माननीयसँग मनका कुरा

भरतकुमार साउद
कर्णालीको किनारबाट चार कोष पर पूर्व–उत्तर फर्केको एक चिसो गाउ“ छ । अछाम जिल्लामा पर्ने त्यस गाउ“को नाम चाल्सा हो । त्यही लेकाली गाउँको सिरानमा लालिगुराँसका फेदमा रोकिएको रित्तो बसजस्तो पूर्व–उत्तर नै फर्केको विद्यालयको कच्ची भवन बिहानको घाम तापिरहेको हुन्थ्यो । आज पनि होला । हिउँचुली डाँडाँबाट आएको चिसो सिरेटोले अनुहारमा खोपेको दुःखको वर्णमाला पढ्दै हुर्किरहेका एक हुल केटाकेटी राष्ट्रियगान गाइरहेका हुन्थे । आज पनि हुँदा हुन् । जीवनका प्रारम्भिक पन्ध्र वर्ष त्यहीं छाडेर आएको हुनाले सम्झँदा मात्र पनि मेरो मन रोमाञ्चित हुन्छ । भर्खरै लगाएको ढुङ्गामाटाको घेरापर्खाल नाघेर खुशीले उफ्रिरहेका हुन्थे केटाकेटी । केटाकेटी भन्नु मात्र हो । कक्षामा एकदुई जनाबाहेक केटीहरू हुँदैनथें । अझ प्रायः कक्षाहरूमा त केटाहरू मात्र हुन्थें । छोरीलाई स्कुल पठाउने चलनै थिएन भन्दा पनि हुन्छ । स्कुल भर्ना भएका केटीहरू अपवाद बाहेक कि त मास्टरका छोरी हुन्थे कि त भूतपूर्व प्रधान वा तिनैका भाइभतिजाका छोरीचेली । तिनैका पनि सबै छोरीचेली स्कुल पढ्दैनथे ।
महेन्द्रमाला (कक्षा एक) फेरिएर मेरो नेपाली (कक्षा एक) पढ्ने जमाना आयो । कक्षामा केटीहरूको संख्या पनि बढ्न थाल्यो । मैले एसएलसी दिएको वर्ष २०५४ सालमा विद्यालय भर्ना हुनेहरूमा थिइ एक सामान्य बालिका । जसमा उल्लेख गर्नका लागि कुनै विशेष कुरा छैन । भनुँ, चल्तीको भाषामा आम बालिका थिई । उत्तरी हिउँचुलीले खोपेका दुःखका वर्णमाला उसका पनि थिए अरुका जस्तै । सबैका हातको पछाडिपट्टी कटकटिएको मयलभन्दा बढी अभाव हुन्थ्यो । उसको पनि अरुको भन्दा फरक थिएन । त्यो कहिल्यै उल्लेखनीय कुरा थिएन । कपालमा गुजुल्टा परेको गरिबी अरुको भन्दा फरक थिएन । त्यो कहिल्यै उल्लेखनीय कुरा थिएन । समग्रमा भुइँमान्छेहरूको त्यस गाउँमा स्कुल पढ्ने पनि भुईँमान्छेकै छोराछोरी थिए । तिनै भुइँमान्छेकी माननीय भएकी छे त्यही बालिका, स्कुल भर्ना भएको ठीक २० वर्षपछि । उल्लेखनीय कुरा त्यो हो ।
