एकलौटी नगर्न ध्यानाकर्षण
सुर्खेत, २५ चैत ।
सुर्खेत उद्योग वाणिज्य संघले एकलौटी रूपमा अधिवेशनको मिति घोषणा गरेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् । आगामी निर्वाचनका लागि सदस्यता नवीकरणको सूचना आमसञ्चार माध्यमबाट प्रकाशित गरेपछि असन्तुष्ट व्यवसायीहरूले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । छलफल, संवाद नगरी एकलौटी रूपमा निर्वाचनको मिति घोषणा गरिएको आरोप उनीहरूको छ ।
व्यवसायीहरूको तर्फबाट गठन भएको वार्ता समितिका संयोजक कलाधर उपाध्याय (केदार) ले आइतवार एक विज्ञप्ती जारी गर्दै असन्तुष्टी व्यक्त गरेका हुन् । आम उद्योगी, व्यवसायीहरूको माग, भावना विपरित एकलौटी रूपमा निर्वाचनको मिति घोषणा गरिएकोप्रति आपत्ति प्रकट गरिएको छ ।
समग्र उद्योगी, व्यवसायीहरूको हितमा हुने गरी विगतमा राखिएका मागहरूप्रति बेवास्ता गर्दै एकलौटी रूपमा गरिएको संघको विधान संशोधन र तोकिएको निर्वाचनप्रति ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाइएको छ । सम्पूर्ण व्यवसायीहरूको हक अधिकार र साझा मुद्दामा एकताबद्ध गराउँदै वार्ता, संवाद, छलफलका माध्यमबाट असन्तुष्ट व्यवसायीहरूको माग सम्बोधन गर्ने विषयमा गम्भीर हुन संघलाई आग्रह गरिएका छ । विगतमा राखिएका मागका सम्बन्धमा चैत्र मसान्तभित्र गम्भीरतापूर्वक छलफल गरी सम्बोधन नगरिएमा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत विज्ञप्तीमार्फत् दिइएको छ ।
साझा बिसौनी ।