‘कर्णालीको विकास यात्रा सुरु’
सुर्खेत, २ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश भ्रमणसँगै विकास यात्रा आरम्भ भएको बताएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालयको भवन निरीक्षण गर्दै उनले सबैभन्दा गरीब प्रदेशको समृद्धि र विकास सुरु भएको बताए । ‘आर्थिक विकास र मानव विकास सूचकांकको दृष्टिकोणले कर्णाली प्रदेश कमजोर छ’ उनले भने, ‘अब हामी कसरी अगाडि बढाउने भन्ने बारेमा केन्द्र र प्रदेश सरकारले सोचिरहेको छ, हामी हिजोकै अवस्थामा रहनु हुँदैन । हामी विकास यात्रामा अघि बढ्यौं–बढ्यौं ।’
कर्णाली प्रदेश सरकारले पर्यटन वर्ष सुरु गर्नु नै विकासको यात्रा शुभारम्भ भएको उनले बताए । यो प्रदेश दक्षिणको छिमेकीसँग सीमा नजोडिएकाले उत्तरी नाका सञ्चालन गर्नु आवश्यक छ’ उनले भने, ‘यहाँको कृषि उत्पादन वृद्धि, जडिबुटी प्रशोधन, वितरण र प्रयोग जस्ता कुरामा ध्यान दिनुपनर्छ ।’ यातायात र सम्पर्क माध्यमसँग यहाँका सम्भावनाको विकास र सदुपयोग गर्नुपर्ने बताए । कर्णालीको समग्र विकासका लागि यहाँको बस्ती आधुनिक ढङ्गले विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको विकट भूगोलका कारण अहिलेकै अवस्थामा सबै जनतालाई विकासका पूर्वाधार पु¥याउन मुस्किल भएकोले आधुनिक ढङ्गले बस्ती विस्तार गर्नुपर्ने बताएका हुन् । ‘कर्णाली आर्थिक र मानव विकास सूचकांकका दृष्टिले पछाडि परेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर सरकारले यस प्रदेशलाई कसरी अगाडि बढाउने भन्ने योजना बनाइरहेको छ ।’ कर्णाली प्रदेशको सीमाना दक्षिणी छिमेकीसँग नजोडिएकोले उत्तरी छिमेकसँग जोडिएका सबै नाका खोल्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कर्णाली प्रदेश दक्षिणी मित्रराष्ट्रसँग जोडिएको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण उत्तरी छिमेकीसँगका नाका खोल्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशलाई विषादीमुक्त प्रदेश बनाउन सकिने बताए । अन्य प्रदेशमा यस्तो सम्भावना कम भए पनि कर्णाली प्रदेशमा यस्तो सम्भावना रहेको बताए ।
‘कर्णाली प्रदेशलाई विषादीमुक्त बनाउने हाम्रो योजना छ,’ प्रधानमन्त्री ओलीले भने । कर्णालीलाई यातायात, सञ्चार, स्वास्थ्य, शिक्षा सबै प्रकारले देशको मूलधारमा जोडिने प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशबाटै समृद्धिको यात्रा सुरु गरिने स्पष्ट पारे । आफ्नो तीन दिने कर्णाली भ्रमणका क्रममा यहाँको भूगोल, जनजीवन, सम्भावना, चुनौती आदि पक्षका बारेमा प्रत्येक्ष जानकारी लिन पाएको बताए । ‘समृद्ध कर्णाली बनाउन जनप्रतिनिधिहरूले अगुवाइ गर्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘यहाँको कृषि, जडिबुटी, पर्यटन, ऊर्जालाई प्रयोग गरेर समृद्धिको यात्रालाई अघि बढाउनुपर्दछ ।’
मध्यपश्चिम विश्वविद्यालयका कूलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयलाई पाठ्यक्रममा ७० प्रतिशतभन्दा बढी प्राविधिक जनशक्ति उत्पादन गरी समायोजन गर्न सुझाव दिएका छन् । कार्यक्रममा रक्षामन्त्री ईश्वर पोख्रेल, विश्वविद्यालका सहकुलपति एवम् शिक्षा मन्त्री गिरीराजमणि पोख्रेल, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी लगायतको उपस्थिति थियो ।
साझा बिसौनी ।