रनिङ्गशील्ड सञ्चालन गर्न रकम अभाव

सुर्खेत, २२ चैत ।
सुर्खेतमा जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशील्ड प्रतियोगिता सञ्चालन गर्न रकम अपुग भएको छ । पूर्वी सुर्खेतको रानीबासमा आगामी चैत २७ देखि सुरु हुने १० औं राष्ट्रपति रनिङ्गशील्डका लागि रकम अभाव भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
समितिले बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै रकम अभावबारे जानकारी दिएको हो । समितिका कोषाध्यक्ष वीरबहादुर रावतले प्रतियोगिता सम्पन्न गर्न एक लाख रूपैयाँ अझै अपुग भएको जानकारी दिए । उनले जिल्लाका सबै स्थानीय सरकारसँग सहयोग माग गरे पनि रकम अपुग बताएको बताए । प्रतियोगिताका लागि १२ लाख ५० हजार रकम आवश्यक रहेको समितिले जनाएको छ ।
प्रतियोगिताका लागि अन्य सवै तयारी पूरा भएको र केही प्राविधिक तयारी मात्र बाँकी रहेको समितिका अध्यक्ष चन्द्रकुमार गिरीले बताए । खेलकुदलाई प्राथमिकता नदिनुले पनि प्रतियोगिता सञ्चालमा रकम अभाव हुने गरेको अध्यक्ष गिरीको भनाइ छ । यद्यपि अपुग रकम जुटाएरै भए पनि प्रतियोगिता भने सञ्चालन गरिने उनले बताए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि चौकुने, बराहताल र सिम्ता गाउँपालिकाले ४०, लेकबेसी नगरपालिकाले ४० तथा गुर्भाकोट र भेरीगंगा नगरपालिकाले ६०/६० हजार रकम सहयोग गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले चार लाख ७७ हजार बजेट दिएको छ भने वीरेन्द्रनगर नगरपालिकाले एक लाख ५१ हजार सात सय २० रूपैयाँ उपलव्ध गराएको छ । आयोजक जनता माध्यामिक विद्यालय रानीवासले दुई लाख छुट्याएको छ ।
प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका एक हजार दुई सय खेलाडीले प्रतिस्प्रधा गर्नेछन् । समितिले दिएको जानकारी अनुसार उसु, कराँते, तेक्वान्दो, एथ्लेटिक्स, कबड्डी र भलिवल गरी ६ खेलमा प्रतिस्प्रधा हुनेछ । प्रतियोगिता सम्पन्न गर्नका लागि एक सय २० जना प्राविधिक टीम परिचालन गरिनेछ । प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले गर्ने बताइएको छ । त्यस्तै, भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री खड्ग खत्रीको समेत विशेष उपस्थिति रहने आयोजकले जनाएको छ ।
खेल अवधिभर सुरक्षा र मेडिकल एवम् प्राथमिक उपचारको व्यवस्था गरिनेछ । सो अवधिभर चौबीसै घण्टा एम्बुलेन्स सेवा पनि दिइने आयोजकले जनाएको छ । प्रत्येक विधाका खेलमा प्राप्त गर्ने स्वर्ण पदकका आधारमा फाइनल नतिजा सार्वजनिक गरी कप दिइने पत्रकार सम्मेलनममा जानकारी दिइएको छ । उसु र तेक्वान्दोमा ६ स्वर्ण, ६ रजत र १२ काँस्य, कराँतेमा ८ स्वर्ण, ८ रजत र १६ काँस्य, एथलेटिक्समा ३८ स्वर्ण, ३८ रजत र ३८ काँस्य पदक दिइनेछ ।
त्यस्तै, कबड्डी र भलिबलमा १८ स्वर्ण, १८ रजत र १८ वटा काँस्य पदक दिइने बताइएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र सवै खेलाडी एवम् खेलप्रेमीहरूलाई स्वागत गर्न आफूहरू आतुर रहेको आयोजक जनता मावि रानीवासका प्राधानाध्यापक विनोद यादवले बताए । रानीवास एक हजार आठ सय आठ फिटको उचाइमा अवस्थित छ ।

प्रकाशित मितिः   २३ चैत्र २०७४, शुक्रबार १५:१३