‘श्रीमान्–श्रीमतीको झगडा परालको आगो हो’

13340505_1729301327283002_510325423_o
एक्वांस पानी कम्पनीका सञ्चालक कृष्ण आचार्य र उनकी जीवनसाथी डिला आचार्य ।

पिता बालकृष्ण आचार्य र माता हरिकला आचार्यको कोखबाट २०४० सालमा सुर्खेतमा जन्मिएका कृष्ण आचार्यको बाल्यकाल सुखदुसँग नै बित्यो । उनी बाल्यकालमा अलि चञ्चले स्वभावका थिए । कुनै पनि काममा अडिक भएर लाग्ने अदि जिद्दी स्वभाव उनको थियो । उनले भने, ‘बाल्यकालमा अलि बढी नै चञ्चले र जिद्दी स्वभावको थिएँ, आफूले भनेको र आँटेको काम गरेरै छोड्थें ।’ सुर्खेतमा जन्मिएका कृष्णले कैलालीमा पढे । उनको घर सुर्खेत र कैलाली दुवै ठाउँमा भएका कारण उनी कैलालीमा एसएलसी पास गरेका थिए ।
उनको बाल्यकालको सपना डाक्टर बन्ने थियो । तर, उनले टेक्निसियन पढे र केही वर्ष मिडियामा काम पनि गरे । पढ्दै गर्दा उनी सञ्चार क्षेत्रमा पनि केही वर्ष काम गरे । पछि उनले आफ्नै क्लिनिक पनि खोले । सबै काममा हात हालेका कृष्णले सुर्खेतमा प्रशोधित पानीको व्यवसाय सुरु
गरे । उनको बाल्यकालदेखिको डाक्टर बन्ने सपना एक्कासी मोडियो र व्यवसायतर्फ
लागे । उनले अहिले व्यवसायसँगसँगै युवाहरूलाई रोजगारी समेत दिइरहेका छन् ।
उनी एसएलसी पास भएपछि सुर्खेत शिक्षा क्याम्पसमा पढ्न थालेका थिए । उनी क्याम्पस चाहिँ धेरै जान्थेनन् । उनी पढ्ने क्याम्पसमा नै डिला पनि पढ्थिन् । दुवैको देखाभेट हुन्थो तर, बोलचाल भने थिएन । दुवै जना आफ्नै धुनमा हुन्थे । भनिन्छ नि भगवान्ले जोडी माथिबाटै बनाएर पठाएका हुन्छन् । उनीहरूको जोडी पनि भगवान्ले नै बनाएरै होला दुवै जना एउटै क्याम्पसमा पढ्दा र भेट्दा समेत नबोल्ने मान्छेको एक्कासी घरमा विवाहको कुरा चल्यो ।
उनीहरू दुवैले सोचेका थिएनन् कि यसरी बिहे हुन्छ भन्ने तर, लेखेको कुरा जसरी पनि भएर छाड्छ । त्यसरी नै उनीहरूको जोडी पनि एक भएर छोड्यो । उनीहरू एकअर्काेको त्यति मतलब नराख्ने तर, घरपरिवारले उनीहरूको विवाहको कुरा छिनेका थिए । आफन्तद्वारा उनीहरूको विवाहको कुरा चलेको थियो । घरपरिवारले भनेको दुवै जनाले स्वीकार पनि गरे । डिला पनि विवाहको लागि राजी भइन् । छोरी भएपछि घरपरिवारको कुरा काट्न हुँदैन र बाबा आमाले जहाँ छोरीलाई बिहे गरिदिन्छन् त्यही विहे गर्नुपर्छ भन्ने मान्यतालाई डिलाले पनि स्वीकार गर्दैै विहेको लागि राजी भइन् ।
