२०७४ः चुनावी वर्ष २०७५ः समृद्धिको आशा..

सुर्खेत, ३० चैत ।
विक्रम संवत २०७४ साल शुक्रवारबाट बिदा भएको छ । महŒवपूर्ण तीन वटा निर्वाचन सम्पन्न गर्नुका साथै संघीय संरचना अनुसार तीन वटै तहका सरकार दिएर २०७४ साल बिदा भएको हो । यो वर्ष मुलुकका लागि उपलब्धिमूलक बन्यो ।

यही वर्ष नेपाली राजनीतिमा महŒवपूर्ण र ठूला उपलब्धिहरू हासिल भएका छन् । २० वर्षसम्म हुन नसकेको स्थानीय निर्वाचन यही वर्ष भयो । स्थानीय मात्र होइन तीनवटै तहको सफल निर्वाचन भएर देशले तीनै (स्थानीय, प्रदेश र केन्द्र) तहमा बलिया सरकार पाएको छ । देश संवैधानिक र शासकीय स्थिरतामा हिँड्ने अवसर पाएको छ । त्यसैले पनि २०७४ साल चुनावी वर्षको रूपमा बिदा हुँदैछ ।
२०७४ को पहिलो महिना वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरण गरेर तीन चरणमा करीब दुई दशकपछि स्थानीय चुनाव सम्पन्न भयो । दुई चरणको निर्वाचनमा नेकपा एमाले ठूलो पार्टी बनेर उदायो भने तेस्रो चरणमा निर्वाचन भएको प्रदेश २ मा मिश्रित नतिजा देखिए । मेयर र अध्यक्ष समेत गरेर कूल दुई सय ९४ सीटमा एमाले, दुई सय ६६ सीटमा नेपाली कांग्रेस र एक सय ६ सीटमा माओवादी केन्द्र विजयी भए ।
देशभरमा जस्तै कर्णाली प्रदेशमा पनि नेकपा एमाले पहिलो बन्यो । ७९ स्थानीय तहमध्ये एमालेले २७ तथा माओवादी र कांग्रेसले समान २५ स्थानीय तहमा जीत हात पारे ।
मंसिर १० र २१ गरेर दुई चरणमा प्रादेशिक र केन्द्रीय निर्वाचन सँगसँगै गर्ने सरकारले गरेको घोषणा अनुसार दुवै चरणका निर्वाचन सफलतापूर्वक सम्पन्न भए । यो चुनावमा पनि वाम गठबन्धनले विजय हासिल ग¥यो । प्रतिनिधिसभाका लागि कूल एक सय ६५ प्रत्यक्ष निर्वाचन क्षेत्र तोकिएकोमा नेकपा एमालेले ८०, माओवादी केन्द्रले ३६ र नेपाली कांग्रेसले २३ सीटमा विजय हात पारे । कर्णालीमा वाम गठबन्धनले ३३ सीट जित्दा नेपाली कांग्रेस भने एक सीटमा सीमित हुन पुग्यो ।
समानुपातिकमा नेकपा एमालेले ४१ सीट, कांग्रेसले ४० र माओवादी केन्द्रले १७ सीट प्राप्त गरे । प्रदेशमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दलका रूपमा स्थापित भए । २०७४ सालभरी प्राप्त अन्य उपलब्धिहरू चुनावी उपलब्धिको छायाँमा परेका छन् ।
नयाँ वर्षले आशाको सञ्चार
वि.सं. २०७४ विदा भएसँगै आज (शनिवार) देखि नयाँ वर्ष २०७५ साल सुरु हुँदैछ । नयाँ वर्षले समग्र नेपालका साथै कर्णाली प्रदेशमा पनि आशाको सञ्चार भएको छ । आम नागरिक विकास र समृद्धिको अपेक्षासहित नयाँ वर्षलाई स्वागत गर्दैछन् ।
स्थानीय सरकार र प्रदेश सरकारले काम थालिसकेका छन् । सिंहदरबारमा केन्द्रित अधिकार अब प्रदेश र गाउँतहसम्म नै आएपछि नागरिक हर्षित भएका छन् । कर्णाली प्रदेश सरकारका सुरुवाती गतिविधिले पनि जनतामा आशाको सञ्चार गराएको छ । प्रदेशको नामाकरण गर्ने र राजधानीको टुङ्गो लगाउने कार्यमा कर्णाली मुलुककै पहिलो बन्यो । अन्य प्रदेशले अहिलेसम्म टुङ्गो लगाउन सकिरहेका छैनन् भने कर्णालीले सर्वसम्मत रूपमा टुंग्याइसकेको छ ।
त्यसैगरी कर्णाली प्रदेशमा नयाँ वर्षको पहिलो दिन नै विशेष महŒवको कार्यक्रम सुरु
हुँदैछ । प्रदेश सरकारको निर्णय अनुसार आजदेखि कर्णाली–रारा पर्यटन वर्षको सुभारम्भ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट पर्यटन वर्षको औपचारिक उद्घाटन गर्दैछन् । पर्यटन वर्ष कर्णालीको समग्र समृद्धिसँग जोडिएको छ । किनभने प्रदेश सरकारले अर्थतन्त्र बलियो बनाउन पर्यटन विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । यसले पनि यहाँका नागरिकमा थप आशा जगाएको छ । राजनीतिक अस्थिरता र संक्रमणकालको अन्त्य भइसकेका कारण पनि नयाँ वर्ष उत्साहजनक बनेर आएको छ ।

प्रकाशित मितिः   १ बैशाख २०७५, शनिबार १६:१५