विद्यार्थी भर्नाका लागि घरदैलो

सुर्खेत, ४ वैशाख ।
सुर्खेतको गुर्भाकोट नगरपालिकाले नगरभित्र रहेका सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा दिने वातावरण सिर्जना गर्ने भएको छ । अविभावक तथा विद्यार्थीको मन जित्न र आकर्षित बनाउन घरदैलो अभियान कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
विशेष गरी विद्यालयको जग मानिने प्राथमिक विद्यालयहरूमा विद्यार्थीहरूको चाप संख्या दिन प्रतिदिन घटिरहेको अवस्थामा र निजी विद्यालयहरूमा आकर्षण बढिरहेको अवस्थामा यो घर दैलो अभियान सञ्चालनमा ल्याएको हो ।
अभियानमा प्रत्येक घर–घरमा पुगी अविभावकहरूलाई विद्यालयको गुणस्तरीय पठन–पाठनका विषयमा आस्वास्त तुल्याउँदै विद्यालयहरूमा नयाँ ढंगले पठन–पाठन गराउने वातावरण सिर्जना गर्ने बताइएको छ ।
सामुदायिक विद्यालयहरूमा प्रत्येक वर्ष विद्यार्थी संख्या कम हुँदै गएकाले नगरपालिकाको पहलमा घरदैलो अभियान सञ्चालनमा ल्याइएको हो । घरदैलो अभियानमा विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, शिक्षक, राजनैतिक दल र सम्पूर्ण शिक्षा प्रेमीहरू लगायतको सहभागिता रहेको छ ।

प्रकाशित मितिः   ५ बैशाख २०७५, बुधबार १६:४८