कैदीसँग सांसदको नयाँ वर्ष

सुर्खेत, १ वैशाख ।
विगतका वर्षहरूमा जस्तै नयाँ वर्ष २०७५ ले पनि जिल्ला कारागार सुर्खेतमा रहेका कैदीहरूलाई कुनै उत्साह पैदा गरिरहेको थिएन । सदा जस्तै उनीहरू आ–आफ्नै काममा व्यस्त देखिन्थे । कोही खाना पकाउन व्यस्त थिए, कोही क्यारेम बोर्ड खेलिरहेका थिए भने कोही पारिलो घाम छल्न त्रिपालमुनी आराम गरिरहेका थिए । जब शनिवार बिहान साढे ११ बजे सांसद नवराज रावत खसी डो¥याउँदै कारागार पुगे तबभने कैदीहरूमा एकाएक हर्ष छायो । उनीहरू सबै सांसद रावतको वरीपरी झुम्मिन आइपुगे ।


नयाँ वर्षको अवसर पारी कैदीबन्दीसँग शुभकामना आदान–प्रदान गर्न खसीसहित सांसद रावत शनिवार कारागार पुगेका हुन् । सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रावतले सुर्खेत कारागारमा पुगेर कैदीहरूसँग नयाँ वर्ष मनाएका छन् ।
नयाँ वर्षको अवसरमा कारागार पुगेका सांसद रावतले विगत आठ वर्षदेखि निर्माण पूरा हुन नसकेको निर्माणधीन भवनको निरीक्षणसमेत गरेका छन् । सांसदसँग कारागारका जेलर लालबहादुर
खत्रीले कारागारका समस्याहरू राखेका थिए । ‘विगत आठ वर्षदेखि कारागार नबन्दा कैदीबन्दी बसाल्ने ठाउँ छैन्’ सांसद रावतलाई स्वागत गर्दै निमित्त जेलर लालबहादुर खत्रीले भने, ‘कैदीबन्दी र जेलका समस्यामा सरकार उदासिन
देखियो । अब हजुरले केही पहल गरिदिनुप¥यो ।’ सांसद रावत कारागार निरीक्षण गर्न आउने जानकारी पाएपछि स्वागतका लागि ढोकामा उभिएका उनले नयाँ वर्षको शुभकामना दिनभन्दा पनि कारागारका समस्या सुनाए । ‘हाम्रा लागि नयाँ वर्ष न पुराना वर्ष’ उनले भने, ‘टिनको छानासमेत छैन, काठले प्रशासन भवनको घामपानी छलेका छौं ।’ दरबन्दी अनुसार कर्मचारी छैनन् । भए पनि बस्ने ठाउँ छैन, कैदीबन्दीका समस्यै–समस्या छन् ।’
विगत आठ वर्षदेखि निर्माणधीन कारागार भवन अधुरै भएपछि सुर्खेत कारागारका कैदीबन्दीलाई बस्न समस्या भएको छ । जेबी कन्ट्रसन काठमाडौंले आर्थिक वर्ष २०६६÷६७ सालमा ठेक्का लिएको थियो । विभिन्न बाहना देखाउँदै निर्माण कम्पनीले छोडेपछि भवन भत्किन थालेको छ । कारागारको नयाँ भवन समयमा निर्माण सम्पन्न नहुँदा क्षमता भन्दा आठ गुण बढी कैदीबन्दीहरू बस्दै आएका छन् । २५ जना क्षमता भएको सुर्खेत कारागारमा हाल १८ जना महिला, तीन जना नाबालक र एक सय ७२ जना पुरुष गरी एक सय ९३ जना कैदीबन्दीहरू रहेको जेलर खत्रीले बताए ।
सांसद रावतले भवन निर्माणमा लापरबाही गर्ने ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याउने
बताए । ‘कारागारका समस्याप्रति म गम्भीर छु’ निरीक्षणका क्रममा उनले भने, ‘भवन निर्माणमा लापरबाही गर्ने कम्पनीमा कानुनी दायरामा ल्याएर भवन निर्माण अगाडी बढ्छ, ढुक्क हुनुहोस् ।’

प्रकाशित मितिः   २ बैशाख २०७५, आईतवार १५:४४