घरघरमा धारा जडान हुँदै

पञ्चपुरी, २४ चैत ।
जनसंख्या दिन प्रतिदिन बढ्दो छ । बढ्दै गरेको घना बस्तीसँगै सहरोन्मुख पञ्चपुरी नगरपालिकामा यतिबेला विकासका गतिविधि तीव्र रूपमा अघि बढेका छन् । यहाँका बस्तीको ब्यवस्थापनदेखि सडक निर्माणसँगै खानेपानी योजना पनि धमाधम सञ्चालन भइरहेको छ । यसले स्थानीय सरकारको प्रभावकारीलाई विम्बित गरेको छ ।


पञ्चपुरी नगरपालिकामा पहिलो पटक ठूलो लगानीसहितको खानेपानी आयोजना सञ्चालन हुँदैछ । यहाँका नागरिकहरूले अब छिटै स्वच्छ पिउने पानीको सुविधा पाउने भएका छन् । वाबियाचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले तेस्रो साना सहरी खानेपानी आयोजना लागू गरी घर–घरमा धारा जडान गरी सुविधा दिन लागेको हो ।
अहिलेसम्म पञ्चपुरीका नागरिकले खानेपानीको सहज सुविधा पाउन सकेका छैनन् । वि.सं. २०४० सालमा स्व. महेन्द्रप्रसाद ढुङ्गानाले खानेपानीको उपभोक्ता समिति गठन गरी कामको सुरुवात गरेका थिए । तर त्यसले निरन्तरता पाउन सकेन । द्वन्द्वकालको समयमा खानेपानीको ठूलो समस्या खेप्नुपरेको स्थानीयबासी बताउँछन् । पाइपलाइन काटिएका कारण आयोजना अघि बढ्न सकेन ।
पर्याप्त पानी नहुँदा विद्यालयमा समेत पिउनेपानीका साथै शौचालयको प्रयोगमा समस्या हुँदै आएको छ । सरकारको योजना अनुसार विद्यालयमा विद्यार्थीलाई कृषिको प्रयोगात्मक ज्ञान, हरियाली वातावरण, बगैचा बनाउन कठिनाइ भएको समूह आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम विष्ट बताउँछन् । अब भने उक्त समस्या समाधान हुनेमा उनी आशावादी छन् । हामीले समितिसँग विद्यालयको समस्याको बारेमा जानकारी गराएका छौं, अब आयोजना सम्पन्न भएपछि समाधान हुनेमा विश्वस्त छु ।
साढे पन्ध्र करोडको आयोजना


पञ्चपुरीमा सञ्चालन हुने उक्त आयोजनाको सेवाक्षेत्र भित्र पञ्चपुरी नगरपालिका वार्ड नं. ५ र ६ का करिब एक हजार चार सय घरधुरी रहेका छन् । देशभरका १३ ओटा आयोजनामध्ये स्वीकृत भएको यस आयोजनाको कुल लागत १५ करोड ६२ लाख २२ हजार ७ सय ९१ रूपैयाँ रहेको छ । चन्द्रा एण्ड बसन्त जेबी प्रेरणाले जिम्मा लिएको काम सम्झौता अगाडि नै सम्पन्न हुने बताइएको छ । निर्माण सम्पन्न भएको २ वर्षसम्म आयोजनाले नै अनुगमन गर्ने उपभोक्ता समितिका अध्यक्ष जीवन ढुङ्गानाले जानकारी दिए । वि.सं. २०७३ कार्तिकदेखि सुरु भएको आयोजनाको सम्झौता अवधि १८ महिनाको रहेको छ । आयोजनाका लागि नेपाल सरकारको ७० प्रतिशत, २५ प्रतिशत नगरपालिका र ५ प्रतिशत समूह तथा उपभोक्ताको लगानी भएको छ ।
‘हामीले कर्मचारी व्यवस्थापन, कार्यालय व्यवस्थापन, व्यक्ति तथा समूहका नाममा रहेको बक्यौता रकम असुल, विद्युतीय प्रणालीबाट कारोबार सञ्चालन, मिटर जडान तथा जनसंख्या अनुपात अनुसार आयोजना माग गरी काम विना विवाद सुरुवात भयो यसमा हामी खुशी छौं’ उनले भने ।
सँगसँगै सरसफाइ अभियान


