‘बोर्डिङ्ग’ छोडेर सामुदायिक विद्यालयमा

सुर्खेत, ५ वैशाख ।

केही वर्षयता अध्ययनका लागि जिल्लाका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न थालेको छ । सरकारी स्वामित्वमा रहेका विद्यालयमा पनि अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि सामुदायिक  विद्यालयहरूमा विद्यार्थीको चाप बढेको हो । हाल जिल्लाका करिब एक दर्जन विद्यालयहरूमा कक्षा एकदेखि१० सम्म अंग्रेजी माध्यममा अध्यापन भइरहेको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै जान थालेपछि सरकारी विद्यालयमा अंग्रेजी माध्यममा पढाइ सुरु गरिएको हो ।  जिल्ला शिक्षा कार्यालय सुर्खेतका अनुसार हाल जिल्लाभर करिब एक दर्जन सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पनि पढाइ हुने गरेको छ । हाल नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गाग्रेताल, जन माध्यामिक विद्यालय वीरेन्द्रनगर, अमरज्योति नमुना माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा अध्यापन हुने गरेको छ । यस्तै, श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय, जनसेवा माध्यमिक विद्यालय घुस्रा, नेपाल राष्ट्रिय मावि करैखोला लगायतका दर्जन बढी सरकारी विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुने गरेको छ ।

विगतमा निजी विद्यालय (बोर्डिङ्ग) मा अध्यनन गर्ने विद्यार्थीसमेत सरकारी विद्यालयमा भर्ना हुने आउने गरेको अमरज्योति नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्यले बताए । कक्षा ६ देखि १२ सम्म सञ्चालन गरेको विद्यालयमा हाल १० कक्षासम्म मात्रै अंग्रेजी माध्यामबाट पठाइ हुन्छ । विद्यालयले चालु शैक्षिक सत्रमा एक हजार दुई सय ७० जना विद्यार्थी भर्ना लिने उद्देश्य राखेको छ । विद्यालयमा भर्ना अभियान सुरु भएको चार दिनमा सात सय सात जनाले प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् । जसमा चार सय २८ जनाले नेपाली माध्यममा आवेदन दिएका छन् भने, दुई सय ७९ जनाले अंग्रेजी माध्यामबाट अध्ययनका लागि आवेदन दिएका छन् । आवेदन दिएकामध्ये ८० प्रतिशत विद्यार्थी  निजी विद्यालयबाट भर्नाका लागि आएको अध्यक्ष आचार्यले बताए । ‘हाल कक्षा ६ देखि नौ सम्म एक हजार जना विद्यार्थी अध्ययनरत छन्’ अध्यक्ष आचार्यले भने, ‘सामुदायिक विद्यालयमा भनिए पनि सबै विद्यार्थीलाई समेट्न सकिएको छैन्, भर्नाका लागि दिएइका आवेदनबाट उत्कृष्ट विद्यार्थी छानेर मात्रै भर्ना गराउने विद्यालयको योजना छ ।’

केही वर्ष पहिले सरकारी विद्यालयमा आफ्ना छोराछोरी अध्ययन गर्छन् भन्न हिचकिचाउने अभिभावकले समेत अहिले धमाधम निजीबाट सामुदायिकमा छोराछोरी भर्ना गरिरहेका छन् । विद्यालयका सबै तहसम्म अंग्रेजी माध्यममा पढाउन थालिएपछि विद्यार्थीको आकर्षण निकै बढेको जनमाध्यमिक विद्यालय वीरेन्द्रनगरका प्रधानाध्यापक यामबहादुर श्रेष्ठ बताउँछन् । ‘अंग्रेजी माध्ययमबाट अध्यापन सुरु गरेकै कारण विद्यार्थीको संख्या ह्वात्तै बढेको हो’ उनले भने, ‘विगतमा तीन÷चार सयको हाराहारी विद्यार्थी रहेको विद्यालयमा अहिले भर्ना थेग्नै हम्मे छ ।’ उनले थपे ‘विद्यार्थी धेरै आउँदा नयाँ शैक्षिक सत्रमा भर्नाका लागि खोलिएको आवेदन बन्द गरियो । केही वर्ष अगाडि निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न हम्मे–हम्मे थियो, अहिले आएर अंग्रेजी माध्यम सञ्चालन गरिएपछि निजी विद्यालयसँग हरेक कुरामा प्रतिस्पर्धा गर्नसक्छौं ।’

अंग्रेजी कक्षा सञ्चालन गरेकै कारण केही वर्षयता सामुदायिक विद्यालय नै एसईई परीक्षामा जिल्ला उत्कृष्ट हुने गरेका छन् । अहिले आएर सरकारले उच्च शिक्षामा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेपछि निजी विद्यालयका विद्यार्थीसमेत सामुदायिक विद्यालयमा फर्किएका हुन् । जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी भोजप्रसाद लम्सालले पनि अंग्रेजी माध्यमको अध्ययनले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढेको बताए । ‘अंग्रेजी पढाइ भइरहेका समुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको छ’ उनले भने, ‘दरबन्दी र दक्ष जनशक्ति अभावले धेरै विद्यालयमा अंग्रेजी माध्याम सञ्चालन गरे पनि निरन्तरता दिन सकिएन, जुन विद्यालयले नियमित अंग्रेजी माध्याममा पठन–पाठन गराएका छन् तिनी विद्यालय उत्कृष्ट भएका छन् ।’ जनशक्ति र भौतिक संरचनाको अभावका कारण जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन गराउन नसकिएको उनले बताए ।

प्रकाशित मितिः   ६ बैशाख २०७५, बिहीबार १५:०३