विकासको चर्चा र पर्यटन

भक्तबहादुर खड्का
नेपालको विकासमा टेवा पु¥याउनसक्ने सम्भावित विभिन्न क्षेत्रको चर्चा चल्दा प्रायः सबैले पर्यटनको विकास गर्नुपर्ने कुरामा जोड दिने गरेको पाइन्छ । गत वर्ष सम्पन्न भएको स्थानीय तहको निर्वाचन र यसै वर्ष सम्पन्न प्रदेश तथा केन्द्रीय संसदको निर्वाचनमा पनि सबै राजनैतिक दलहरूले नागरिक सामु गरेका वाचाहरूमा पर्यटनको विकास गरी समृद्धि हासिल गर्ने कुरा छुटेको थिएन । अहिले निर्वाचन सम्पन्न भएर सबै तहका सरकारहरूले काम सुरु गरिसकेका छन् र केही गाउँपालिका तथा नगरपालिकाले पर्यटन विकासका लागि होमस्टे लगायतका शीर्षकमा बजेटको व्यवस्था गरेको कुरा पनि समाचारमा आएको छ । भर्खरै गठन भएका प्रदेश सरकारहरूले पनि समृद्धिको एउटा प्रमुख आधार पर्यटन क्षेत्रलाई मानेर यसको विकासका लागि काम गर्ने घोषणा गरेका छन् । यसै सन्दर्भमा महŒवपूर्ण निर्णय गर्दै कर्णाली प्रदेश सरकारले २०७५ वैशाख १ गते देखि रारा कर्णाली महोत्सव आयोजना गरेर वर्षैभरी पर्यटन विकासका विविध गतिविधिहरू सञ्चालन गर्ने कार्यक्रम अघिसारेको छ ।


पर्यटनको कुरा हुँदा विभिन्न व्यक्ति, संस्था र स्थानीय सरकारहरुले आ–आफ्नो ठाउँलाई प्राकृतिक, सांस्कृतिक, धार्मिक आदि दृष्टिकोणले महŒवपूर्ण भएकोले पर्यटन विकासको पर्याप्त सम्भावना भएको भनि चर्चा गर्ने गरेको पनि पाइन्छ । पर्यटकको पर्खाइमा फलानो ताल वा गुफा भन्ने शीर्षकमा लेखहरू पनि समय–समयमा आइरहेका हुन्छन् । आफ्ना लागि त हामी सबैको गाउँठाउँ र त्यहाँका ताल तलैया, खोला खोल्सा, थुम टाकुरा, मठ मन्दिर, चार्डवाड, रहन–सहन आदि सबै पक्ष अत्यन्त राम्रा र पर्यटकीय महŒवका लाग्नु स्वाभाविकै हो । तर अहिलेको व्यस्त जीवनशैलीबाट समय निकालेर पैसा खर्च गर्न बाहिरबाट मानिसहरू किन हाम्रा गाउँठाउँमा आउलान् र उनीहरू यहाँ कति दिन बिताएर केमा पैसा खर्च गर्लान् र त्यसबाट हामीले कसरी फाइदा लिन सकौंला भन्ने कुरा विचार गर्नु भने महŒवपूर्ण हुन आउँछ । यदी यसतर्फ विचार नगर्ने हो र पर्यटक आकर्षित हुनसक्ने विविध पक्षको विकासलाई योजनाबद्ध ढङ्गले अघि नबढाउने हो भने ‘हाम्रो ठाउँ कति राम्रो’ भनेर आत्मरतिमा रमाउनु बाहेक पर्यटन क्षेत्रबाट कुनै पनि स्थानका मानिस वा त्यहाँको सरकारले फाइदा लिनसक्ने अवस्था हुँदैन । यातायातको सुविधालाई पर्यटन क्षेत्रको विकासका लागि सबैभन्दा महŒवपूर्ण र आधारभूत पूर्वाधार मान्न सकिन्छ । घुमेर आनन्द लिन चाहने कुनै पनि मानिस कष्टपूर्ण र जोखिमयुक्त यात्रा गर्न चाहँदैन । साहसिक पर्यटनको पाटो अर्कै हो । कर्णाली प्रदेशकै कुरा गर्ने हो भने पनि यहाँका रारा र शे–फोक्सुण्डो तालहरू स्वदेशी र विदेशी पर्यटकका