जागिर खाने राउटे युवाको रहर

डुङ्गेश्वर (दैलेख), २४ चैत ।
बस्तीमा प्रायः नयाँ व्यक्तिहरूको आउजाउ भइरहन्छ । नेपाली मात्र होइन, बेलाबेला विदेशीहरू पनि पुग्छन् । आफ्नो बस्तीमा पुग्ने जोकोही नयाँ मनिसलाई उनी आफ्नो सपना सुनाउँछन्, ‘मलाई जागिर खाने रहर छ, पढ्न पनि मन छ । तर मुखियाले स्कुल जान दिदैंनन्, तपाईंले केही जागिर मिलाइ दिनुहुन्छ की ?’


दैलेखको डुङ्गेश्वर गाउँपालिकास्थित पराजुली खोलाको किनारमा ४६ वटा साना छाप्रासहितको राउटे बस्ती छ । त्यही बस्तीको एउटा छाप्रा नजिकै भेटिएका २० वर्षीय राउटे युवा दीपक शाहीले भने, ‘आजसम्म स्कुल जान पाइएन, जंगलमा बस्ने मान्छेहरू कसरी स्कुलमा पढ्न जानु ? अब नपढेको मान्छेलाई जागिर पनि पाइदैंन, जागिर मिलेको भए हामी जंगलमा भोकभोकै बस्नु पर्थेन होला ।’ दीपकले आफ्नो सपना सुनाइ रहँदा उनका बाबु भने निःशब्द थिए । कारण उनमा छोराको जागिर खाने रहर पूरा गरिदिने सामथ्र्य नै थिएन ।
आकाशको पानी र घामसमेत नछेक्ने सानो छाप्रोभित्रै दीपकको जागिर खाने ठूलो सपना दबिएको छ । अन्धविश्वास र घुमन्ते जीवनका कारण राउटे समुदायमा कसैले पनि शिक्षा आर्जन गरेका छैनन् । अशिक्षाका कारण आफूहरूले दुःख पाएको र जागिर खान नपाएको बुझेका राउटे युवाहरूमा पछिल्लो समय जागिर खाने रहर पलाउँदै गएको छ । उमेरले २० वर्ष कटेका अर्का राउटे युवा दिशबहादुर शाहीले आफ्नो सपना सुनाउँदै भने, ‘जंगलमा शिकार छैन, काठको काम पनि हुन छोड्यो । अब जागिर खाने हो, नपढेको भए पनि केही काम गर्न मिल्ने जागिर त मिल्छ होला नी ?’ उनले मिल्ने भए आफूलाई प्रहरीमा जागिर खाने रहर भएको सुनाए । दीपक र दिशबहादुर जस्तै राउटे बस्तीमा नयाँ पुस्ताले विद्यालयमा पढ्ने र जागिर खाने सपना बुनिरहेको छ ।
‘विस्तारै परिवर्तन हुँदै जाला, विस्तारै सबै ठीक हुन्छ’ शिरमा रहेको आफ्नो टोपी मिलाउँदै दीपक शाहीले थपे, ‘पहिला त खुट्टामा चप्पल पनि लाउन दिन्थेनन् मुखियाले, विस्तारै चप्पल लगाउन थालेका छौं । यो नेपालको टोपी पनि लगाउन थालेका छौं, विस्तारै स्कुल पनि जाने दिन आउँछन् ।’ बस्तीका अन्य युवा भन्दा केही जिज्ञासु र हँसिलो स्वभाव भएका दीपक नयाँ मान्छे पुग्ने वित्तिकै आफ्नो जागिर खाने रहर सुनाउँछन् । त्यतिमात्र होइन, उनी आफ्नो बस्तीमा शिक्षकको व्यवस्था गरेर शिक्षा दिनुपर्ने भन्दै आग्रह पनि गरिरहन्छन् । उनले भने, ‘हामी स्कुल जान सम्भव छैन, बरु बस्तीमा मास्टर ल्याउनुप¥यो । पढेर जागिर खाने हो, हाम्रो मुखियालाई सम्झाइ दिनुहोला ।’ मुखियाले नै नमान्ने भएकाले आफूहरू विद्यालय जान सक्ने अवस्था नरहेको उनको भनाइ छ ।
अचेल जंगलमा काठ काट्न र शिकार पनि खेल्न नपाइने भन्दै दिशबहादुरले अब पेट भर्नका लागि आफूहरूलाई जागिर नै चाहिने बताए । उनले भने, ‘पढाइ त छैन, पढाइ नहुँदा पनि केही जागिर त मिल्छ होला । जागिर गरेर कमाइ गर्नुप¥यो, नत्र अब हामी कसरी बाँच्ने ?’ उनले जागिर गर्दा सहरमा घुम्न पाइने र नयाँ लुगा लगाउन पाइने बताए । दीपक र दिशबहादुरले बस्तीमा पुगेका कर्णाली प्रदेश सभाका सांसद धर्मराज रेग्मी र डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्ललाईसमेत आफ्नो जागिर खाने रहर सुनाए । साथै उनीहरूले आफ्नो बस्तीमा शिक्षकको व्यवस्था गरेर पढ्ने वातावरण मिलाउन आग्रह गरे । राउटेको क्षेत्रमा कार्यरत संस्था राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले भनिन्, ‘नयाँ पुस्तामा चेतना बढेको
छ, उनीहरू केही काम गर्न चाहन्छन् । राउटे युवाको क्षमता अनुसार सरकारले काम दिन जरुरी छ, बस्तीमै शिक्षकको व्यवस्था गरेमा उनीहरू पढ्न पनि तयार छन् ।’
‘मुखिया बनेर सबैलाई पढाउँछु’
राउटे समुदायमा शिक्षा आर्जन गरेमा पाप लाग्छ भन्ने अन्धविश्वास कायमै छ । यही अन्धविश्वासका कारण राउटे समुदायमा हालसम्म कसैले पनि विद्यालयबाट औपचारिक शिक्षा लिएका छैनन् । यद्यपी पछिल्लो पुस्ताले पढाइप्रति रहर गर्न थालेको छ । यो समुदायमा मुखिया नै निर्णायक हुन्छन् । मुखियाको आदेश नै राउटेका लागि कानुन सरह हो ।
पढ्ने रहर हुँदाहुँदै पनि विद्यालय जानबाट वञ्चित भएपछि राउटे यूवा दीपकले भने, ‘अब हामीले पनि पढ्नुपर्छ, नपढेर त जागिर नै पाइदैंन । तर अहिले मुखियाले स्कुल जान दिदैंनन्, विस्तारै सबै ठीक हुनेछ ।’ दीपकले आफ्नो मुखिया बन्ने योजनासमेत सुनाए । उनले भने, ‘रहर भएर के गर्नु ? मुखियाले नमानेपछि कसैको केही चल्दैन । अब विस्तारै म नै मुखिया बन्नेछु, म मुखिया बनेर बस्तीका सबैलाई पढाउनेछु ।’ पछिल्लो समय रक्सीले बस्तीमा बिर्गान थालेको भन्दै उनले आफूहरूले रक्सीको साटो कोक पिउने गरेको बताए ।

प्रकाशित मितिः   २५ चैत्र २०७४, आईतवार १२:५३