प्रधानमन्त्रीलाई कर्णाली घुम्ने निम्तो

सुर्खेत, २३ चैत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली आउन निम्तो दिएका छन् । आगमी वैशाख १ गते रारा पर्यटन पर्यटन वर्ष २०७५ को उदघाटनका लागि मुख्यमन्त्री शाहीले औपचारिक निम्तो दिएका हुन् ।

निम्तो पत्र ग्रहणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटनका लागि रारामा आउने प्रतिबद्धता व्यक्त गरे । भेटघाटका क्रममा पर्यटन वर्षको उद्घाटनसँगै कर्णाली प्रदेशमा हुने प्रधानमन्त्रीका अन्य कार्यक्रमहरू पनि निश्चित गरिएको छ ।
प्रधानमन्त्री ओलीले वैशाख १ गते नै रारावाट राष्ट्रका नाममा सम्बोधन गर्ने, पर्यटन वर्षको उदघाटन गर्ने, कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरू शे–फोक्सुण्डो, छायानाथ, हिल्सा, पाताल छहराको अवलोकन गर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बैठकको अध्यक्षता गर्ने कार्यक्रम तय गरिएको छ ।
यसैगरी पर्यटन वर्ष उद्घाटन कार्यक्रममा सरिक हुनका लागि मुख्यमन्त्री शाहीले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई निम्तो दिएका छन् । प्रदेश सरकारले कर्णालीमा पर्यटन प्रबद्र्धनका लागि कर्णाली रारा पर्यटन वर्षको आयोजना गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मितिः   २४ चैत्र २०७४, शनिबार १६:३४