चैतको पहिलो साता हुने भनिएको उपराष्ट्रपति निर्वाचनका निम्ती मतदाताका हिसाबले काठमाडौं पुगेकी सात नंं. प्रदेशकी प्रदेशसभा सदस्य माननीय अम्बिका थापा भृकुटीमण्डपमा केही कार्यकर्ता र शुभचिन्तक आफन्तहरूसित भेटिइन् । आप्mनै कामले काठमाडौं जाँदा यसपटक आप्mनै गाउँकी ती माननीयसित संयोगले भेट हुँदा २० वर्षअघि आफूले स्कुल छाड्दै गर्दा स्कुल भर्ना हुँदै गरेकी ती बालिकाको अनुहार सम्झिएँ । लाग्यो नेपालमा भएको राजनीतिक परिवर्तन आँखै अगाडि छ । सधैं गाउँको राजनीतिको नेतृत्व गर्ने मुखियाहरूको पालो साँच्चै सकिएछ । मुखियापछि उनकै छोराहरू प्रधानका उम्मेद्वार हुने समय पनि सकिएकै रहेछ । जिते पनि मुखियाकै छोराले जित्ने र हारे पनि मुखियाकै छोराले हार्ने गाविस अध्यक्षवाला चुनावको पालो पनि सकिएछ । मुखियाकै भाइभतिजा सांसद–नेता हुने गाउँमा यसपटक लाग्यो – साँच्चै राजनीतिक परिवर्तन भएछ । कुनै मुखियाका घरमा नजन्मेकी नेता पहिलो पटक पाएछ चाल्साले । पहिलो पटक गाउँमा दुनियाँका घरमा राजनीतिको नेतृत्व सरेको छ, मुखियाका घरबाट । उनलाई भेटेरै हृदयदेखि बधाई दिन मन थियो । गफिन मन थियो र सोध्न मन थियो उनले गरेका संघर्षको बेलिविस्तार । यसपटक मौका मिल्यो ।


मैले चिनेकी अम्बिका थापा २०५४ सालमा स्कुल भर्ना भएकी त्यही सात वर्षे बालिका हो । एसएलसीपछि मलाई धेरै समय घर बस्ने समय जुरेन । २०६४ सालमा दसैं–तिहारको बिदामा घर जाँदा तिनीसित भेट भएको थियो । एसएलसीको तयारी गरिरहेकी उनको जीवनमा त्यसबेलासम्म दुःखका वर्णमालाहरूले धेरै अध्याय घोकाइसकेका थिए । उनका बुबाले स्कुलमा सहयोगी कर्मचारी भएर र जिविकामुखी कृषिबाट जेनतेन बालबच्चा परिवारको भरणपोषण गरिरहेको पनि दैवलाई सह्य भएन । घरकी जेठी सन्तान उनी आठ कक्षा पढ्दै थिइन् । उनका बुबाको देहान्त भयो । यस बज्रपातले उनका कलिलो मस्तिष्कमा पर्ने चोट एकातिर दुस्कर छदै थियो अर्कातिर उनको कलिलो काँधमा जिम्मेवारीको पहाड उभियो । यसले उनलाई चाडै परिपक्व पनि बनायो अनि अरुभन्दा गम्भीर र फरक पनि । केटीहरू पढ्दै नपढ्ने र पढेका केटीहरू एसएलसी दिएर वा पास भएपछि भागेर बिहे गर्ने एक अदृश्य नियम नै रहेको त्यस पछौटे बस्तीमा पक्कै केही हुटहुटी, केही अठोट र केही सपना भएर होला उनी समाजको अपवाद बनेरै संघर्ष गरिरहिन् ।
‘कैले काही जीवनमा यतिका संघर्ष कसरी गर्नसकें जस्तो लाग्दैन ?’
