चार वटा संसदीय समिति गठन
सुर्खेत, २६ चैत ।
कर्णाली प्रदेशमा चार वटा संसदीय समिति गठन भएका छन् । प्रदेश संसदको कामलाई प्रभावकारी र व्यवस्थित गर्न संसदीय समितिहरू गठन गरिएका हुन् । प्रदेश सभाको सोमवारको बैठकले चार वटा समिति र ति समितिमा रहने सदस्यहरू टुङ्गो लगाएको हो ।
संसद बैठक सुरु भएको दुई महिनापछि संसदले विषयगत समितिहरू गठन गरेको हो । जसअन्तर्गत विधायन तथा प्रदेश मामिला, सामाजिक विकास, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक लेखा समिति गठन भएका छन् । संसद बैठकमा सभामुख राजबहादुर शाहीले संसदीय समिति र समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । सभामुखले निणयार्थ पेश गरेको प्रस्तावलाई बैठकले सर्वसम्वत् अनुमोदन गरेको हो । हरेक समितिमा संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी समितिहरू गठन गरिएको सभामुख शाहीले बताए ।
संसद बैठकबाट समितिका सदस्यहरू टुङ्गो लागे पनि अध्यक्षहरू भने समितिका सदस्यहरूले नै चयन गर्नेछन् । विद्यायन तथा प्रदेश मामिला समितिका सदस्य धर्मराज रेग्मीले भने, ‘सदस्यहरूको नाम संसद बैठकबाट पारित भएको छ, यौसँगै संसदीय समितिहरू गठन भए । अब ज्येष्ठ सदस्यको अध्यक्षतामा समितिका बैठक बस्नेछन्, बैठकबाटै समितिका अध्यक्षहरू चयन गरिनेछ ।’ समितिहरू गठन भएसँगै अब संसदलाई काम गर्न सहज हुने र काम पनि प्रभावकारी हुने अपेक्षा सांसदहरूले गरेका छन् । सोमवार गठन भएको विधायन तथा प्रदेश मामिला समितिको सदस्यमा सांसदहरू जीवनबहादुर शाही, चन्द्रबहादुर शाही, देवी वली, धर्मराज रेग्मी, पदम रोकाय, विन्दमान विष्ट र मिनासिं रखाल रहेका छन् । यस्तै सामाजिक लेखा समितिको सदस्यमा करवीर शाही, गणेशप्रसाद सिंह, गुलावजंग शाह, गोपाल शर्मा, झोवा विक, दिनबन्धु श्रेष्ठ, शोसिला शाही र पद्मा बोहोरा चयन भएका छन् ।
संसदको अर्थ तथा प्राकृतिक स्रोत समितिको सदस्यमा यामलाल कँडेल, अमृता शाही, अम्मरबहादुर थापा, कुर्मराज शाही, दानसिं परियार, वीरबहादुर शाही र सीता नेपाली रहेका छन् । त्यसैगरी सामाजिक विकास समितिको सदस्यमा सांसदहरू कृष्णा शाह, कौशीलावती खत्री, ठम्बरबहादुर विष्ट, पद्मा खड्का, यज्ञबहादुर विसी, राजु नेपाली, रातो कामी र सुशील थापा चयन भएका छन् । समितिका सदस्यहरूको नाम अनुमोदन गरेर सोमवारको संसद बैठक स्थगित भएको छ । सभामुख राजबहादुर शाही अर्को सूचना प्रकाशित नभएसम्मका लागि संसद बैठक स्थगित भएको बताए । संसद बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।
जाजरकोटमा औषधि पठाउन माग
‘जिल्लामा सिटामोल नै छैन, बिरामीहरु औषधि नपाएर छट्पटिरहेका छन्’ कर्णाली प्रदेशको संसद बैठकमा बोल्दै सांसद कृष्णा शाहले भनिन्, ‘जाजरकोटमा बिरामीले उपचार नै पाएका छैनन्, गाउँको अवस्था दयनीय छ । औषधि नपाएर जनताले मर्नुपर्ने अवस्था आयो, प्रदेश सरकारले तत्काल औषधिको व्यवस्था गरिदेओस् ।’