लागि अत्यन्त रमणीय आकर्षणका केन्द्र मानिन्छन् । त्यसैगरी हिमालका पाटनहरू, नदी नाला र ऐतिहासिक र धार्मिक पञ्चकोशी क्षेत्र, काँक्रेबिहार लगायतका धेरै पर्यटकीय स्थलहरूले पर्यटक आकर्षण गर्न सक्दछन् । तर सहज र सुगम यातायातको व्यवस्था हुन नसकेका कारण यस्ता अधिकांश स्थानहरू पर्यटकका लागि दुर्गम हुन गएकाछन् । गाडी रिजर्भ गरेर गत दशैंमा काठमाडौंदेखि रारा गएर आएका एकजना आफन्तले राराको सुन्दरताले फेरि पनि आउन मन लागेको तर अब गाडीमा भने नआउने कुरा सुनाएका थिए । उनका भनाइबाट यदी कर्णाली राजमार्गको अवस्था यस्तै रहने हो भने पर्यटनबाट हामीले लिनसक्ने फाइदाको क्षेत्र कति संकुचित हुने रहेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ । नेपालगन्जदेखि हवाई जहाजमा सोझै गएर राराको दर्शन गरी फर्कने स्वदेशी वा विदेशी जतिसुकै पर्यटक आए पनि त्यसले यस प्रदेशका सुर्खेतदेखि मुगुसम्मका जनताले लिनसक्ने कुनै फाइदा लिन सक्दैनन् ।
सहज र रमाइलो यात्राका लागि यातायातको राम्रो व्यवस्थाका साथै सम्बन्धित पर्यटकीय स्थलमा आवश्यक अन्य भौतिक सुविधाको विकास नभइ पर्यटकलाई त्यहाँ धेरै बेर टिकाइराख्न सकिदैंन । राराको मनमोहक दृश्य देखेर आहा ! भन्ने पर्यटकलाई त्यहाँ केही दिन बसेर पैसा खर्च गर्न लगाउनका लागि सुविधा सम्पन्न होटल र वरपरको अन्य प्राकृतिक दृश्यावलोकनको व्यवस्था मिलाउन पनि जरुरी हुन्छ । त्यसैगरी सुर्खेतको बुलबुले र दैलेखको पञ्चकोशीलाई यस प्रदेशको साँच्चिकै पर्यटकीय स्थलको रूपमा विकास गर्ने हो भने त्यहाँको योजनाबद्ध भौतिक पूर्वाधारको विकास नभइ त्यो सम्भव छैन । कलाकारहरूका गीतको माध्यमले प्रचारको शिखरमा पुगेको बुलबुलेमा रारा जस्तो प्रकृतिले नै बनाइदिएको बाहिरका मानिसहरूले हेर्नकै लागि आउनुपर्ने केही चिज छैन । बुलबुलेलाई पर्यटकीय स्थल बनाउनका लागि हाल तारवार भइरहेको सम्पूर्ण क्षेत्रलाई समेटेर उद्यान विकासको नक्सा बनाई सोही अनुसार योजनाबद्ध निर्माण कार्य अगाडि बढाउनु आवश्यक छ । यसमा यहाँको हावापानीमा हुर्कने सक्ने स्वदेशी र विदेशी विभिन्न किसिमका फूलहरूका बगैंचाहरू बनाउने, पानीका फोहराहरू निर्माण गर्ने, विभिन्न जातका बुट्यानहरूलाई आकर्षक मोडलमा काँटछाँट गर्ने, बार हुने बिरुवाहरू (हेज) लाई आकर्षक मोडलमा लगाउने, बालबालिकाका लागि मनोरञ्जन स्थल बनाउने आदि कामहरू गर्न सकिन्छ । भरखरै सुर्खेत उपत्यका नगर विकास समितिले बुलबुलेको विकासका लागि गुरुयोजना निर्माण गरी सार्वजनिक गरेको समाचार आएको छ । यसप्रकारका योजनाको सफल कार्यान्वयन भयो भने मात्र बाहिर जिल्लाबाट आउने मानिसहरू दिनभरी बुलबुले, काँक्रेविहार, लाटीकोइली र गोठीकाँडासम्म घुमेर एक रात सुर्खेतका होटलमा बिताउने वातावरण बन्नेछ ।
