जिन्दगी भइदिए त सोचे जस्तै…

dinesh
दिनेश गौतम

…र यी कुराहरू पनि यथावत नै छन आँखै सामुन्ने ।
आँखामा राखिएका प्रत्येक व्यक्ति विषय वा घटनाको फेहरीस्त उतार्न परे खोल्दिउँला, आँखा जहाँ सङ्ग्रह छ केही सपनाहरूको, जहाँ भण्डार नै छ अनगिन्ती आवश्यकताहरूको र जहाँ अभाव छ दौलतको, माया, ममता, साथ र सहयोगको । यी यिनै आँखा हुन् । खोल्दिउँला एकपटक ।
मनमै राखेर, मनमै गुम्साएर, मनबाट फुत्किन नदिइकन के राख्नु थियो र ? राख्नु पनि त जायज थिएन । सड्थ्यो होला नि । त्यही भएर पनि मनमा रहेनन् त्यस्ता कुरा र आज सोंच्दछु कि ती मनमै रहन आवश्यक थिए । धत्तेरी ! अल्ली ठूलै गल्ती गरिएछ कि के हो ? जे होस्, भइ त जाला गुजारा ।
ओशोको चिन्तनदेखि बडो चिन्तनवादी बनेको दिमाग यतै नेपालका विकाशानन्दका केही कुराहरू सुन्दा भर्चुअल हुन्छन् । इन्टरनेटको एउटा छेउमा प्रेमिकाको तस्बिरसँग विचार साट्दा उता ओबामाको भाषण सुनेर संसार भनेकै अमेरिका हो कि भन्ने पनि लाग्ने । फेरि उही विश्वको बारेमा सोचिरहँदा उत्तर कोरियाको किम जोङउङको बारेमा सुनेपछि मन मोडिन्छ, सोच बदलिन्छ । हैन रै’छ, अमेरिकालाई पनि हाँक दिन सक्ने देश रै’छ भन्ने लाग्छ । र यो मन हो नि, त्यहीबेला आइदिन्छ विचार, यो भन्दा राम्रा अरु प्रेमिका पनि त पाइएलान् । सम्झियो अमेरिकाको लागि उत्तर कोरिया के त ? अनि युरोपका चर्चमा गरिने विश्वशान्तिको प्रार्थनासभाका तस्बिरहरू सार्वजनिक नहुँदै सिरीयाली शरणार्थीहरूको दुःखद् र अत्यन्त कारुणिक तस्बिरहरू आइदिन्छन् इन्टरनेटमा, हेर्छन् आँखाले, दुख्छ मन र सोच्छ दिमागले । बुद्ध कति सही थिए, भन्थे ‘संसारमा दुःख छ । दुःखको कारण छ ।’ हो रै छ । त्यही त देखियो नि । उनले पहिल्यै थाहा पाए, महसुस पनि गरे हुँदा हुन्, हेर्नुस् पच्चीस सय वर्ष अगाडि । त्यो बेला पनि त हुँदो हो नि केही न केही अहिले जस्तै दुःख । अहिले त के
छ र ? एक सय एक प्रतिशत दुख, मात्रै दुःख नि ।
चेतल ‘नि’ जोडेर लेख्ने बानी परेको छ । वास्तवमा यो ‘नि’ लाई मान्छेहरू पूर्वीय भाषा भन्छन् । अलि चेपारो पारेर, गाउँघरकै भाषामा ‘काउला पारेर’ बोल्दा प्रयोग हुन्छ रे यो ‘नि’ । मलाई पनि त्यसको प्रभाव नपरेको होला म भन्न सक्दिन । जे होस् न । म भन्दै थिएँ, दिमाग र मनको विषय कति जटिल छ भनेर ? विद्यार्थीहरूको दिमागले हरहमेशा त्यही सोचिरहेको हुन्छ, पढ्नुपर्छ । के गर्नु बीचमै आइदिन्छ मन बाधक बनेर । मनले भन्छ, ‘पढेर के हुन्छ ?’ र मनले नै पढेर के हुन्छ को जवाफ नदिएरै पढाइ बाहेकका अन्य काममा मान्छेलाई बहलाइदिन्छ । पहिले पहिले मदिरा तिर जान्थ्यो होला मान्छेको ध्यान, अहिले त्यसको लागि इन्टरनेट छँदैछ नि ।
