डाक्टर पर्खिदा बिरामीको मृत्यु

दरबन्दी अभावले सेवा दिन सकिएनः अस्पताल

सुर्खेत, ४ वैशाख ।
वीरेन्द्रनगर–१० सुर्खेतका लोकबहादुर बिसी उच्च ब्लड प्रेसर र सुगरले पीडित थिए । मंगलवार उनी एक्कासी बिरामी परे । उनका जेठा छोरा यादव बिसीले तत्कालै मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा पु¥याए । उनलाई अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरियो । तर इमर्जेन्सीमा बिरामी भर्ना गरेको करिब दुई घण्टासम्म त्यहाँ डाक्टर नै आएनन् । डाक्टर पर्खिदा पर्खिदै अन्ततः बिसीको मृत्यु भयो ।


‘घरमा बेहोस् भएपछि बुबालाई क्षेत्रीय अस्पताल ल्याएँ’ यादवले भने, ‘समयमा भरपर्दो सेवा दिनुपर्ने प्रदेशकै ठूलो अस्पतालमा दुई घण्टासम्म उपचार गर्न डाक्टरहरू कोही आएनन् ।’ समयमा उपचार गर्ने डाक्टर नआउँदा बुबाको ज्यान गुमाउनु परेको उनको आरोप छ । बिरामी बुबालाई इमर्जेन्सीमा भर्ना गरेका यादवले दुई घण्टासम्म पनि उपचार गर्ने डाक्टर नपाएको गुनासो गरे । बिरामीलाई समयमा उपचार दिन नसक्नु अस्पतालको लापरवाही भएको भन्दै उनले ड्यूटीमा रहेका डाक्टरहरू माथि कारवाही हुनुपर्ने माग गरेका छन् । ‘इमरजेन्सी वार्डमा बिरामी रोगसँग लडिरहेको बेला डाक्टर आउँदैन भने यसलाई के भन्ने’ उनले आक्रोश पोख्दै भने, ‘उपचार नगरेर मान्छे मर्नुपर्ने भए इमर्जेन्सी लेखिएको बोर्ड फालिदिए हुन्छ ।’
अस्पतालले बिरामी बचाउनुपर्नेमा अस्पताल आएका बिरामीको ज्यान लिएको आरोप बिसीको छ । लोकबहादुरको मृत्युको कारण डाक्टर अभावले समयमा सेवा दिन नसक्नु भएको अस्पताल प्रशासनले स्वीकार गरेको छ । २९ जना दरबन्दी भएको क्षेत्रीय अस्पताल कालागाउँमा हाल सात जना विशेषज्ञ डाक्टर कार्यरत छन् । ‘इमर्जेन्सी र ओपीडीका लागि दुई जना डाक्टरले मात्रै छन्’ अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. डम्बर खड्काले भने, ‘कर्मचारी अभावले एक जना बिदामा बस्दा स्वास्थ्य सेवा नै प्रभावित हुन्छ, हामीसँग प्रयाप्त जनशक्ति नहुँदा गुणस्तरीय र प्रभावकारी सेवा दिएर जनता खुशी पार्न सकेका छैनौं ।’ काजका कर्मचारी, करार दरबन्दी सिर्जना गरी काम चलाउ जनशक्ति व्यवस्थापन गरिएको उनले बताए ।
जनशक्ति लगायत समस्या भोग्दै आएको अस्पतालको पूर्वाधार विकासको काम भने भइरहेको छ । ‘हाल तीन सय ५० शैया सञ्चालन गर्न सकिने भौतिक संरचना तयार गरिदै छ’ डा. खड्काले भने, ‘भौतिक संरचनाले अब्बल भए पनि जनशक्ति अभाव विगतदेखि झेल्दै आएका छौं ।’ ५० शैया सञ्चालनको स्वीकृति पाएको अस्पतालमा हाल एक सय २५ शैया
सञ्चालन गरी स्वास्थ्य सेवा दिइएको छ । अस्पतालको क्षमता विस्तार गर्ने उद्देश्यले भवन निर्माण तीव्र पारिएको छ । करिव एक वर्षदेखि नयाँ अस्पताल भवनबाट सेवा प्रवाह गरेको अस्पतालले प्रदेशस्तरकै अस्पतालका रूपमा विकास गर्न आवश्यक भौतिक संरचना निर्माण थालिएको हो । तर, अस्पतालमा दक्ष जनशक्ति प्रयाप्त नहुँदा कर्णालीका दश जिल्लाबाट सेवा लिन क्षेत्रीय अस्पताल कालागाउँ पुग्ने बिरामीहरूले गुणस्तरीय र सुलभ सेवा पाउन सकेका छैनन् । न्यूनतम जनशक्ति नहुँदा कर्णालीबासीलाई गुणस्तरीय स्वास्थ्य उपचार दिन नसकिएको उनले बताए ।
अस्पताल व्यस्थापन समितिका अध्यक्ष नारायण सापकोटाले केन्द्र सरकारको बेवास्ताका कारण क्षेत्रीय अस्पतालले डाक्टर अभावको समस्या झेल्नुपरेको बताए । उनले अस्पतालका पर्याप्त डाक्टरहरू नहुँदा गुणस्तरीय सेवा प्रवाह गर्न नसकिएको बताए । ‘अस्पतालमा कार्यरत डाक्टरहरूको संख्या कम छ’ उनले भने, ‘सरकारले बेवास्ता गर्दा दरबन्दी अनुसारका डाक्टर नै आइपुगेका छैनन् ।’ स्वास्थ्य मन्त्रालय, विभाग लगायतका सरोकारवाला निकायमा पहल गर्दासमेत कुनै सुनुवाइ नभएको उनले बताए ।

प्रकाशित मितिः   ५ बैशाख २०७५, बुधबार १६:५२