सांसदद्वारा अस्पताललाई सहयोग

सुर्खेत, ४ वैशाख ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुईका सांसद नवराज रावतले क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतलाई सहयोग गरेका छन् । नयाँ वर्ष–२०७५ को अवसर पारी सांसद रावतले क्षेत्रीय अस्पताल कालागाउँमा फलफूल तथा बिछ्याउने तन्ना हस्तान्तरण गरेका हुन् । उनले मंगलवार एक सय २५ शैयाको अस्पतालमा एक सय १५ वटा तन्ना वितरण गरेका हुन् ।
अस्पताल नवनिर्मत भवनको निरीक्षणसँगै तन्ना हस्तान्तरण गर्दै उनले विकास र स्तरोन्नतीका लागि केन्द्र, प्रदेश र स्थानीय सरकार लाग्नुपर्ने बताए । ‘विगतमा क्षेत्रीय अस्पताल थियो, हाल कर्णालीमा प्रदेशमै ठूलो अस्पताल हो’ उनले भने, ‘प्रयाप्त संरचना भए पनि जनशक्तिको अभाव झेल्नुपर्ने समस्या समाधान गर्न सबै लाग्नुपर्छ ।’ उनले अस्पतालमा दरबन्दी भए पनि डाक्टर ल्याउन दृढतापूर्वक लाग्ने बताए । केन्द्र सरकारको आगामी बजेट तथा नीतिमा क्षेत्रीय अस्पताल कालागाउँ सालकोटको अस्पताल विकास, स्तरोन्ती र व्यवस्थापकीय पक्षमा समेट्न आग्रह गर्ने बताए । अस्पतालका समस्याबारे छलफल गरेरै समाधान खोज्न अस्पताल प्रशासनसँग पटक–पटक अन्तरक्रियाहरू गर्दै जाने उनले बताए । ‘समयमा उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने बाध्यताबाट कर्णालीबासीले मुक्ति पाउन सकेका छैनन्’ उनले भने, ‘कर्णालीका सबै नागरिकले भरपर्दाे सेवा पाउने गरी अस्पताल विकास गर्ने मेरो पूर्ण प्रतिबद्धता छ ।’
जनतालाई गुणस्तरीय स्वास्थ्य उपचार दिनु राजयको दायित्व भएको भन्दै उनले प्रभावकारी सेवा प्रवाहबारे गम्भीर हुनुपर्ने बताए ।

प्रकाशित मितिः   ५ बैशाख २०७५, बुधबार १६:४८