प्रदेशमा खुल्ला अध्ययन केन्द्र

सुर्खेत, २६ चैत ।
नेपाल खुल्ला विश्वविद्यालयले प्रदेश तहमा खुल्ला अध्ययन केन्द्र सञ्चालन गर्ने भएको छ । गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि सबैको पहुँच पुग्ने गरी प्रदेश तहमा अध्ययन केन्द्र सञ्चालन गरिने भएको हो ।
आगामी वैशाखदेखि कक्षा सञ्चालनका लागि हाल केन्द्रमा भर्ना लिइरहेको खुल्ला विश्वविद्यालयले संघीय संरचना अनुसार प्रदेश तहमा जाने कुलसचिव कमल ढकालले बताए । उनले प्रविधिमैत्री, अनलाइनबाटै अध्धयन अध्यापन विधि अपनाइने विश्वविद्यालयमा सबैको पहुँच स्थापित गर्न संघीय राजधानीमा केन्द्रीय कार्यालय र प्रदेश तहमा अध्ययन केन्द्र राखिने अवधारण रहेको बताए । विश्वविद्यालयले परम्परागत उच्च शिक्षा प्रणालीमा समाहित भइ उच्च शिक्षा अध्ययनको अवसरबाट वञ्चित समूहलाई पायक पर्ने स्थान, समय र सिकाइको गति उपलब्ध गराउने भएको छ । विभिन्न विधामा ज्ञान, सीप, दक्षताले परिपक्क, दिगो विकासका लागि तयार पारिने उनले बताए ।
खुल्ला विश्वविद्यालयमा पूर्णकालीन कोर्ष अध्ययन गर्न चाहाने विद्यार्थीले एक वर्ष, आंशिक विद्यार्थी १ कोर्ष अध्ययनका लागि दुई वर्ष र आंशिक विद्यार्थी २ का लागि तीन वर्षे कोर्षहरू सञ्चालन गरिने भएको हो । विद्यार्थी अनुकूल शिक्षा प्रदान गरिने उनले बताए । सामाजिक शास्त्र तथा शिक्षा संकाय, विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायका विभिन्न विषयमा हाल विश्वविद्यालयले भर्ना सुरु गरेको छ ।
विश्वविद्यालयका डीन प्रा.डा. इन्द्रबहादुर कार्कीले न्यूनतम २२ हजारदेखि माथि अध्ययन शुल्क लाग्ने बताए । सोमवार वीरेन्द्रनगरमा भएको अन्तरक्रियामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का प्रमुख सचिव सुरेश प्रधानले खुल्ला विश्वविद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गरे । विश्वविद्यालयमा पहुँच विस्तारमा समस्या हुनसक्ने भन्दै उनले प्रविधिमैत्री स्थनीय सरकार हुनु वर्तमान आवश्यकता भएको बताए । अन्तरक्रियामा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. रामचन्द्र पौडेल, व्यवस्थापन तथा कानुन संकायका डीन प्रा.डा. शीलु मानन्धर बज्राचार्यले प्रस्तुती राखेका थिए ।

प्रकाशित मितिः   २७ चैत्र २०७४, मंगलवार १३:२८