कर्णालीका महिला अगुवाहरू वीरेन्द्रनगरमा
सुर्खेत, २२ चैत ।
कर्णाली प्रदेशका महिला अगुवाहरू प्रदेश राजधानी वीरेन्द्रनगरमा भेला भएका छन् । कर्णालीका महिलाहरूको अवस्था र आगामी रणनीति बारे छलफल गर्न महिला मानवअधिकार रक्षकहरू राजधानीमा भेला भएका हुन् ।
भेलाबाट महिला अधिकारका सवालहरूमा छुट्टा–छुट्टै सवालमा नभइ विकास, मानव अधिकार र समाजका अन्तर्निहित सवालहरू हुन् भन्नेमा एकीकृत धारणाको विकास हुने अपेक्षा लिइएको छ ।
यस्तै, भेलाबाट प्रदेशमा महिलाहरूको शरीर, श्रम र पहिचानको लागि स्थानीय रूपमा रहेका बाधाहरूको पहिचान गर्दै न्यूनीकरणको लागि एकीकृत धारणा निर्माण गर्ने, जनप्रतिनिधि महिलाहरू, महिला मानवअधिकार रक्षकहरू, समानता र सामाजिक न्यायका क्षेत्रमा काम गरिरहेका संघ–संस्थाहबीच एक अर्काको सहकार्य, समन्वय गरी महिलामैत्री समाज निर्माणका लागि गर्नुपर्ने कार्यको पहिचान गरिने भएको छ ।
जनप्रतिनिधिहरू भित्र रहेका महिला अधिकार सम्बन्धी ज्ञान–धारणाप्रति निखार ल्याउँदै उनीहरूको निर्वाह गरिरहेका स्थानीय न्यायिक समितिको भूमिका प्रभावकारी बनाउने वातावरण भेलाबाट सिर्जना हुने अपेक्षा राखिएको महिला मानवअधिकार रक्षक सञ्जाल सुर्खेतका जिल्ला अध्यक्ष पवित्रा शाहीले बताइन् ।
भेलाको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री दल रावलले संविधानबाट महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको बताए । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले आगामी पाँच वर्षपछि स्थानीय सरकारको मात्रै नभइ राजनीतिक तहमा पनि प्रमुख पदमा महिलाहरूले अवसर पाउने कानुन प्रदेश सरकारले बनाउने बताइन् ।
बिहीवारदेखि सुरु भएको भेलाले सामाजिक न्यायमा आधारित भएर अवको पाँच वर्षमा स्थानीय तहमा गर्न स्व–मूल्यांकन र सहजीकरणका लागि आचारसंहिता निर्माण गर्ने, महिला मावनअधिकार रक्षक घोषणा पत्र जारी गर्नेछन् ।
साझा बिसौनी ।