खानेपानी आयोजनाको सँगसँगै सरसफाइ अभियान पनि सञ्चालन गरिने भएको छ । अहिलेसम्म विपन्न परिवारका चार सय १० घरधुरीलाई १० हजारका दरले चर्पी निर्माणका लागि सहयोग, अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण, कार्यालयको ५ कोठाको भवन निर्माण, ४६० घनमिटरको ३ ओटा ट्यांकी निर्माण भएको जनाइएको छ ।
त्यसैगरी पाइपलाइन व्यवस्थापनदेखि धारा जडानको कामसमेत अन्तिम चरणमा पुगेको छ । धारा जडानका लागि प्रत्येक घरधुरीले १५ हजारका दरले धरौटी रकम जम्मा गरेका छन् । उक्त धरौटी रकमबाट ७ हजार बराबरको उपभोक्ताले २३ मिटर धारा जडानका लागि पाइपलाइन विस्तारदेखि जडान सामग्री आयोजना आफैले व्यवस्थापन गर्ने समितिले जनाएको छ । आयोजनाले समितिलाई नेतृत्व विकास तालिमदेखि अनुगमन भ्रमण समेत गराएको छ ।
स्थानीय हर्षित


घरदेखि आधा घण्टाको बाटो हिँडेर पानी ल्याउन जानुपर्ने बाध्यता अब नरहने भन्दै यहाँका नागरिक हर्षित भएका छन् । सार्वजनिक धारा पानीको उचित व्यवस्थापन नभएका कारण पहिले निर्माण गरिएका धाराहरूमा पनि नियमित पानी नआउने, बेला बेला पाइपमा पानी नआउने, चुन जम्ने, पानी भर्नको लागि घण्टौ समय लाग्ने जस्ता समस्या अब खेप्न नपर्ने भएको छ ।
आयोजना सञ्चालन भएका सेवा क्षेत्रलाई पूर्ण सरसफाइ बनाउनको लागि फोहर व्यवस्थापन गर्ने गाडी, ट्यांकर, चर्पीबाट निस्कने मलाई कृषि क्षेत्रमा प्रयोग गरी मल बनाउने प्रविधि समेत बनाएको समितिका सचिव यामलाल बास्तोलाले जानकारी दिए । देश भरकै १३ वटा आयोजना मध्येबाट नमुना बनाएर देखाउने योजना रहेको उनले बताए ।
मोबाइलबाट महसुल


उपभोक्ताहरूलाइ कार्यालसम्म महसुल बुझाउन समय खर्चनुपर्ने भएकोले आउने आर्थिक वर्षबाट मोवाइलबाट महसुल तिर्ने व्यवस्था मिलाइने भएको छ । निर्माण सुरु भएको आयोजनाले २५ वर्षसम्म नियमित तीन हजार धारा सञ्चालनमा ल्याउन सकिने जनाइएको छ ।
आयोजनालाई प्रभाकारी ढङ्गबाट सम्पन्न गर्नका लागि समितिले विभिन्न उपसमिति समेत गठन तथा परिचान गरेको छ । विवाद समाधान समिति, अनुगमन समिति, सुझाव संकलन समिति, समन्वय समितिले कामलाई प्रभावकारी रूपमा अगाडि बढाएका छन् । नौ सदस्यीय समावेशी रूपले गठन भएको समितिका सदस्यहरूले कार्य विभाजन गरी अनुगमन तथा सहयोग गरेका छन् ।
नगरपालिकाको मापदण्ड अनुसारको सडक क्षेत्र भन्दा २ मिटर बाहिर पाईप बिछ्याउन सुरु गरेपछि अस्थायी रूपमा निर्माण गरिएका भवनहरूलाई समेत असर परेको छ । ‘आँगनमै खानेपानीको लाईन बिस्तार भएको छ । यस्तो विकास हुन्छ भन्ने पहिले थाहा थिएन तर विकासका लागि घरहरू व्यवस्थापन गर्न हामी तयार छौं’ पञ्चपुरी नगरपालिका वडा नं. ५ का तप्त रिमालले भने । विकास गर्दा केही विनास भए पनि नियमित स्वच्छ पिउने पानी पाउँदा खुशी लागेको उनले बताए ।
आफ्नो नगर र वडाहरूलाई पूर्ण सरसफाइ उन्मूख र स्वच्छ पञ्चपुरी बनाउन नगरपालिका लागि पनि बजेट व्यवस्थापन गरिएको नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले जानकारी दिए । आगामी योजनाहरूमा पनि खानेपानीका लागि बजेट व्यवस्थापन गर्ने नगरले बताएको छ ।

प्रकाशित मितिः   २५ चैत्र २०७४, आईतवार १२:५०