यस प्रदेशको अर्को महŒवपूर्ण पर्यटकीय स्थलको रूपमा परिचित दैलेख जिल्लाको पञ्चकोशी तीर्थस्थलको पनि भौतिक अवस्था अहिले अत्यन्त नाजुक छ । स्कन्द पुराणको हिमवत् खण्ड, वैश्वानर पुराण र ज्वाला पुराणमा महŒव वर्णन गरिएको पंचकोशी क्षेत्र धार्मिक मात्र नभएर ऐतिहासिक र पुरातात्विक दृष्टिले पनि अत्यन्त महŒवपूर्ण छ । कुनै बेला कुमाउँ गढवाल, पश्चिमी तिब्बत र गण्डकी प्रदेशसम्मको विस्तृत भू–भागमा फैलिएको र काठमाडौं उपत्यकामा तीन पटकसम्म हमला गरेको शक्तिशाली खस साम्राज्यको शीतकालीन राजधानी रहेको दुल्लू र यसकै वरपर रहेको पञ्चकोशी क्षेत्रमा ऐतिहासिक महŒवका भवन, मठ मन्दिर, मूर्ति, देवल, मंग्राहा (ढुङ्गेधारा), नाउली, खम्बा (वीर स्तम्भ), शिलालेखहरू प्रशस्त रहेका छन् । नेपालको मध्यकालीन इतिहासको प्रमुख स्रोतको रूपमा रहेको र सबैभन्दा लामो शिलालेख कीर्तिखम्ब पनि दुल्लूमा रहेको छ । तर यस्तो महŒवका अनेक संरचनाहरू उपेक्षित अवस्थामा रहेका छन् र तिनीहरूको संरक्षण र जिर्णोद्वार हुन सकेको छैन । पञ्चकोशी तीर्थयात्राको एक महŒवपूर्ण स्थल नाभिस्थानमा रहेको इन्द्रज्वाला मन्दिरको पेटीसम्मको जग्गालाई व्यक्तिगत बनाइएको छ भने त्यहाँका ऐतिहासिक भवनहरूको जिर्णोद्वार हुनसकेको छैन । मन्दिर परिसरमा समुदाय विशेषको समाधिस्थल बनाउने, सिमेन्ट प्रयोग गरेर जथाभावी भवन बनाउने र मन्दिर परिसरमा पशु चराउने जस्ता कार्यले त्यहाँको स्वरूप नै विकृत बनाएको छ । पादुका लगायत अन्य स्थानको अवस्था पनि त्यस्तै रहेको छ । पञ्चकोशी तीर्थयात्रा सुरु गर्नुपर्ने दुल्लूको सिद्धस्थलीदेखि यात्राको समापन हुने मालिका भगवतीको मन्दिरसम्मका ११ दिन घुमेर पूजा, पाठ, हवन, तर्पण जस्ता कार्यहरू गर्नुपर्ने वर्णन गरिएका कुनै पनि स्थानमा यात्रीहरूको बसोबासको उचित व्यवस्था छैन भने पादुका, धुलेश्वर, नाभिस्थान, शिरस्थान, कोटिला, डुङ्गेश्वर जस्ता मठहरूमा बाहेक अन्यत्र पूजाआजा गर्ने स्थलकै अभाव छ । कच्ची मोटर बाटो पुगिसकेका शिरस्थान र नाभिस्थान पुगेर फर्केका तीर्थयात्री र पर्यटकहरू ज्वालाजीको दर्शन पाएकोमा खुशी देखिन्छन् भने त्यहाँको भौतिक अवस्था र व्यवस्थापन देखेर दुखित भएको अनुभव सुनाउँछन् । प्रशस्त स्वदेशी र भारतीय धार्मिक पर्यटक र नेपालको मध्यकालीन इतिहास र पुरात्वमा रुचि राख्नेहरूलाई भिœयाउन सक्ने सम्भावना भएको क्षेत्रमा योजनाबद्ध भौतिक विकास नगर्ने हो भने यहाँको पर्यटन विकासको सपना पूरा हुने देखिदैंन ।
