सुर्खेत–काठमाडौं उडान, नेपाल एयरलाइन्सद्वारा

सुर्खेत, २५ चैत ।
सरकारी ध्वजाबाहक नेपाल एयरलाइन्सले सुर्खेत–काठमाडौं सिधा हवाई सेवा सुरु गरेको छ । नेपाल वायु सेवा निगमको नेपाल एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट संघीय राजधानी काठमाडौंसम्म सिधा उडान सुरु गरेको हो ।
कर्णाली प्रदेशबाट संघीय राजधानीसम्मका लागि सिधा हवाइ उडान नहुँदा यहाँका नागरिकले प्रदेश ५ को नेपालगन्जबाट जहाज चढ्नुपर्ने बाध्यता थियो । तर आइतवारदेखि यो बाध्यता तोडिएको छ । नेपाल एयरलाइन्सले अब सुर्खेतदेखि काठमाडौं सिधा उडान गर्ने भएको हो । प्रदेश सरकारको पहलमा नेपाल एयरलाइन्सको १८ सीट क्षमताको जहाजले आइतवारबाटै उडान थालेको छ । योसँगै अब कर्णालीका नागरिकले काठमाडौंसम्म सिधा हवाइ सेवा प्राप्त गरेका छन् । नेपाल एयरलाइन्सले उडान सुरु गरिसकेको छ भने अब बुद्ध एयरले वैशाख १ गतेबाट उडान गर्ने तयारी गरिरहेको छ ।
नेपाल एयरलाइन्सले आइतवारदेखि नियमित उडान सुरु गरेसँगै कर्णाली प्रदेश हवाई मार्गबाट सिधा संघीय राजधानी काठमाडौंसँग जोडिएको हो । सुरुवातमा नेपाल एयरलाइन्सले हरेक हप्ताको आइतवार मात्र उडान गर्ने गरी आफ्नो सेवा सुरु गरेको छ । यात्रुको चाप अनुसार उडान थप हुने नेपाल एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सका सुर्खेत स्टेशन म्यानेजर चेतन तिमिल्सेनाले हरेक साताको आइतबार बिहान सवा ७ बजे काठमाडांै–सुर्खेत र बिहान नौ बजे सुर्खेत–काठमाडौं उडान गरिने बताए ।
प्रदेश सरकारले कर्णाली–रारा पर्यटन वर्ष सुरु गर्न लागेसँगै भित्रिने पर्यटकहरूको चापलाई मध्यनजर गरी उडान बढाउन सकिने उनको भनाइ छ । ‘हामीले सेवा सुरु गरेका छौं, केही दिन यात्रुको चाप हेर्दैछौं’ उनले भने, ‘यात्रुको चाप बढ्ने बित्तिकै उडान बढाउने छौं, यात्रुलाई सेवा दिन हामी तत्पर छौं ।’
हाललाई सुर्खेतबाट काठमाडौंका लागि सात हजार चार सय भाडादर तोकिएको छ । यस्तै काठमाडौंबाट सुर्खेतका लागि भने सात हजार पाँच सय रूपैयाँ भाडा तोकिएको छ ।

प्रकाशित मितिः   २६ चैत्र २०७४, सोमबार १६:११