लाग्दैन, मैले जस्तो संघर्ष गाउँमा मजस्ता कति दिदीबहिनीले गरिरहेका छन् । मैले त जसरी भए पनि पढ्ने समय पाएँ, मेलापातमै जिन्दगी बिताउन बाध्य दिदीबहिनीको अवस्था झन् कति दयनीय होला । स्कुल देख्नै नपाएकाहरूको चेतना, अस्पताल देख्नै नपाएकाहरूको स्वास्थ्य र जीवनभर चप्पल लगाउन नपाएका पाइतालाहरूको संघर्षसामु मलाई कहिल्यै आप्mनो दुःख ठूलो लागेन ।’
आप्mनो संघर्ष कत्तिको सफल भएजस्तो लाग्छ ? माननीय हुँदा कस्तो अनुभव भएको छ ? भविष्यका योजना के छन् ? केही प्रचलित प्रश्न सोध्छु म ।
‘मैले कहिल्यै आपूm के बन्ने भन्ने योजना बनाइनँ । आपूm के बन्ने भन्ने कुनै महŒवाकांक्षा र चल्तीको उद्देश्य पनि छैन । आपूmले पाएको जिम्मेवारी कुशलतापूर्वक बहन गर्न इमान्दारिपूर्वक सक्दो प्रयत्न गर्छु । माननीय बन्छु भनेर पनि कुनै योजना थिएन । सबै परिस्थिति त्यस अनुकूल बन्यो र आज यहाँ छु । केही वर्षका लागि यस भूमिकामा छु । हो म नयाँ जिम्मेवारी र नयाँ चुनौतीका लागि सधैं उत्सुक, इच्छुक र सक्रिय भइरहेकी हुन्छु । प्रदेशसभा सदस्यको भूमिकामा मेरा धेरै जिम्मेवारी र चुनौतीहरू छन् । संघीयताको अभ्यास नयाँ हो र अनुभवका हिसाबले म आफैं पनि यसमा नयाँ छु । मैले धेरै सिक्नु छ । सिक्दै काम गर्ने हो र काम गर्दै सिक्ने हो । मलाई विश्वास गर्ने र यस भूमिकामा पु¥याउने आम जनसमुदाय र पार्टी संगठनले ममााथि गरेको विश्वासमा मैले दृढतासाथ टिक्नुपर्नेछ । मेरो सफलता र असफलता त्यसैले निर्धारण गर्छ । अहिले त भर्खर सुरु भएको छ जिम्मेवारीको यात्रा । धेरै गर्नु छ ।’
माननीयको उत्तर कोरा आदर्श र औपचारिक भाषण जस्ता लाग्छन् तर आँखामा हेर्छु एक निर्दोष बालिकाका जस्ता उनका आँखा द्रवित पो छन् त । साँच्चै गम्भीर भएर उनी अनुभव सुनाइरहेकी छन्, ‘अछामको हाल तुर्माखाँद गाउँपालिका साविक भुलु गाविसमा पर्ने ताँदी भन्ने ठाउँमा पुग्न मलाई दश घण्टा पैदल हिँड्नुप¥यो । त्यहाँ पुग्दा थाहा भयो आजसम्म त्यस ठाउँमा कुनै दलका नेता कहिल्यै पुगेकै पो रहेन छन् । आज पनि त्यति विकट ठाउँ छन् हाम्रै जिल्लामा मैले सोचेकी थिइन् । विद्यालय छैन । खानेपानी छैन । डोकामा बोकेर अस्पताल लैजाँदै गर्दा कति बिरामी बाटैमा ज्यान गुमाउँछन् । कति गर्भवती महिला अस्पताल लैजादै गर्दा बाटैमा सुत्केरी हुन्छन् । सर्पले टोकेर कतिको ज्यान जान्छ । कसैलाई अत्तोपत्तो छैन । गैरसरकारी संस्थाहरूले पनि छाउपडी, एचआईभी जस्ता केही बिकाउ विषयहरूमा रिपोर्ट बनाएर जागिर खाएका छन् जनताको वास्तविक जीवनस्तर माथि उठाउनका लागि त इमान्दारीपूर्वक धेरै काम गर्नुपर्नेछ ।
गरिबी निवारण नारामा सीमित छ । त्यसमा केही ठोस काम गर्न सकुँ, सामुदायिक स्वास्थ्यमा केही ठोस काम गर्नु पर्नेछ । बेरोजगारी समस्या त्यस्तै छ । महिला, दलित र विपन्नका समस्या विकराल छन् । कति गर्न सक्छु हेरौं । त्यसो त हाम्रो पार्टी अहिले प्रतिपक्षमा छ । तैपनि इमान्दारी पूर्वक स्थानीय समस्याहरू र आवश्यकता सम्बोधन हुने गरी सबै विषयगत मन्त्रालयहरूमा योजनाहरूको माग व्यक्तिगत तर्फबाट र पार्टीका तर्फबाट पनि बुभाएकी छु । कति पर्छन् त्यो छ सरकारले ल्याउने कार्यक्रम आएपछि थाहा होला ।’
माननीयसित अनौपचारिक कुरा गर्दागर्दै सामाजिक राजनीतिक विषय नै पो प्रधान बन्न पुग्यो त । उनको कामै त्यस्तै भूमिकै त्यस्तै भएर होला । केही घण्टा विगतको स्मृति, केही घण्टा गाउँका गन्थन र केही अन्तरङ्ग कुराकानीले भावनात्मक निकटता महशुस भएपछि मैले सोधेँ, ‘सधैं देश र समाजकै मात्र चिन्ता गर्ने कि विवाह गर्ने उमेर पनि भएन र अब त, त्यसबारे कैले सोच्ने ?’
