन्दिनँ,
समाज पनि अस्तित्वविहीन बनेको छ ।
समाजले आफ्नै नाम हराएको छ ।
समाज पथ्थर भएको छ ।
समाज हराएको छ ।
समाज पनि जिउँदो लास भएको छ ।
आगोमा जलिरहेको छ ।
जमिनमा ढलिरहेको छ ।
रक्ताम्मे छ ।
–––
यदि समाज व्यक्ति हुँदो हो भने आत्तिएर, चिच्चाएर, कराएर, रोएर, दौडेर आउँदो हो र सोध्दो हो
‘मेरो अर्थ के ?’
‘मेरो अर्थ के ?’
‘म को हुँ ?’

प्रकाशित मितिः   ८ बैशाख २०७५, शनिबार १६:४४