फेरि दुवै जनासँगै पढ्ने भएकाले पनि दुवैले एकअर्काेलाई चिनेका पनि थिए । घरपरिवारको सहमति र दुवै जनाको राजीखुशीमा २०६० सालमा उनीहरूको मागी विवाह भयो । पिता विन्दुलाल पौडेल र माता चन्द्रा पौडेलको कोखबाट २०४० सालमा सुर्खेतमा नै जन्मिएकी डिलाको बाल्यकाल सुखद्सँगै बितेको थियो । उनी बाल्यकालमा साथीहरूसँग खेल्ने, पढ्ने र अलि गम्भीर स्वभावकी थिइन् । उनी केही कुरा बोल्नुप¥यो भने पनि सोचेर मात्र बोल्ने गर्थिन् ।
भनिन्छ विवाह पछि हरेक छोरीको लागि माइती घर पराइ हुन्छ अनि पराइ घर आफ्नो हुन्छ । छोरीले थोरै समय जन्मघरमा र धेरै समय कर्मघरमा बिताउनुपर्छ । डिलाले पनि माइतीघरलाई पराई घर बनाउँदै पराइ आफ्नो बनाउन सधैं लागि परिन् । सुरु–सुरुमा त सबैलाई गाह्रो हुनेगर्छ । नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ रितीरिवाज, संस्कारदेखि रहनसहन सबै कुरामा ख्याल गर्नुपर्छ । उनले भनिन्, ‘सुरुमा त मलाई नि धेरै गाह्रो भयो, सबैसँग नजिक हुन तर, पछि भने बानी पर्दै गएँ ।’ छोरी र बुहारी हुँदा धेरै फरक हुने उनी बताउँछिन् । छोरी हुँदा सबैको माया ममतामा हुर्किएको र बुहारी हुँदा त्यही माया ममता अरुलाई दिनुपर्ने र सबैसँगको नातालाई पनि आफ्नो बनाउनुपर्ने । छोरीको ठाउँ बुहारी, आमा बाबाको ठाउँमा सासुससुरा, दिदीबहिनीको ठाउँमा नन्द अमाजु यस्ता नाता परिवर्तनले पनि हरेक छोरीलाई माइतीघरबाट टाढा रहेको आभाष गराउँछ ।
यस्तै आभाष केही वर्ष डिलालाई पनि गरायो । उनले भनिन्, ‘सबै पराइ लाग्ने, माइतीघरमा जस्तो विवाह घरमा त कहाँ हुन्थ्यो र सबै कुरामा एकदमै चनाखो भएर काम गर्नुपर्ने हुन्थ्यो चुनौती त आइपरेकै
हो ।’ यस्ता चुनौती डिलालाई मात्र होइन सबै छोरीहरूको लागि आइपर्ने कुरा हो ।
विवाहपछि यो जोडी कहिलेकाहीं झगडा गरे धेरै बेरसम्म रिसाउनै पर्ने झगडा भने उनीहरूको भएको छैन । उनीहरू भन्छन्, ‘श्रीमान्–श्रीमतीको झगडा भनेको परालको आगो हो, एकै छिनमा निभी हाल्छ ।’ दुवै जना एकअर्काेको प्रशंसा पनि निकै गर्छन् । कृष्णलाई डिलाको आफूलाई हरेक कुरामा सहयोग गर्ने र अभिभावकको भूमिका निर्वाह गर्ने बानी मनपर्ने गर्छ । डिला कहिलेकाहीं अलि बढी नै झनक्क रिसाउने बानी भने अलि मन पर्दैन । कृष्णलाई मात्र होइन डिलालाई पनि कृष्णको सानो तिनो कुरामा कचकच नगर्ने बानी मनपर्ने गर्छ । कहिलेकाहीं अह्राएको काम भुल्ने बानी भने डिलालाई अलि मन पर्दैन ।