उमेरले सत्ताइस वर्षमा टेकेकी सुश्री माननीयले मेरो प्रश्नलाई बेढङ्गको प्रश्न सावित गर्दै नहाँसिकन भनिन्, ‘मैले धेरै पटक फेस गरिसकेको प्रश्न हो यो । अचम्म लाग्छ किन सोधिन्छ ? के मेरो ठाउँमा कुनै अविवाहित पुरुष माननीय भएको भए पनि यही प्रश्न यसैगरि सोधिन्थ्यो होला ? मलाई त यस प्रश्नमै पनि लैंगिक हिंसाको मानसिक छाया सल्बलाएझैं पो लाग्छ ।’
यति भनिसकेपछि हल्का हाँसेर माननीयले भनिन्, ‘उमेर हुन लाग्यो होला । आफूसँगैका साथीहरूले एसएलसी पास नगर्दै बिहे गरेर दुई–तीन छोराछोरीका आमा भइसकेका पनि छन् । तर अरु नै काम धेरै छन् अहिले विवाह प्राथमिकताको क्रममा समावेश गरेकी छैन ।’
कक्षा ८ उत्तीर्ण गरेपछि गाउँमा बालशिक्षाको कक्षामा पढाउँदै र आफू पढ्दै गरिन् उनले । भाइबहिनीहरूको पढाइ, आप्mनो पढाइ, घरको काम सबैमा उनी कहिले भाइबहिनीको अभिभावक बनिन्, कहिले निरक्षर आमाको आधार र धेरै त आप्mनो अभिभावक आफैं बनिन् । कक्षा १२ सम्म गाउँकै स्कुलबाट उत्तीर्ण गरिन् । त्यसपछि पनि सहरका उम्दाकोटि नाम चलेका कलेज पढ्ने उपाय थिएन । अछाम क्याम्पसमा स्नातक तहमा भर्ना त भइन् तर मंगलसेन बस्न पनि उपाय थिएन । केही महिना एक गैरसरकारी संस्थामा काम पनि गरिन् तर पार्टीको काम र अध्ययनमा त्यसले सहयोगभन्दा बाधा बढी भएपछि त्यो पनि छाडिन् ।
अम्बिका थापालाई नेपाली काङ्ग्रेसले प्रदेशसभा सदस्यमा उम्मेद्वार बनाएदेखि नै कताकता उनको विजयको कामना गरिरहेको थियो मेरो मनले । उनको पार्टी, विचार, सिद्धान्त वा संगठन कुनै कुरासँग पनि मेरो कुनै सरोकार थिएन यद्यपि मैले उनको विजयका लागि अन्तःब्रह्मदेखि नै प्रार्थना गरिरहेको थिएँ । त्यसको एउटै कारण थियो उनी गैर मुखिया परिवारकी सदस्य हुनु । अर्को शब्दमा भनुँ उनीसित वर्गीय समानताका कारण अपनत्व महसुस भएको थियो । गाउँमा तीन जना मुखिया परिवार थिए । तिनले कांग्रेस, राप्रपा र एमाले गरी एकएक पार्टी ओगटेका थिए । जुन पार्टीले अध्यक्ष जिते पनि मुखियाकै छोराले जित्ने निश्चित हुन्थ्यो । यसपटक कांग्रेसबाट माननीय चुनिएकी अम्बिका थापाले त्यो परम्परा तोडेकी छन् । भुइ मान्छेकी मायाले माननीय बनेकी उनलाई राजनीतिक यात्राको थप उचाइको शुभकामना ।