संघको कार्यालयमा तालाबन्दी

सुर्खेत, ६ वैशाख ।
सुर्खेत उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी भएको छ । उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिको कार्यशैलीप्रति असन्तुष्ट बनेका व्यवसायीको समूहले बिहीवार वीरेन्द्रनगर रहेको कार्यालयको मूलद्वारमा ताला लगाएको छ ।


असन्तुष्ट व्यवसायीको तर्फबाट वार्ता टोलीका संयोजक कलाधर उपाध्याय (केदार) को नेतृत्वमा उद्योग वाणिज्य संघ कार्यालयको मूल गेटमा दुई वटा र कार्यालय कक्ष एक वटा ताला लगाइएको हो । आम उद्योगी, व्यवसायीहरूको सहभागितामा उद्योग वाणिज्य संघको विधान संशोधन गर्नुपर्ने, वर्तमान कार्यसमिति भङ्ग गरी सबैको सहभागितामा तदर्थ समिति गठन गरी सोही समितिमार्फत् आगामी निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने, संयुक्त व्यवसायीहरूको तर्फबाट विगतमा राखिएका मागहरू निःशर्त पूरा गर्नुपर्ने माग राख्दै तालाबन्दी गरिएको जनाइएको छ ।
धेरै व्यवसायीहरूको भावना विपरित संघको वर्तमान कार्यसमितिले विधान संशोधन, निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको भन्दै संयोजक उपाध्यायले वार्ताको वातावरण बनाउन ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर अनिश्चितकालका लागि तालाबन्दी गरिएको बताए ।
यसैबीच कार्यालयमा तालाबन्दी भएपछि सुर्खेत उद्योग वाणिज्य संघले असन्तुष्ट व्यवसायीहरूलाई वार्ता र संवादमार्फत् समस्याको निकास खोज्न आव्हान गरेको छ । बिहीवार साँझ प्रेस विज्ञप्तीमार्फत् संघले विधि र विधान संवत रूपमा आगामी वैशाख २५ गते निर्वाचन घोषणा गरिएको भन्दै निर्वाचन प्रभावित कुनै पनि गतिविधि नगर्न आनुरोध गरेको छ ।

प्रकाशित मितिः   ७ बैशाख २०७५, शुक्रबार १४:३१