महायज्ञको तयारी पूरा
सुर्खेत, ५ वैशाख ।
देउती बज्यै विराट धनधान्य महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ । वैशाख ७ गतेदेखि सुरु हुने महायज्ञको तयारी पूरा भएको आयोजले जनाएको छ ।
देउती बज्यै परिसरलाई आगामी पाँच वर्षभित्र व्यवस्थित बनाउने उद्देश्यले महायज्ञको सञ्चालन गर्न लागिएको हो । मूल आयोजक समितिका संयोजक मुकुन्दश्याम गिरीले पुराना सम्पदाहरू व्यवस्थित गर्दै, नयाँ निर्माणका साथै मन्दिरहरूको पुनर्निर्माण गर्न महायज्ञ थालिएको बताए ।
गुरुयोजनामा मन्दिरभित्र स्नान गृह, आश्रम, बगैंचा, सफा शौचालय, कुण्ड, विश्रामस्थल, पानी र मन्दिरहरू निर्माण गरिने उनले बताए । मन्दिर व्यवस्थापनको लागी करिब पाँच लाख ३३ हजार रकम संकलन भएको छ, भने विभिन्न व्यक्तिहरूले आठ लाख आठ हजार रकम प्रदान गर्ने प्रतिबद्घतासमेत जनाएका
छन् । महायज्ञ सञ्चालनको लागि करिब १२ लाख लागत लाग्ने बताइएको छ ।
गुरुयोजना अनुसार निर्माण हुने देउती बज्यै मन्दिरको सम्पूर्ण पूर्वाधार निर्माणको लागत पाँच करोड लाग्ने अनुमान गरिएको छ । धार्मिक एवम् पर्यटकीय स्थलका रूपमा रहेको देउती बजै मन्दिरमा गुरुयोजना अनुसार निर्माण थालिएको छ । महायज्ञको उद्घाटन ७ गते दिउँसो १ बजे कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले गर्ने बताइएको छ । उद्घाटनपूर्व सोही दिन बिहान ७ बजे स्थानीय मंगलगढीचौकबाट शंखघण्टसहित ¥याली निकालिने जनाइएको छ ।
साझा बिसौनी ।