अञ्जलीले पाउने भइन उपचार
सुर्खेत, २४ चैत ।
आर्थिक अभावका कारण उपचारबाट वञ्चित वीरेन्द्रनगर–११ झुप्राकी अञ्जलीवादीले उपचार पाउने भएकी छिन् । विंग्स फाउण्डेशनको समन्वय तथा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत स्टाफ नर्स कल्पना बस्नेत र नेपाल बाल पोलिक्लिनिक सुर्खेतमा कार्यरत अहेव प्रतिमा गौतमको पहलमा अञ्जलीले उपचार पाउने भएकी हुन् ।
मुटुमा प्लाल भएकी नौ वर्षीया अञ्जलीले परिवारको कमजोर आर्थिक अवस्थाकै कारण उपचार पाउन सकेकी थिइनन् । दैनिक ज्याला मजदुरी गरेर जीविको पार्जन गरिरहेको भन्दै पैसा नभएका कारण छोरीको उपचार गर्न नसकेको अञ्जलीका बुबा घनश्याम वादीले बताए । तीन वर्षदेखि उक्त समस्याबाट पीडित अञ्जलीको उपचारका लागि बस्नेत र गौतमले विंग्स फाउण्डेशनसँगको समन्व्यमा ‘अञ्जली बचाऔं’ अभियान नै सञ्चालन गरेका थिए । सोही अभियानका क्रममा विभिन्न व्यक्ति तथा संस्थाहरूबाट आर्थिक सहयोग जुटाएर अञ्जलीको उपचार हुने भएको हो ।
सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा उनको आउँदो असार २० गते शल्यक्रिया हुने भएको छ । विंग्स फाउण्डेशनकै सयोगमा गंगालाल पुगेर अञ्जलीले स्वास्थ्य परीक्षण गराएकी छिन् । अस्पतालले आउँदो असार २० गते उनको मुटुको शल्यक्रिया गर्ने मिति तय गरेको स्टाफ नर्स कल्पना बस्नेतले जानकारी दिइन् । मनकारी व्यक्तिहरूको आर्थिक सहयोगकै कारण अञ्जलीको उपचार प्रक्रिया अघि बढेको भन्दै उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।
साझा बिसौनी ।