प्रेस चौतारीद्वारा उम्मेदवार सिफारिस

सुर्खेत, ६ वैशाख ।
नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनका लागि प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले उम्मेद्वार सिफारिस गरेको छ । वैशाख २२ गते हुने महासंघको प्रदेश निर्वाचनका लागि चौतारीको कर्णाली प्रदेश कमिटीले बिहीवार उम्मेदवार सिफारिस गरेको हो ।
चौतारीले प्रदेश अध्यक्षमा सुर्खेतका दुर्गा थापालाई सिफारिस गरेको छ । उनी नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका
पूर्व अध्यक्ष हुन् । त्यसैगरी खुला सचिवमा दैलेखका यज्ञराज थापा, कोषाध्यक्षमा रुकुमका सुरेन्द्र खत्रीलाई सिफारिस गरिएको छ ।
खुला सदस्यमा कालिकोटका कृष्णराज धमाला, महिला सदस्यमा जुम्लाका कृष्णमाया उपाध्याय, आदिबासी जनजाति सदस्यमा सल्यानका सन्तोष जीएम, र मधेसी तथा अल्पसंख्यक सदस्यमा सुर्खेतका अकबर खानलाई सिफारिस गरिएको छ ।
सर्वसम्मत् रूपमा प्रदेश समिति चयन गर्नका लागि प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र नेपाल प्रेस युनियनबीच सहमति भएको छ । जसअनुसार कर्णाली प्रदेशमा अध्यक्ष, खुला सचिव र कोषाध्यक्षसहित चार जना सदस्य चौतारीको भागमा परेको छ ।

प्रकाशित मितिः   ७ बैशाख २०७५, शुक्रबार १४:३०