‘जुन कक्षामा पढ्थें, त्यही कक्षालाई पढाउँथे’

लोकप्रसाद चालिसे वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष हुन् । नेकपा एमालेमा रहेर राजनीति गरिरहेका चालिसे वि.सं. २०५४ सालको स्थानीय निकायको निर्वाचनमा वडा सदस्य भएका उनी २०७४ मा भएको स्थानीय तहको निर्वाचनबाट वडा अध्यक्ष बनेका हुन् । वि.सं. २०२० पुस ४ गते हालको वीरेन्द्रनगर–१३ साविकको जर्बुटा ७ मा बुबा लक्ष्मीनारायण चालिसे र आमा चन्द्रावती चालिसेको कोखबाट जन्मिएका उनले आफ्नो बाल्यकालेको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन्ः

हाम्रो परिवार ठूलो थियो, सात जना दाजुभाई र ६ जना दिदीबहिनी भएको । म घरको काइलो छोरा । परिवार ठूलो भएकाले पनि रमाइलो हुन्थ्यो । बाल्यकालमा विद्यालय जाने, घरको काम गर्ने अनि खेल्ने नै हुन्थ्यो । बिहानसाँझ घरको काम गर्नुपथ्र्यो । बुबाआमा कृषि गर्नुहुन्थ्यो । पहाडमा बस्नुपर्ने । त्यसकारण पनि दुःख नै हुन्थ्यो । आयस्रोत केही हुँदैनथ्यो । गाइभैंसी पालेर खेतीपाती गरेर नै गुजारा चलाउने हुन्थ्यो ।
म सानो छँदा पढाइमा राम्रो थिएँ । मैले कक्षा दुईबाट पढ्न सुरु गरेकी हुँ । जर्बुटामा रहेको प्रावि पाँचघरेमा सुरुमा नै दुई कक्षामा नाम लेखाएर पढ्न थालेको हुँ । मैले कक्षा २ र ३ त्यस्तै डेढ वर्ष जति पढें होला । म विद्यालय जादा एघार वर्षको थिएँ । पढाइमा म प्रथम हुन्थें । स्कुलमा पनि मैले नै नेतृत्व लिन्थे । अहिलेको जस्तो विद्यालयहरू धेरै हुँदैनथे । मैले पढ्ने बेलामा घरदेखि डेढ घण्टाको बाटो हिँडेर नै विद्यालय जानुपथ्र्यो । प्रावि पढ्ने बेलामा आफ्ना साथीहरूलाई मैले आफै पढाउने गर्थें । त्यसबेलामा प्रावि पढाउने एक जना मात्र शिक्षक हुनुहुन्थ्यो । उहाँले कक्षा १ देखि ३ सम्म पढाउनुहुन्थ्यो । सर बिरामी भइरहनहुन्थ्यो । उहाँ उपचारका लागि वीरेन्द्रनगर आइरहनुपर्ने । प्रायः विद्यालयमा गएर पढाउन सक्नुहुन्थेन । मैले आफू भन्दा साना कक्षा र आफैसँगका साथीहरूलाई पढाउँथे । यो कुरा जिल्ला शिक्षा कार्यालयलाई पनि थाहा थियो । अहिलेको जसरी शिक्षकहरूको व्यवस्थापन गर्न गाह्रो थियो ।
एक पटक सर बिरामी भएर विद्यालय आउनुभएको थिएन । जिल्ला शिक्षा कार्यालयबाट अनुगमनका लागि एक जना विद्यालय निरीक्षक जानुभएको थियो । उहाँले मैले पढाएको सबै हेर्नुभयो । उहाँले अनुगमनका क्रममा राम्रो छ भन्नुभयो । अहिले पनि खुशी लाग्छ । विद्यालयमा साथीभाइहरूलाई पढाउँन पाउँदा धेरै खुशी लाग्थ्यो ।
निमावि तह पढ्ने बेलासम्म म पढाइमा प्रथम नै हुन्थें । कक्षाको मनिटर पनि म नै हुन्थें । साथीहरूले मलाई नै हुनुपर्छ भन्थे । कहिले काहीं त कक्षागत मनिटर हुन पनि चुनाव लड्नुपथ्र्यो । सबै चुनावमा मैले नै जित्ने गर्थें । निमावि तह मैले अमर ज्योति नमुना उमाविमा पढें । त्यहाँ पनि कक्षागत रूपमा नेतृत्व लिने गर्थें । त्यसपछि माध्यमिक तह जनमावि वीरेन्द्रनगर बजारमा पढें । मैले जन माविबाटै एसएली पास गरेको हुँ ।