पर्यटन विकासमा प्रचार–प्रसारको पनि महŒवपूर्ण भूमिका रहेको हुन्छ । विज्ञापन कलाले कसरी मानिसलाई आकर्षित गर्छ भन्ने कुरामा आफ्नो एउटा सानो अनुभव यहाँ सान्दर्भिक हुने देखेको छु । जिल्ला शिक्षा कार्यालय बर्दियाबाट भारतका केही स्थानको शैक्षिक भ्रमण गर्न जाने शिलशिलामा केही वर्षअघि २० जनाको टोलीमा सामेल भएर उत्तराखण्ड राज्यको मसुरी पुग्दा टोलीका एकजना मित्रले त्यहाँ क्याम्टी फल्स हेर्न जानुपर्ने प्रस्ताव राखे । उनले कुनै भारतीय टेलिभिजन च्यानलमा त्यसको विज्ञापन देखेका कारण प्रस्ताव गरेकोले दुईवटा जीप रिजर्ब गरेर हामी त्यहाँ गएका थियौं । मसुरी सहरदेखि उत्तरपट्टीको पाखामा तल एउटा सानो खोलाको खोंचमा करिब १५ फिट जति अग्लो पानीको सानो छहरो रहेछ । त्यहाँ पुगेपछि सबैलाई लाग्यो यस्ता छहरा त नेपालका गाउँ–गाउँका खोला खोल्सामा कति होलान् कति ! हामीहरूलाई बेकारमा दुई हजार भारु खर्च गरियो जस्तो लाग्यो । तर त्यो छहरोले मात्र जीप चलाउने, रेष्टुराँ चलाउने र गढवाली ड्रेस लगाएर फोटो खिचाउने जस्ता काममा धेरैलाई रोजगारी दिएको भने हाम्रा लागि रोचक थियो । माथि चर्चा गरिएका यस कर्णाली प्रदेशका प्राकृतिक, धार्मिक, ऐतिहासिक र केही सांस्कृतिक परम्पराहरूको राम्रो चित्रण हुने गरी विज्ञापन बनाएर त्यसलाई स्वदेशी तथा छिमेकी देश भारतका नागरिकहरूको पहुँचमा पु¥याचउन सकेमा धेरै पर्यटक भिœयाउन सकिने सम्भावना हुन्छ । अहिले बाहिर जिल्लाका मानिसहरू पञ्चकोशीकै भ्रमण गर्न नभए पनि शिरस्थान र नाभिस्थान पुगेर ज्वालाजीको दर्शन गर्न जानेहरूको संख्या विस्तारै बढ्दै गएको छ । यसलाई व्यवस्थित प्रचार–प्रसार गर्ने हो र सुर्खेतदेखि दैलेख बजार हुँदै दुल्लूसम्म घुमेर फर्कने ठाउँहरू समेटेर ३ र ४ दिनको प्याकेज बनाउने हो भने स्वदेशी र उत्तर भारतका धार्मिक पर्यटकहरूलाई भिœयाउन सकिन्छ ।
पर्यटक भिœयाउन र उनीहरूको बसाइँ लम्ब्याउन मानिसहरूको व्यवहार पनि राम्रो हुनुपर्दछ । हाम्रा कतिपय गाउँ ठाउँहरूमा मानिसहरुले जाँडरक्सी खाएर हो–हल्ला गर्ने, बाहिरका मानिसलाई ठग्न खोज्ने, केटी मान्छे देखे जिस्काउने जस्ता असामाजिक र अभद्र व्यवहार गर्ने प्रचलन पनि रहेको पाइन्छ । ठाउँ जतिसुकै राम्रो भए पनि मानिसहरूको व्यवहार शिष्ट, सहयोगी र सहृदयी नभइकन पर्यटनको विकास हुन सक्दैन । अझ भर्खर मात्रै बाहिरका मानिसहरु घुमघामका लागि आउन थालेका स्थानहरुमा त यस प्रति सबैले सजग र संवेदनशील हुनुपर्ने आवश्यकता देखिन्छ । कुनै एक जना मात्र मानिसले घुमफिरमा आएका एकजना मात्र मानिससँग अशिष्ट व्यवहार गर्यो भने पनि त्यो ठाउँको नकारात्मक संदेश फैलिन सक्दछ । त्यसैले यो विषय शान्ति सुरक्षासँग पनि सम्बन्धित हुन आउँछ । पर्यटन क्षेत्रको विकासमा मानिसको व्यवहारले पार्ने असर बारे नेपाल पर्यटन वर्ष २०११ की पर्यटनदुत प्रख्यात गायिका आनी छोइङ डोल्माको भनाइ मननयोग्य छ । नेपाल सरकारले पर्यटनदुत घोषणा गरेपछि एक प्रसङ्गमा उनले भनेकि थिइन ‘ठाउँ मात्रै राम्रो भएर हुँदैन मान्छे राम्रो हुनुपर्छ । राम्रो व्यवहार गरे पर्यटक आइरहन्छन् ।’ पर्यटनको विकास गर्ने हो भने सम्बन्धित निकायले पर्यटकसँग प्रत्यक्ष सम्पर्कमा आउने होटल व्यवसायी, प्रहरी, व्यापारी मात्र नभएर सर्वसाधारणलाई समेत यस विषयमा सु–सूचित र सजग बनाउनु आवश्यक हुन्छ ।
कुनै पनि मानिसहरू रमाएर बस्नका लागि वातावरणीय स्वच्छता एक प्रमुख आवश्यकता हो । विभिन्न किसिमका फोहरमैला र धुवाँ धुलोले प्रदुषित वातावरण भएको ठाउँमा कोही पनि रमाएर बस्न सक्दैन । पर्यटकीय स्थलको सरसफाइले त्यस्ता स्थानमा पर्यटकहरु आकर्षित हुने मात्र नभइ कुनै पनि मानव वस्ती स्वच्छ र सफा भएमा त्यो आफै पर्यटकको आकर्षणको केन्द्र हुन सक्दछ । यसको एउटा ज्वलन्त उदाहरण भारतको मेघालय राज्यको मावल्यान्नाँग भन्ने गाउँ रहेको छ जसलाई सन् २००३ मा एसियाको सबै भन्दा सफा गाउँ घोषित गरिएको थियो । सफाइमा नमुना भएकै कारण यस गाउँमा स्वदेश तथा विदेशबाट पर्यटकहरू घुम्न आउने गरेका छन् । त्यहाँ कसैले पनि कुनै प्रकारको फोहर बाटोमा फाल्दैन र फोहर देखिएमा पनि तुरुन्तै मानिसले त्यसलाई उठाएर फोहर फाल्ने भाँडोमा हालिहाल्छन् । अहिलेको पाँच नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल हेटौंडा नगरपालिकाको प्रमुख हुँदा हेटौंडा सहर पनि अत्यन्त सफा थियो । तर हामी कहाँ त धेरैजसो सफाइलाई जनजीवनको अभिन्न अङ्ग बनाउने पद्धतिको विकास गर्नुभन्दा पनि राष्ट्रिय पर्वहरूमा सरकारी हाकिम र जनप्रतिनिधिहरू कुचो समातेर बजारमा हाँस्यास्पद नाटक मञ्चन गर्न लागेको दृश्य देखिन्छ । यही कुनै गाउँपालिका वा नगरपालिकाको वडाले मात्र पनि युवाहरुलाई स्वयम्सेवीको रूपमा परिचालित गरेर सबै मानिसले विस्कुट, चाउचाउ, गुट्खा, खैनी आदि चिजहरूका खोस्टा र पानीका बोतल लगायत सबै प्लास्टिकजन्य फोहरहरू जथाभावी नफाली आफैसँग राखेर निश्चित ठाउँमा जम्मा गर्ने पद्धतिको विकास मात्र गर्न सक्ने हो भने पनि यसले वातावरण सफाइ र पर्यटन विकासमा पनि सहयोग हुन सक्दछ । कर्णाली प्रदेशको पर्यटन विकासका लागि प्रदेश सरकारद्वारा यहीं वैशाख १ गतेदेखि सञ्चालन गरेको रारा कर्णाली पर्यटन महोत्सव यस प्रदेशको पर्यटन उद्योगका लागि महŒवपूर्ण अवसर हो । यस अवसरमा प्रदेशको पर्यटन विकासका लागि सरकारले महŒवपूर्ण योजना र कार्यक्रमहरू सञ्चालन गर्नेछ आशा गर्न सकिन्छ । यस कार्यलाई सम्बन्धित सबैको सहयोग, समर्थन र राय सुझावमा अघि बढाएमा कर्णाली प्रदेशको समृद्धिको एउटा प्रमुख आधार पर्यटन क्षेत्र हुन सक्दछ ।