सांसदद्वारा विकास आयोजना निरीक्षण

सुर्खेत, ३ वैशाख ।
राजधानी काठमाडौंबाट गत चैत २२ गते सुर्खेत आइपुगेका प्रतिनिधिसभा सदस्य नवराज रावत गृहजिल्ला आएदेखि नै व्यस्त बनेका छन् । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा निर्वाचित रावत यतिबेला जिल्लाका विकास निर्माणका गतिविधि अनुगमनमा व्यस्त बनेका हुन् । विकास आयोजना अनुगमनका साथसाथै उनले विभिन्न क्षेत्रमा सहयोग हस्तान्तरण समेत गरिरहेका छन् ।
जिल्ला कारागार सुर्खेतका कैदीबन्दीसँग नयाँ वर्ष मनाएका उनले विकासे आयोजनाहरूको निरीक्षण र अनुगमन तीव्र पारेका छन् । सुर्खेत आएदेखि नै विकास निर्माणका गतिविधिबारे चासो दिएका उनले शनिवार ठेकेदार कम्पनीको लापरवाहीका कारण आठ वर्षदेखि अलपत्र परेको जिल्ला कारागार भवनको निरीक्षण गरे । त्यसैगरी उनले सोमवार खानेपानी आयोजनाको अनुगमन तथा निरीक्षण समेत गरेका छन् । वीरेन्द्रनगरको जर्बुटा र अछामी डाँडास्थित लासुनपानी खानेपानी आयोजनाको अवलोकन तथा निरीक्षण गरेका हुन् ।
तीन करोड ६४ लाखको लागतमा निर्माण थालिएको उक्त खानेपानी आयोजनाको तोकिएको समयमा सम्पन्न गर्न उनले निर्देशन दिएका छन् । स्थिर सरकार पाएको अनुभूति हुने गरी विकास निर्माणमा जनप्रतिनीधिले चासो देखाउनुपर्ने उनले बताए । ‘विगतमा अस्थिर राजनीतिका कारण विकास भएन, भ्रष्टाचार मौलायो’ खानेपानी आयोजनाको अनुगमनका क्रममा उनले भने, ‘अब जनताले अनुभूति गर्ने गरी विकास गर्नु सरकारको दायित्व हो ।’
विगतमा प्रभावकारी अनुगमन नहुँदा गुणस्तरीय विकास हुन नसकेको औल्याउँदै सांसद रावतले स्थानीय सरकारले कहाँ कसरी विकास निर्माण भइरहेको छ भन्ने बारेमा चासो व्यक्त गर्नुपर्ने बताए । ‘शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकासे योजनामा भएको लापरबाही रोक्नुपर्छ’ उनले भने, ‘अबको यात्रा समृद्धि र विकासको भएकाले विगतको परिपाटी बदल्न निगरानी बढाउनु आवश्यक छ ।’
सांसद रावतले जिल्लामा रहुञ्जेलसम्म विकास निर्माणको प्रत्यक्ष रूपमा अनुगमन गर्ने योजना बनाएका छन् । विकासे आयोजनाको अनुगमनका क्रममा सांसद रावतले आज (मंगलवार) क्षेत्रीय अस्पतालको निर्माणधीन भवनको अनुगमन गर्ने भएका छन् । स्वास्थ्यतर्फको विकासे आयोजना अन्तर्गत अस्पतालको निर्माण अवस्थाबारे अनुगमन गरिने उनले बताए ।

प्रकाशित मितिः   ४ बैशाख २०७५, मंगलवार १५:४५