‘कर्णालीलाई पैसाको कमी हुन दिन्न’

कर्णाली–रारा पर्यटन वर्ष सुभारम्भ, सबै जिल्लामा सडक र हवाई सेवा

सुर्खेत, १ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशबाट मुलुकको समृद्धिको सुरुवात भएको उद्घोष गरेका छन् । कर्णाली–रारा पर्यटन वर्ष २०७५ को सुभारम्भ गर्दै ओलीले समृद्ध मुलुक बनाउने महाअभियानको सुरुवात नयाँ वर्षसँगै कर्णालीबाट सुरु भएको बताएका हुन् ।


शनिवार मुगुको राराबाट उनले पर्यटन वर्षको औपचारिक उद्घाटन गरेका हुन् । सोही क्रममा ओलीले कर्णाली प्रदेश समृद्धिका यात्रामा अगाडि बढिसकेको बताउँदै केन्द्रीय सरकारले पनि कर्णालीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । उनले कर्णालीका सम्भावनाहरूलाई उपयोग गरेर समग्र नेपाललाई नै समृद्ध बनाउन सकिने जिकिर गरे ।
कर्णालीको समृद्धिका लागि केन्द्र सरकारले भरपुर सहयोग गर्ने भन्दै उनले योजना ल्याएर आउन प्रदेश सरकारलाई आग्रह गरे । ‘पैशाको अभाव हुदैन्’ प्रधानमन्त्री ओलीले भने, ‘यहाँका सम्भावना अनुसारको योजना लिएर आउनुहोस्, केन्द्र सरकार कर्णालीलाई नमुना प्रदेश बनाउन तयार छ ।’ ओलीले कर्णालीका सबै जिल्लामा सडक विस्तार गर्ने, भएका सडकको स्तरोन्नति गर्ने, उत्तरी नाका सञ्चालन गर्न केन्द्र सरकारले नै पहल गर्ने र प्रदेश राजधानीदेखि प्रत्येक जिल्लामा हवाई सेवा सञ्चालन गर्ने आश्वासन समेत दिए ।
प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट कर्णाली प्रदेशका हरेक जिल्लालाई हवाई सेवाले जोड्ने बताउँदै उनले विमानले सेवा दिन नसकिने ठाउँमा हेलिकप्टरबाटै भए पनि सेवा दिने दावी गरे । प्रधानमन्त्री ओलिले रारा आइपुग्ने बाटोको स्तरोन्नतिसँगै नयाँ पदमार्ग र साइकल लेन विकास गरिने बताए । साथै कर्णाली प्रदेशबाट चीनतर्फका सबै नाका खोलिने पनि उनले जानकारी दिए ।
यसैबीच पर्यटन वर्षको उद्घाटन गर्नुअघि रारा किनारबाट देशवासीको नाममा सम्बोधन गर्दै ओलीले इतिहासले आफूलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको धारणा व्यक्त गरे । प्रधानमन्त्रीले भने, ‘हाम्रा अगाडि समस्या थिए, समाधान गर्नुपर्ने दायित्व थियो । अहिले जनताले तिनै समस्या सम्बोधन गर्ने अख्तियारी हामीलाई दिएका छन् ।’
प्रधानमन्त्रीले २०७४ साल महŒवपूर्ण राजनीतिक उपलब्धिको साल रहेको उल्लेख गर्दै २०७४ सालमै राजनीतिक संक्रमणकालको अन्त्य हुँदै जनपक्षीय, लोकतान्त्रिक, देशभक्त, अग्रगामी तथा विकासप्रेमी सरकार मुलुकले पाएको बताए । उनले तीनै तहको निर्वाचन सम्पन्न भएसँगै संविधान सफल कार्यान्वयनको बाटोमा अघि बढ्दै स्थायित्वको नयाँ चरण आरम्भ भएको पनि बताए । अहिले पनि के नेपाल बन्छ ? के यो सरकारले हाम्रा सपना पूरा गर्छ भन्ने प्रश्न आफूले पटक–पटक सुन्दै आएको बताउँदै भने, ‘नेपाल बन्छ, बनाउनै पर्छ । हो, हरेक चिजको आयु र अवधिको सीमा हुन्छ । मान्छेको ज्ञान र सामथ्र्यको पनि सीमा हुन्छ । तर इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनै निर्धारित आयु छैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन ।’
प्रधानमन्त्रीले नेपाललाई पछाडि पार्ने सामन्तवाद अब इतिहास भइसकेको, पराधीन बनाउने सोचहरू कमजोर भएका र विभाजित गर्ने शक्तिहरू किनारा लागेको उल्लेख गरे । राष्ट्रहरूबीचको सम्बन्धलाई आकार, जनसङ्ख्या र अर्थतन्त्र सानो या ठूलो हुने कुराले होइन, सार्वभौम समानताको विषयले तय गर्ने प्रधानमन्त्रीको भनाइ छ । उनले राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर हाम्रा छिमेकीहरू, सबै मित्र राष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदायसँग घनिष्ट सम्बन्ध विकास गरिने बताए । प्रधानमन्त्रीले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढङ्गले प्रस्तुत हुने बताउँदै यसका लागि आवश्यक कानुनी र संरचनागत सुधार गरिने जानकारी दिए ।
ओलीले शनिवार नै डोल्पाको त्रिपुरासुन्दरी मन्दिर तथा हुम्लाको हिल्सा नाका अवलोकन गर्नुका साथै जुम्ला पुगेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकको समेत अध्यक्षता गरेका थिए ।

प्रकाशित मितिः   २ बैशाख २०७५, आईतवार १५:४५