सोमवार संसद बैठकको शून्य समयमा बोल्दै सांसद शाहले तत्काल जाजरकोटमा पर्याप्त औषधि र डाक्टर पठाउन सरकारसँग माग गरिन् । वर्षात्को मौसम सुरु हुन लागेको र महामारीको जोखिम बढेको भन्दै उनले जाजरकोटमा औषधि र स्वास्थ्यकर्मीको
व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरिन् । लामो समयदेखि जिल्लामा औषधि अभाव भएको र अहिले सिटामोल नै पाइन छाडेको भन्दै उनले बिरामीको अवस्था दयनीय रहेको उल्लेख गरिन् ।
‘महामारीको मौसम सुरु हुन थाल्यो, बेलैमा सतर्कता नअपनाए जाजरकोटमा जटिल अवस्था आउनेवाला छ’ संसदको विशेष समयमा बोल्दै सांसद गणेशप्रसाद सिंहले भने, ‘सिटामोल नै नपाएर बिरामीहरू तड्पिरहेका छन्, जिल्लाका कुनै पनि स्वास्थ्य संस्थामा औषधि नै छैन । प्रदेश सरकार र संसदको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु, तत्काल जाजरकोटमा आवश्यक औषधि पठाइयोस् ।’ सांसद सिंहले अहिले जिल्लामा औषधिको चरम अभाव रहेको र छिमेकी जिल्ला रुकुममा उपचारका लागि पुग्दासमेत बिरामीले उपचार नपाएको बताए । सांसद सिंहले भने, ‘तत्काल जाजरकोटमा अनुगमन टोली पुगोस्, बिरामीले सिटामोल नै पाएका छैनन् । महामारी फैलिने खतरा छ, सरकारले बेलैमा औषधिको व्यवस्था गरेरर जोखिम न्यूनीकरणमा लागोस् ।’
पछिल्लो समय जाजरकोटमा औषधिको चरम अभाव भएको छ । जसका कारण बिरामीले अहिले पर्याप्त औषधि र उपचार पाउन सकिरहेका छैनन् । हरेक वर्ष खडेरीको मौसममा जाजरकोटमा सरुवा रोगले महामारीको रूप लिने गरेको छ । अघिल्ला वर्षहरूमा समयमै ध्यान नदिदा झाडापखाला, स्वाइन फ्लू र सरुवा रोगले जाजरकोटमा महामारीको रुप लिएको स्मरण गर्दै सांसदहरूले प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनीहरुले तत्काल जिल्लामा औषधि पठाउन माग गदै संसद बैठकमा सभामुखसँग सरकारलाई रुलिङ्ग गर्न आग्रह गरे । सांसदहरूको माग अनुसार सभामुख राजबहादुर शाहीले तत्काल आवश्यक औषधि र स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएका छन् ।
सोमवारको संसद बैठकमा सांसदहरूले चार वर्षदेखि त्रिपालमा बस्दै आएका सुर्खेतका बाढीपीडितको पुनस्र्थापना गर्नसमेत माग गरे । सांसद पद्मा खड्काले वर्षातको मौसम सुरु भएको बाढीपीडितको अवस्था दयनीय रहेको भन्दै तत्काल पुनसर््थापना गर्न माग गरिन् । यस्तै कांग्रेस सांसदहरू हिमबहादुर शाही र यज्ञबहादुर बिसीले सरकारको कामप्रति कडा आलोचना गरे । सरकार सुस्त भएको र काम गर्न नसेको भन्दै उनीहरूले आलोचना गरेका हुन् । एमाले सांसद गुलावजंग शाहले सांसदहरूको मर्यादाक्रम अपमानजनक भएको भन्दै पुनः निर्धारण गर्न केन्द्र सरकारसँग आग्रह गरे ।
साझा बिसौनी ।