मनको कुनै आकार छैन, प्रकार छैन । पण्डितहरू मनको प्रकार चाहिँ छ भन्छन् होला कठोर मन र कोमलो मन । खोइ त ? कठोर मन भएका भनिएकाहरू पनि अवस्था अनुसार कोमलो भइदिन्छन् । कोमलो मन भएकाहरू वा कोमलो मन भएको भनिनेहरू त झनै, उफ कठोर मन भएकाहरू भन्दा पनि कठोर भइदिन्छन् । त्यसले मनको प्रकारमा विवाद छ । हामी विवादित कुरामा किन जाउँ र ? यहाँबाट त उम्किनै पर्ला जस्तो छ । वास्तवमा मन त अवस्था हो, त्यस्तो अवस्था जुन हरेक अवस्था वा अवस्थितिमा भइदिन्छ फरक, कहिलेकाहीं थोरै फरक, कहिलेकाहीं धेरै फरक । त्यही भएर पनि एकछिनमा कति फरक हुन्छ मान्छे, मिनेट अगाडि नचिनेको मान्छे छिनभरमै आत्मिए बन्दा उता वर्षौंदेखि निकै समिपमा रहेकाहरूले मिनेटमै निकै लामो दूरी तय गरेको पनि उदाहरण छन् हामीसँग । रहेछ, यो सब मनको कमाल रहेछ । कहिलेकाहीं अरुको कथा सुनेर हाँस्नुपर्ने यही मनलाई, कहिलेकाहीं अरुकै बारेमा सुनेर रुनुपर्ने यही मनलाई । अरुको मन दुखाउने पनि यही मन, अरुलाई खुशी बनाउन सक्ने पनि यही
मन । अरुको दुःखलाई आफ्नै दुःख सम्झिनेदेखि अरुलाई दुःख दिँदा आफूलाई सुख भएको अनुभूति गर्न सक्ने वा गराउन सक्ने पनि यही मन । यो मन त वडो अजीवको रै’छ । लाग्दछ, यो मन त बडो गजवको रै’छ ।
दिमाग सोच, विचार, गन्थन, मन्थनको लागि चर्चित छ, मन भावना, अनुभूति बुझाइ लागि । कत्तिसम्म फरक छ भने म्याथम्याटिक्स फमूर्ला बुझ्नु दिमागको काम हो भने प्रेमिकाको मनको कुरा बुझ्नु मनको काम । फेरि ओबामाको मन वा लादेनको मनमा आकाश पातालको फरक छ । फेरि रामको मन र रावणको मन कति फरक छ । बुद्धको मनले शान्ति सोच्दा अहिले आइएसएसमा संलग्नहरूको मनले शान्ति कल्पनै गर्न सक्दैन । मन त मन न हो, छिमेकीको मन, परिवारको मन, साथीभाइको मन, जीवनसाथीको मन र आफ्नै मन । जो सबै एकअर्कामा निकै फरक छ, आफ्नै मनमा पनि निकै फरक छ र त्यही फरकले मनको पहिचान छ । हो मन मन नै हो । यो मन त मन नै हो । मन, जो तपाईं हामी भौतिक रूपमा देख्दैैनौं र पनि भन्छौं मन
दुख्यो । मन, दुख्यो भनेर तपाईं जाने कुनै डाक्टर छैन । होस् पनि कहाँबाट, यहाँ मनको कुनै अस्तित्व छैन । वास्तवमा रहेछ त केवल यो मन एउटा भावनाहरूको अस्थिरपञ्जर । हामीले सोचेभन्दा अलि फरक । हामीले बुझेभन्दा अलि अप्ठ्यारो । हामीले देखेभन्दा अलि धमेलिएको । हामीले सम्हालेको भन्दा बेसी नै मात्तिएको । मन, ए मन अब मन भौतिक रूपमा हेर्न सकिने हुन जरुरी छ । जसरी पनि, जुनसुकै हालतमा पनि । जे पनि रोक्ने त यही मन रहेछ ।
सोचेर भ्याएसम्मका, देखेर ठम्माएसम्मका, भेटेर ल्याएसम्मका सबै कुराको सङ्ग्रह छ दिमागमा । देशको इतिहासदेखि विश्वको भविष्यसम्मको आँङ्कलन गर्ने सक्ने क्याल्कुलेटर छ दिमागमा । घरको चिन्तादेखि पढाइको चिन्ता सबै चिन्ताहरू चिन्तन गर्नैपर्नेछ यही दिमागले । नबुझेकालाई कुरा बुझाउन, लेखाउन, पढाउन, सिकाउन, विकाउन, रिझाउन, रिसाउन वा जे जति गर्न पर्नेछ दिमागले सोच्छ । धेरै जसो त दिमागले सोच्न नपाउँदै मनले केही अनौठो गरिदिन्छ कि भन्ने डर । दिमागले नसोच्दै मनले जिब्रोमा ल्याएर केही राख्दिन्छ कि भन्ने डर । त्यसैले पनि भनिएको हुन सक्छ, जिब्रोमा लागेको घाउ सबैभन्दा छिटो निको हुन्छ र जिब्रोले दिएको घाउ सबैभन्दा ढिलो ।

प्रकाशित मितिः   २२ जेष्ठ २०७३, शनिबार ०४:१०