कृष्ण डिलालाई घरको काममा पनि सघाउने गर्छन् । खाना पकाउनमा भने कृष्णले कहिल्यै पनि सघाउँदैनन् तर, बच्चालाई नुहाउने र कोठा सजाउने काम भने कृष्णले गर्ने गर्छन् । उनीहरूका अनुसार दाम्पत्य जीवन सुखमय बनाउनको लागि पहिला एकअर्काेको विश्वास जित्न र एकअर्काेको भावना बुझ्न जरुरी छ । जबसम्म एकले अर्काेको विश्वास कायम राख्न सक्दैन र एकअर्काे बीचको भावना बुझ्न र बुझाउन सक्दैन तबसम्म दाम्पत्य जीवनलाई दिगोपना दिन सकिदैंन । उनीहरू भन्छन्, ‘एकले अर्काेको भावनाको कदर र सम्मान गर्न सक्नु नै सम्बन्धको डोरी बलियो बनाउनु हो ।’
उनीहरूका अनुसार विवाह एउटा सामाजिक रूपमा गरिने र सम्बन्धलाई अगाडि बढाउने बन्धन हो । जुन बन्धन सास रहुञ्जेलसम्म निभाउन सक्नुपर्छ । अनि प्रेम भनेको त्यही विवाहलाई जीवन्तसम्म सँगै र अगाडि बढाउन नभइ नहुने कुरा हो । प्रेम सबैसँग हुन्छ तर, विवाहपछिको प्रेम भनेको एकअर्काेको भावना बुझ्ने र एकअर्काेप्रतिको विश्वास जगाउने चिज
हो । प्रेम विनाको विवाह अधुरो र अपुरो हुन्छ । प्रेमको नाममा कसैले पनि कसैको जीवनमा खेलवाड गर्न नहुने उनीहरूको भनाइ छ । उनीहरू भन्छन्, ‘विवाह र प्रेम भनेको एकअर्काेका परिपूरक हुन्, जुन विवाह बन्धनमा पनि प्रेम अति आवश्यक हुन्छ ।’ प्रेमपछि विवाह नै हुन्छ भन्ने पनि हुँदैन तर, प्रेमको नाममा कसैलाई धोका पनि दिनु हुँदैन ।
यो जोडी भन्छन्, ‘जीवन भनेको सङ्घर्ष हो, जीवन सङ्घर्ष विना सुखी र खुशी हुन सक्दैन ।’ जीवनमा सङ्घर्ष जसले गर्नसक्छ उही न जीवनको लक्ष्यमा पुग्न सक्छ । उनीहरूका अनुसार जीवनमा अनेकौं उतार चढावहरू आउने गर्छन् । ती उतार चढावलाई सहज रूपमा सामना गर्दै अगाडि बढ्नसक्नु नै जीवन हो । जसले जीवन्तसम्म साथ दिन्छ र हरेक सुख–दुःखमा हातमा हात मिलाउँछ त्यो साथी नै जीवनसाथी हो । दुःख–सुखमा हटेर नभइ डटेर सँगसँगै अगाडि बढ्न सक्ने साथी नै जीवनसाथी हो । सुख–दुःख बिसाउने चौतारी नै जीवनसाथी हो ।
उनीहरू नव दम्पत्ती जोडीलाई र विवाह बन्धनमा बाँधिन लागेका जोडीहरूलाई पहिला एकअर्काेको भावना बुझ्नुपर्ने र आफ्नो खुट्टामा उभिएर मात्र विवाह गर्न सुझाव दिन्छन् । विवाह एउटा सामाजिक बन्धन मात्र नभइ जीवन्तसम्म साथ दिने र हरेक सुख–दुःखमा सँगसँगै यात्रा गर्ने एक पाटो भएकाले विवाहलाई एउटा पवित्र बन्धन सम्झेर अगाडि बढ्नुपर्ने उनीहरूको भनाइ छ । जब एकअर्काे बीचको विश्वास कायम गराउन सकिन्छ तब वैवाहिक जीवन सुखमय बनाउन सकिने उनीहरूको भनाइ छ ।
प्रस्तुतीः गीता थापा

प्रकाशित मितिः   २२ जेष्ठ २०७३, शनिबार ०४:१२