सांसदको पोशाक तोकियो
पुरुषलाई भादगाउँले टोपी अनिवार्य, महिलाका लागि कोट र सारी
सुर्खेत, २५ चैत ।
संसद बैठक सुरु भएको करिब दुई महिनापछि कर्णाली प्रदेशका सांसदहरूको औपचारिक पोशाक निर्धारण गरिएको छ । संसदको कार्यव्यवस्था परामर्श समितिले लामो छलफलपछि सांसदको पोशाक निर्धारण गरेको हो । योसँगै अब कर्णाली प्रदेशका सांसदहरू तोकिएको पोशाकमा संसद बैठकमा सहभागी हुनुपर्नेछ ।
कर्णाली प्रदेशको संसदमा पुरुष र महिला सांसदका लागि पोशाकमा कोट तोकिएको छ । यस्तै पुरुष सांसदका लागि भने कालो भादगाउँले टोपी अनिवार्य गरिएको छ । यसअघि संसदले कार्यव्यवस्था परामर्श समितिले तोकेको पोशाकलाई अपनाउने निर्णय गरेको थियो । जसअनुसार समितिले आइतवार सांसदहरूको पोशाकबारे टुङ्गो लगाएको हो । महिला सांसदका लागि कोट निर्धारण गरिएको छ भने ढाँकाको धोती वा सारी विकल्पको रूपमा तोकिएको छ । यस्तै पुरुष सांसदका लागि कोट र भादगाउँले कालो टोपी अनिवार्य गरिएको छ ।
पुरुष सांसदको हकमा दौरा, सुरुवाल र पाइन्टलाई पनि विकल्पको रूपमा दिइएको छ । यस्तै महिला सांसदको हकमा चोली र पाइन्ट विकल्पको रूपमा तोकिएको छ । समितिले निर्धारण गरेको पोशाकका आधारमा अब सांसदहरू संसद बैठकमा सहभागी हुनुपर्नेछ । कोटको रङ्ग भने खैरो र हल्का उज्यालो हुने संसद सचिवालयले जनाएको छ । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कार्यव्यवस्था परामर्श समितिले पोशाकको टुङ्गो लगाएको जानकारी दिए । उनका अनुसार अब समितिले तोकेको पोशाक नै सांसदका लागि औपचारिक पोशाक हुनेछ । लामो छलफलपछि पोशाक निर्धारण भएको उनको भनाइ छ ।
‘हामी पोशाकमा केही लचिलो बनेका छौं, सहज हुने पोशाक निर्धारण गरिएको छ’ कार्यव्यवस्था परामर्श समितिका सदस्यसमेत रहेका सांसद धर्मराज रेग्मीले भने, ‘सबै सांसदका लागि कोट तोकेका छौं, पुरुष सांसदका लागि भने टोपी अनिवार्य छ । महिलालाका लागि सारी र धोती तथा चोलोमा विकल्प छ, पुरुषले पनि दौरा, सुरुवाल र पाइन्ट विकल्पका रूपमा प्रयोग गर्न सक्नेछन् ।’ पोशाकले सहज हुनुपर्ने भएकाले विकल्प पनि दिइएको रेग्मीले बताए । यस्तै प्रदेश सभाको लोगो पनि टुङ्गो लागेको छ । कार्यव्यवस्था परामर्श समितिले लोगो टुंग्याएको हो । प्रदेश सभाको लोगोमा महिला र पुरुषको हातले संयुक्त रूपमा कर्णाली प्रदेशको नक्सालाई माथि उचालको, बीच भागमा नेपालको झण्डा फहराएको र कर्णाली प्रदेशसभा लेखिएको हुनेछ । कार्यव्यवस्था
समितिले टुङ्गो लगाएको पोशाक र लोगो नै अब कार्यान्वयनमा आउनेछ । गत माघ २१ गते प्रदेश संसदको पहिलो बैठक बसेको थियो । अब सोमवार संसदको दशौं बैठक बस्दैछ । सोमवारको बैठकबाट चार वटा संसदीय समिति गठन हुनेछन् । सांसद रेग्मीले भने,‘सोमवारको बैठकमा संसदीय समितिका सदस्यहरूको नाम टुङ्गो लाग्छ, सदस्यहरूको नाम पारित भएपछि सदस्यहरूबाटै समितिको अध्यक्ष चयन हुनेछन् ।’ संसद नियमावली अनुसार संसदमा विधायन तथा प्रदेश मामिला, सामाजिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन हुनेछन् । संसद बैठक सोमवार दिउँसो १ बजेका लागि डाकिएको छ ।
साझा बिसौनी ।