विवाहको आश्वासन दिएर हत्या

चार महिनापछि हत्या आरोपी पक्राउ

सुर्खेत, २ वैशाख ।
गत वैशाख २८ गते साथीमार्फत् उनीहरूको चिनजान भयो । साथीमार्फत् चिनजान भएपछि पञ्चपुरी नगरपालिका–२ सालकोटकी गीता चपाईं र बराहताल–८ कुनाथरीका सुवास बोहराबीच फोन सम्पर्क हुन थाल्यो ।
दैनिक जसो फोनमा भएका कुराकै भरमा उनीहरूबीच प्रेम झाँगिदै गयो । एकअर्काबीच माया बसेपछि दुवै जनाले मञ्जुरीमा गत असार ६ गते सालकोटको पलैटेमा भेट गरे । दुई पटकको भेट र फोनमा भएको कुराकानी तेस्रो पटकदेखि शारीरिक सम्पर्कमा परिणत भयो । यसरी आफूले पूर्ण विश्वास गरेर प्रेम गरेकै व्यक्तिले कुनै दिन आफ्नै हत्या गर्ला भनेर गीताले कल्पनासम्म गरेकी थिइनन् । तर भइदियो त्यही । गत पुस ४ गते बोहोराले गीताको हत्या गरेको रहस्य खुलेको छ ।
गीताको हत्यापछि फरार रहेका बोहरालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत चैत २८ गते पक्राउ गरेको छ । पञ्चपुरीकै जामुने वनमा गत माघ ९ गते गीताको टाउँकोको कंकाल फेला पारेको प्रहरीले लामो अनुसन्धान पश्चात अभियुक्त बोहरालाई भुम्ती गाउँपालिका–४ काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको हो । झण्डै चार महिनापछि पक्राउ परेका अभियुक्त बोहरालाई प्रहरीले आइतवार सार्वजनिक गरेको छ । काभ्रेपलाञ्चौक पुगेर लुकीछिपी मजदुरी गर्दै आएका १९ वर्षीय बोहरालाई नियन्त्रणपछि थालिएको प्रारम्भिक अनुसन्धानका क्रममा मानसिक दबाबमा परी योजनबद्ध तरिकाले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
यस्तो छ घटना विवरण
प्रहरीका अनुसार साथीमार्फत् भएको चिनजानपछि उनीहरूले पटक–पटक भेट गरे । भेटका क्रममा उनीहरूबीच शारीरिक सम्पर्क हुन पुग्यो । विवाह हुनु पहिले नै गर्भ रहेपछि गीताले सुवाससँग विवाहको प्रस्ताव गरिन् । गीताको आग्रहलाई बोहराले भने स्वीकार गरेनन् । विवाह नगरेको खण्डमा जबरजस्ती घरमा आएर आत्महत्या गर्ने धम्की गीताले दिएपछि बोहोराले गत पुस ४ गते भेटे । भेटका क्रममा उनीहरूबीच विवाहको विषयमा विवाद भयो । विवाद बढ्दै गएपछि बोहोराले गीतालाई विवाह गर्छु भनि आश्वास दिए । विवाह गर्ने आश्वासन दिएर लिएर गएका बोहोराले जामुने जंगलमा गीतालाई भीरबाट धकेलिदिएको वयान प्रहरी समक्ष दिएका छन् । ‘आजै विवाह गरौं’ भनि आश्वासन दिएर सालकोट पलैटेदेखि हिँडेका बोहोराले योजनाबद्ध रूपमा भीरबाट धककेलेर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए । ‘पलैटेबाट बोहराले पञ्चपुरी–८ दुलालथाई छेमाको घर जाउँ भन्दै लिएको अनुसन्धानका क्रममा बताएको छ’ एसपी चतुर्वेदीले भने, ‘गीताले दुलालथाई जान अस्वीकार गरेपछि बावियाचौर हिँडेका बोहराले जामुने जंगलमा लिएर हत्या गरेको देखिएको छ ।’
ग्रीनपार्क एकेडेमी, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय हुँदै जामुने जंगल पुगेका बोहोराले घाँटी थिची खोल्सामा फालेको प्रहरीले जनाएको छ । ‘गीताले लगाएको चप्पल र कपालमा लगाउने काँठा भीरमाथि नै पाइयो’ एसपी चतुर्वेदीले भने, ‘त्यसकारण धकेलेर भन्दा पनि हत्यापछि फालिएको हुनसक्छ । हालसम्म टाउँको कंकड मात्रै भेटिएकाले हत्या कसरी भयो भन्नेबारेमा अनुसन्धान गर्न चुनौती बनेको छ ।’ उनका अनुसार हत्यापछि गीताको सामसुङ फोनसहित हिँडेर घर पुगेका बोहरा पुस पाँच गते वीरेन्द्रनगर आएका थिए । हत्यापछि सुरक्षित स्थाल खोजी पाँच गते नै उनी काठमाडौं गएको अनुसन्धानका क्रममा खुलेको छ । कल डिटेल अनुसार फोन र फेसबुक म्यासेन्जरमा भएका कुराकानी अनुसार अनुसन्धान गर्दै जाँदा बोहोरा पक्राउ परेका हुन् । उनीसँग गीताको फोन फेला परेको उनले बताए । ‘अनुसन्धानका क्रममा फोन डिटेल हेर्दा नयाँ नम्बरबाट ३७ सेकेण्ड फोन गरेको पाइयो’ एसपी चतुर्वेदीले भने, ‘फेसबुकमा च्याट गर्दा भेटौंन, केही गर्दिन जस्ता कुराकानी भएको छ, हत्या उसले (सुवास) नै गरेको हो ।’ हत्या अभियोगमा पक्राउ परेका सुवासमाथि कर्तव्य ज्यान शीर्षकमा जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ । अदालतबाट म्याद थप गरी अनुसन्धान पक्रिया सुरु भएको छ ।

प्रकाशित मितिः   ३ बैशाख २०७५, सोमबार १५:२५