म साथीहरू सबैसँग मिल्ने गर्थें । साथीहरूसँग पढ्ने, खेल्ने, सहयोग गर्ने मेरो स्वभाव थियो । साथीहरूसँग कहिल्यै झगडा परेन । मैले अरु साथीहरू झगडा गरेका छन् भने मिलाउने प्रयास गर्थें । छलफल गर्ने अनि साथीहरू आफन्तहरूलाई मिलाउने काम गर्थें । सानैदेखि साथीहरूलाई पढाएका कारण पनि मैले सबैसँग मिल्न र सहयोग गर्ने सिकें । हामी प्रायः जसो डण्डिवियो, कपडाको भकुण्डो बनाएर खेल्ने गथ्र्यौं । बाल्यकाल सम्झदा रमाइलो लाग्छ ।
बाल्यकालका केही भुल्नै नसकिने क्षणहरू पनि छन् । एक पटक म भीरबाट खसेको छु । गाइभैंसी गोठालो गएको बेलामा भीरबाट खसेको थिएँ । भीरबाट खसेको तीन दिनपछि मात्र होस् खुलेको थियो । करिब पाँचसय मिटर माथिबाट खसेर पानीको तालमा परेको रहेछु । अझै पनि त्यो घटना सम्झदा नरमाइलो लाग्छ । त्यस बेलामा ठूलो नभएसम्म विद्यालय जाने चलन थिएन । प्रायः घरकै काममा समय जाने गथ्र्यो । म त्यसबेलामा ८ वर्षको थिएँ ।
घरमा बुबाआमाले नैतिक शिक्षामा जोड दिनुहुन्थ्यो । हामी विद्यालय पढेर आए पनि बुबाले घरमा पनि पढाउनुहुन्थ्यो । ब्राम्हण परिवार भएकाले विद्यालय बाहेक हामीले संस्कृत र नैतिक शिक्षा पनि बुबाबाट सिक्ने मौका पायौं । छोराछोरीको सुन्दर भविष्यको लागि विद्यालय मात्र नभएर बुबाआमाको पनि ठूलो हात हुन्छ । हामीलाई पनि बुबाले अघि बढ्न र अनुशासित बन्न नैतिक शिक्षालाई जोड दिनुभयो ।
अहिलेका बालबालिका भविष्यमा डक्टर, पाइलट, शिक्षक लगायत आफूलाई के बन्नुपर्छ के बन्न मनपर्छ भनेर भन्छन् । त्यसबेलामा हामीले समाजमा राम्रो मान्छे बन्नुपर्छ मात्र हुन्थ्यो । भविष्यमा यो नै बन्छु भन्ने हुँदैनथ्यो । मैले एसएलसीपछि शिक्षक बनें । शिक्षक नै बन्छु भनेर त पढेको होइन । तर केही समयसम्म मैले शिक्षण पेशा गरें । मैले करिब सात वर्ष अस्थायी रूपमा शिक्षक भएर शिक्षण पेशामा बिताएँ । आफैले अक्षर चिनेको विद्यालयमा शिक्षक भएर गएको थिएँ । मैले चेपाङ, तरंगा गएर पनि पढाएँ । पछि घरपरिवारबाट टाढा बस्नुभन्दा आफ्नै समाजमा समाजसेवी गर्नुपर्छ भन्ने उद्देश्यले जागिर छाडेर घर आएँ ।
कक्षा ७ मा पढ्दादेखि नै विद्यार्थी राजनीतिमा प्रवेश गरेको थिएँ । बामपन्थी विचारधाराको भएकाले २०३६ सालबाटै अनेरास्वीयुमा आवद्ध थिएँ । त्यसबेलामा भूमिगत राजनीति गर्नुपर्ने बाध्यता थियो । वि.सं. २०४६ सालको बहुदलपछि भने मैले पार्टीको सक्रिय सदस्य भएर लागेको हुँ । मैले गाउँघरमा हुने विभिन्न विकास निर्माणका कामहरू सहभागी हुुने, विशेष गरेर खानेपानीको आयोजनामा पनि सहभागी भएँ । वीरेन्द्रनगरको साविकको वडा नम्बर ११ मा स्किम अध्यक्ष भएर खानेपानीको लागि काम गरें ।
वि.सं. २०५४ सालको स्थानीय निकायको चुनावमा वडा सदस्यमा निर्वाचित भएको थिएँ । अहिले वडा अध्यक्ष हुने सौभाग्य मिल्यो । २०७० मा नेकपा एमाले सुर्खेतको जिल्ला सदस्य हुने पनि अवसर मिल्यो । जसले गर्दा मलाई समाजको सेवा गर्न धेरै नै सहयोग पुग्यो । बाल्यकालका हरेक गतिविधिहरूले मलाई यो स्थानसम्म पु¥याएका हुन् जस्तो लाग्छ ।